एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन- विश्व - कान्तिपुर समाचार

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

रासस/एपी

लस एन्जलस — पोर्टेबल डकुमेन्ट फर्म्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।

सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ ।

एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।

गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरु पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् ।

सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोनाको नयाँ रेकर्ड, २ लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

रासस, एएनआई 

नयाँ दिल्ली — भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

नयाँ दिल्लीमा उपचाररत कोरोनाका बिरामी । फाइल तस्बिर : रोयटर्स

'एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,' एक सरकारी उच्च अधिकारीले आइतबार भने । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७७ हजार १५० पुगेको देखिएको छ । त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १८ लाख एक हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २८ लाख नौ हजार ६४३ पुगेको छ ।

भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुतनिक–५ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×