फ्रान्सद्वारा आफ्ना नागरिकलाई पाकिस्तान छाड्न आदेश

फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन पुन: प्रकाशन गरिएपछि पछिल्लो समय पाकिस्तानमा प्रदर्शन चर्केको छ ।
एजेन्सी

पेरिस, इस्लामाबाद — फ्रान्सले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्कालका लागि देश छाड्न आग्रह गरेको छ । पछिल्लो समय पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्केपछि फ्रान्सले यस्तो आदेश जारी गरेको हो ।

फ्रान्सद्वारा आफ्ना नागरिकलाई पाकिस्तान छाड्न आदेश

समाचार संस्था एपएफपीलाई पाकिस्तानस्थित फ्रान्सेली दूतावासबाट प्राप्त इमेलमा ‘पाकिस्तानमा फ्रान्सेली स्वार्थमाथि गम्भीर खतरा’ रहेको उल्लेख गरिएको छ । फ्रान्सको एक म्यागजिनले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुनलाई पुन: प्रकाशित गरेपछि पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्केको हो ।

पछिल्ला प्रदर्शनहरूका क्रममा भएका झडपमा कम्तीमा २ जना प्रहरी अधिकारीको ज्यान गएको पाकिस्तानी सञ्‍चार माध्यमले जनाएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले ‘कार्टुन प्रकाशन गर्नु म्यागजिनको अधिकार’ भएको बताएपछि पाकिस्तानस्थित इस्लामिक कट्टरपन्थी समूहले प्रदर्शन चर्काएका हुन् ।

इस्लाममा पैगम्बर मोहम्मदको कुनै प्रकारको मूर्ति वा चित्र बनाउनुलाई सबैभन्दा गम्भीर अपराधका रूपमा लिइन्छ । यसलाई पैगम्बरको अपमान र इस्लामविरोधी कृत्यका रूपमा लिइएको छ । मुस्लिम कट्टरपन्थी दल तेहरिक–ए–लबैक (टीएलपी) का नेता खादिम हुसेन रिज्भीलाई गत साता पक्राउ गरिएपछि प्रदर्शन झन् चर्केको हो । फ्रान्सका राजदूतलाई निष्कासन गनुपर्ने माग गरेपछि उनी पक्राउ परेका हुन् । रिज्भीको पक्राउसँगै टीएलपीलाई प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयपछि सडकमा उत्रेका उनका सयौं समर्थकले हिंसा मच्चाएका छन् । प्रदर्शनकारीलाई भगाउन प्रहरीले रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा प्रयोग गरेका छन् ।

पाकिस्तानको संघीय सरकारका गृहमन्त्री शेख रसिदले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पन्जाब सरकारले प्रतिआतंकवाद कानुनअनुसार टीएलपीमाथि प्रतिबन्ध लगाउन गरेको सुझाव सदर गरेको जनाएका छन् । उनले टीएलपी भंग गर्ने विषयमा शुक्रबार विस्तृत जानकारी सार्वजनिक गरिने पनि बताए । पछिल्ला प्रदर्शनहरूमा ५ सय ८० जना प्रहरी घाइते भएका र ३० वटा कारहरू ध्वस्त गरिएको रसिदले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै धार्मिक मामिलामन्त्री नुरुल हक क्वाद्रीले ‘टीएलपीलाई मूलधारको राजनीतिमा ल्याउने आफूले दुई वर्षसम्म प्रयास गरेको’ बताए । माग सम्बोधन गर्ने विषयमा सरकारले इमानदारी देखाएपछि टीएलपी गम्भीर नभएको उनको आरोप छ ।

यसअघि पाकिस्तान सरकारले फ्रान्समा उत्पादित वस्तुहरू आयात नगर्ने सहमति जनाएपछि टीएलपीले अस्थायी रूपमा प्रदर्शन रोकेको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपति म्याक्रोंको आलोचना गरे पनि फ्रान्सका सामान आयात रोक्न विषयमा कुनै सहमति नभएको बताएका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?