क्यास्ट्रोद्वारा पद त्यागको घोषणा

एजेन्सी

हाभाना — क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । ८९ वर्षीय क्यास्ट्रोले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय लिएको बताएका छन् ।

‘मैले मेरो जिम्मेबारी र योजनाहरू पूरा गरेको छु । त्यसैले मैले पार्टीको केन्द्रीय कमिटीको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु,’ उनले भने । क्यास्ट्रोले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको आठौं सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा गरेका छन् । पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताका रूपमा सधै क्रियाशील रहने उनको भनाइ छ ।

‘म जीवित रहँदासम्म र मैले सक्दासम्म पार्टीको काममा म सधैं लागिरहनेछु, मातृभूमिका लागि खटिनेछु,’ उनले भने । आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सबै नेताहरूलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्त्व नभुल्नसमेत सचेत गराएका छन् ।

हाल जारी पार्टीको सम्मेलनले क्युवाली राष्ट्रपति मिगेल दियाज कनेल पार्टीको नयाँ प्रथम सचिव चयन गर्ने जनाइएको छ । उनी सन् २०१८ देखी क्युवाका राष्ट्रपति छन् । सम्मेलन सोमबार सकिँदै छ । उनले सन् २०११ को अप्रिलमा पार्टीको शीर्ष नेताका रूपमा निर्वाचित भएका थिए । आफ्ना दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रूपमा उनले पार्टीको नेतृत्व सम्हालेका हुन् ।

सन् १९६५ देखि पार्टीको नेतृत्व गरेका फिडेलको सन् २०१६ मा निधन भएको थियो । सन् १९५९ को क्रान्तिको सफलतासँगै क्युबामा क्यास्ट्रो परिवारले राजनीतिक नेतृत्व लिँदै आएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?