पश्चिम बंगाल विधानसभा निर्वाचन : दार्जीलिङसहित ४५ सिटमा शनिबार मतदान जारी

दार्जीलिङमा यस पटक कस्तो छ चुनावी प्रतिस्पर्धा ?
पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनअन्तर्गत शनिबार नेपालीभाषी बाहुल्य दार्जीलिङ र कालिम्पोङसहित उत्तर बंगालका तीन जिल्लाहरुमा एक साथ मतदान सुरु भएको छ ।  

पश्चिम बंगाल विधानसभा निर्वाचन : दार्जीलिङसहित ४५ सिटमा शनिबार मतदान जारी

जल्पाइगुडीका ७, दार्जीलिङका ५ र कालिम्पोङको १ गरी १३ निर्वाचन क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको हो । पाँचौँ चरणअन्तर्गत शनिबार पश्चिम बंगालका ४५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । जसका लागि ३१९ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् ।

२५ जिल्ला र २९४ निर्वाचन क्षेत्र रहेको पश्चिम बंगालमा मार्च २७ देखि चुनाव सुरु भएको हो । अन्तिम अर्थात आठौं चरणको चुनाव मे ३० मा हुनेछ । दार्जीलिङ जिल्लाअन्तर्गत दार्जीलिङसहित खरसाङ, सिलिगुडी, नक्सलबारी–मतिगढा, फासीदेवा, डावग्राम–फूलवारी निर्वाचन क्षेत्रमा कुल १५ लाख २४ हजार ५ सय २१ जना मतदाता रहेको निर्वाचन कार्यालय दार्जीलिङले जनाएको छ ।

अघिल्लो शनिबार चौथो चरणको निर्वाचनका क्रममा कोचविहारमा भएको हिंसामा ५ जना मतदाता मारिएका थिए । कुचबिहार घटनापछि सुरक्षा संयन्त्रले थप सजगता अपनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यद्यपि मुख्यमन्त्री ममता बनर्जीले निर्वाचनमा केन्द्रीय सुरक्षा वलको भूमिका शंकास्पद रहेको आरोप लगाएकी छन् । सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘केन्द्र सरकारको आदेशमा केन्द्रीय वल चलेको छ, यसले निर्वाचनको सुरक्षामा शंका पैदा भएको छ ।’

निर्वाचनका कारण झापाका सीमावर्ती नाका काँकडभिट्टा र भद्रपुर बुधबार मध्यरातिदेखि सिल गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले दार्जीलिङ जिल्लासँग सीमा जोडिने नेपाली सीमावर्ती नाकाहरु ७२ घण्टा सिल गरिएको जनाए ।

निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले अनुरोध गरेपछि सिल गरिएको हो । निर्वाचन सम्पन्न भएपछि शनिवार रातिबाट नाका सहज हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी तिम्सिनाले मतदाता परिचय पत्र वोकेका भारतीय नागरिक, भारतीय सेनामा कार्यरत जवानलगायतलाई भने भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा भारत प्रवेश गर्न दिइने छ । अन्यलाई भने भारत प्रवेशमा कडाइ गरिएको छ ।

विधानसभा निर्वाचनमा मूलत: सत्तारुढ दल भारतीय जनता पार्टी र बंगालको सत्तारुढ पार्टी तृणमूल कंग्रेसबीच दुईपक्षीय भीडन्त हुने देखिएको छ । भाजपाले नेपालीभाषी बाहुल्य क्षेत्र दार्जीलिङ, कालेबुङ र खरसाङ निर्वाचन क्षेत्रबाट तीन जना नेपालीभाषीलाई नै उम्मेदवार बनाएको छ । कालेबुङ जिल्ला विधानसभा निर्वाचन क्षेत्रमा भाजपाले पुराना राजनीतिकर्मी शुभ प्रधानलाई उम्मेदवार बनाएको छ । दार्जीलिङ जिल्ला निर्वाचन क्षेत्रबाट निरज जिम्बालाई तथा खरसाङ क्षेत्रवाट विष्णुप्रसाद शर्मा (बीपी बजगाई) लाई भाजपाले चुनावी मैदानमा उतारेको छ ।

कालेबुङ विधानसभाका उम्मेदवार प्रधान गोर्खा जनमुक्ति मोर्चा ( विमल गुरुङ गुट) का प्रभावशाली नेता मानिन्थे । तर, उनी हालै गोजमुमो क्याम्प परिवर्तन परेर भाजपामा प्रवेश गरेका थिए । दार्जीलिङका उम्मेदवार जिम्बा सुवास घिसिङको लिगेसी रहेको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता हुन् । केही समय अघिदेखि उनी भाजपा निकट थिए । जिम्मा यसअघि भाजपाको सदस्यता लिएर उपनिर्वाचनबाट विधायक बनेका थिए । गोजमुमो विमल गुटबाटै राजीनामा दिएर भाजपा प्रवेश गरेका हुन् बीपी बजगाई पहिलो पटक चुनावी मैदानमा लड्न लागेका हुन् ।

गोजमुमोका नेता विमल गुरुङले यसपटकको निर्वाचनमा ममता बनर्जीको दल त्रिणमूल कंग्रेसलाई सघाउने भएका छन् । विगत लामो समयदेखिको भाजपासँगको सहकार्यलाई तोड्दै उनले ममतालाई सघाउने घोषणा गरेका हुन् । बंगालको सत्तारुढ दल तृणमूल कंग्रेसले भने दार्जिलिङ, कालेबुङ र खरसाङ क्षेत्रमा उम्मेदवारी दिएको छैन । तृणमूलले दार्जीलिङ जिल्लाअन्तर्गतकै तराईका सिलिगुडी निर्वाचन क्षेत्रमा प्रोफेसर ओम प्रकाश, नक्सलबारी–मतिगढामा क्याप्टेन नलिना रंजन र फाँसीदेवा निर्वाचन क्षेत्रमा आदिवासी समुदायबाट छोटन किस्कुलाई उम्मेदबार बनाएको छ ।

भाजपाले सिलिगुडीमा शंकर घोष, नक्सलबारी–मतिगढामा आनन्दमोय वर्मन र फाँसीदेवा निर्वाचन क्षेत्रमा आदिवासी नेता दुर्गा मुर्मुलाई टिकट दिएको छ । दार्जीलिङ, खरसाङ र कालिम्पोङमा तृणमूलले आफ्ना उम्मेद्वार नउठाउँदा भाजपाको जित सहज देखिएको छ । तराई क्षेत्रमा भने भाजपालाई जित हासिल गर्न गाह्रो हुने अनुमान गरिएको छ । भाजपाले यो वर्ष बंगाल विधानसभामा बहुमत सिट जित्ने दाबी गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित साह हालै दार्जीलिङ र सिलिगुडीमा चुनावी सभामा सहभागी वनेका छन् । मोदीले चौथो चरणको मतदानलाई हेर्दा तृणमूल कंग्रेसको हार निश्चित भएको दाबी गरेका थिए । भाजपा अध्यक्ष साहले भारतीय गोर्खाहरुको भारतमा ठूलो योगदान रहेको उल्लेख्य गर्दै गोर्खाहरुको हक अधिकार र पहिचानका लागि भाजपाले भूमिका खेल्ने दाबी गरेका थिए ।

प्रकाशित : वैशाख ४, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?