१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पश्चिम बंगालका नेपालीभाषी क्षेत्रमा चुनाव: भाजपा र टीएमसीबीच प्रतिस्पर्धा

काँकडभिट्टा — भारतको पश्चिम बंगाल विधानसभाअन्तर्गत शनिबार पाँचौं चरणको चुनाव सकिएको छ । चुनावमा करिब ७९ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जिल्लाका ४५ सिटका लागि शनिबार भएको चुनावमा ३ सय १९ जना प्रतिस्पर्धी छन् । 

नेपालीभाषीको बाहुल्य रहेको जल्पाइगुढी जिल्लाका ७, दार्जिलिङका ५ र कालिम्पोङको १ निर्वाचन क्षेत्रका लागि शनिबार चुनाव सकिएको हो । पश्चिम बंगाल राज्यका २५ जिल्लाका र २ सय ९४ निर्वाचन क्षेत्रका लागि मार्च २७ देखि चुनाव सुरु भएको हो । अन्तिम अर्थात् आठौं चरणको चुनाव मे ३० मा हुँदै छ ।

विधानसभा चुनावमा खासगरी सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) र पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेस (टीएमसी) बीच दुईपक्षीय भिडन्त देखिएको छ । भाजपाले नेपालीभाषी बाहुल्य क्षेत्र दार्जिलिङ, कालेबुङ र खरसाङ निर्वाचन क्षेत्रबाट तीन जना नेपालीभाषीलाई नै उम्मेदवार बनाएको छ । कालेबुङ जिल्ला विधानसभा निर्वाचन क्षेत्रमा भाजपाबाट पुराना राजनीतिकर्मी शुभ प्रधान उम्मेदवार बनेका हुन् । दार्जिलिङ जिल्ला निर्वाचन क्षेत्रबाट निरज जिम्बा तथा खरसाङ क्षेत्रबाट विष्णुप्रसाद शर्मा (बीपी बजगाईं) मैदानमा उत्रेका हुन् ।

कालेबुङ विधानसभा उम्मेदवार प्रधान गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) का प्रभावशाली नेता मानिन्थे । तर, उनी हालै मोर्चा क्याम्प परिवर्तन परेर भाजपा प्रवेश गरेका हुन् । दार्जिलिङका उम्मेदवार जिम्बा सुवास घिसिङको लिगेसी रहेको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता हुन् । केही समयअघिदेखि उनी भाजपा निकट थिए । जिम्बा यसअघि भाजपाको सदस्यता लिएर उपनिर्वाचनबाट विधायक बनेका थिए । गोजमुमो विमल गुटबाटै राजीनामा दिएर भाजपा प्रवेश गरेका हुन् बीपी बजगाईं पहिलो पटक चुनावी मैदान ओर्लेका हुन् ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?