कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘नाभाल्नीको अवस्था चिन्ताजनक’

एजेन्सी

मस्को — रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । नाभाल्नी हाल रुसी राजधानी मस्कोबाट ९० किलोमिटर टाढाको कारागारमा छन् ।

‘नाभाल्नीको अवस्था चिन्ताजनक’

बेलैमा उनको उपचारमा ध्यान नदिए नाभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ ती चिकित्सकहरूले चेतावनी दिएका छन् । चिकित्सकहरू अनुसार नाभाल्नीको रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको सिकार हुन सक्ने देखाएको हो ।

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत छन् । बेलायतका लागि रुसी राजदूतले नाभाल्नीलाई कारागारमा ज्यान गुमाउन नदिने बताएका बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कारागारमा रहेका नाभाल्नीमाथि ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ कार्य गरिएको जनाएका छन् । तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा. अनास्तासिआ भसिल्एभासहित चार जना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेखेका बीबीसीले जनाएको छ । डा. भसिल्एभाले ट्वीटरमार्फत सार्वजनिक गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा ‘गम्भीर अवस्थामा रहेको’ उल्लेख छ ।

शरीरमा पोटासियमको मात्रा बढी हुँदा मिर्गौलाले काम नगर्ने र मृटुको धड्कनमा गम्भीर समस्या उत्पन्न हुन सक्छ । सामन्यतया स्वस्थ मानिसको रगतमा पोटासियमको तह प्रतिलिटर ३.५ देखि ५.१ एमएमओएल (मिलिमोल्स) हुने गर्छ । प्रतिलिटर २.५ भन्दा कम वा ६.० एमएमओएल (मिलिमोल्स) भन्दा बढी पोटासियम देखिएको खण्डमा सम्बन्धित बिरामीलाई तत्काल उपचार गराउनुपर्छ ।

नाभाल्नीका वकिलहरूमार्फत उपलब्ध गराइएको रगत परीक्षणको नतिजा अनुसार उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ एमएमओएल रहेको पत्रमा उल्लेख छ । रगत परीक्षणका पछिल्ला नतिजा र उनीमाथि हालै भएको विष आक्रमणलाई विचार गर्दै नाभाल्नीको तत्काल उपचार गरिनुपर्ने चिकित्सकहरूले मागसमेत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी मुद्दामा गत फेब्रुअरीमा कारागार चलान गरिएको हो ।

प्रकाशित : वैशाख ६, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?