कोरोनाविरुद्ध फ्रान्समा ‘भ्याक्सी ड्राइभ’

ददि सापकोटा

पेरिस — फ्रान्समा विभिन्न समस्याका कारण कोरोना भाइरसविरुद्धको खोप लगाउने स्थानमै पुग्न असमर्थ व्यक्तिहरूका लागि ‘भ्याक्सी ड्राइभ’ कार्यक्रम सुरु गरिएको छ ।

कोरोनाविरुद्ध फ्रान्समा ‘भ्याक्सी ड्राइभ’

राजधानी पेरिसबाट करिब ७ सय ५० किमिको दूरीमा रहेको मोंपलिए क्षेत्रको सेन्ट जेन द भेदामा मंगलबारदेखि ‘भ्याक्सी ड्राइभ’ सुरु गरिएको हो । भीडमा बस्न नसक्ने वा नरुचाउने, विशेष खाले शारीरिक कठिनाइ भएका र खोप केन्द्रको भीडमा जान नरुचाउने व्यक्तिहरूका लागि गाडीभित्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको मोंपलिए क्षेत्रको स्थानीय स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यो क्षेत्रले चार ठाउँबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन सुरु गरेको हो । अधिकारीहरूका अनुसार ती स्थानमा प्रत्येक दिन एक सय जनालाई खोप दिन थालिएको छ । यस्तो कार्यक्रम यसअघि अमेरिका र इटालीमा समेत सुरु गरिएको थियो । ती देशहरूमा उक्त कार्यक्रम सफल देखिएकाले आफूहरूले पनि सुरु गरेको फ्रान्सेली अधिकारीहरूले जनाएका छन् ।

‘भ्याक्सी ड्राइभ’ मार्फत खोप लिन चाहने व्यक्तिले अग्रिम रूपमा समय लिनुपर्ने जनाइएको छ । खोप लगाउनेहरूले अन्य केन्द्रमा जस्तै दर्ता प्रमाणीकरण, चिकित्सा प्रश्नावली, परामर्श, अनुगमनलगायत प्रक्रिया भने पूरा गर्नुपर्ने जनाइएको छ । यस्तो सुविधा सार्वजनिक सवारी चालकका लागि आरक्षित गरिएको छ ।

क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस) ओक्सिटानीका विभागीय प्रतिनिधि एलेक्सान्द्र पास्कल भन्छन्, ‘यथार्थमा यो अभियानको ठूलो भिन्नता के हो भने मानिसहरूले आफ्नै सवारी साधनमै बसेर यो सबै प्रक्रिया पूरा गर्छन् र कतै लाइन लाग्न वा मानिसको भीडमा मिसिनुपर्दैन ।’

प्रकाशित : वैशाख २, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?