कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सेनाले ५ महिनाभित्र अफगानिस्तान छाड्ने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र तालिवानबीच गत वर्ष भएको सम्झौतामा अमेरिकाले मे १ भित्र अफगानिस्तानमा तैनाथ आफ्ना सबै सैनिक फिर्ता लैजाने उल्लेख छ ।
एजेन्सी

वासिङ्टन/काबुल — अमेरिकी सेनाले ५ महिनाभित्र अफगानिस्तान छाड्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न लागेका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी सेनाले ५ महिनाभित्र अफगानिस्तान छाड्ने

तालिबान र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबीच गत वर्ष भएको सम्झौतामा अफगानिस्तानस्थित अमेरिकी सैनिकहरू मे १ सम्ममा अफगानिस्तान छाड्ने उल्लेख थियो । तर राष्ट्रपति बाइडनले मे १ सम्मको समयसीमामा सैनिकहरू फिर्ता गर्ने कार्य सक्न कठिन हुने बताएका थिए । त्यसको केही समयमा अधिकारीहरूले नयाँ समयसीमाबारे खुलासा गरेका हुन् । ‘हामीले २० वर्षे युद्धको पुस्तक बन्द गर्नुपर्ने भएको छ,’ एक अमेरिकी उच्च अधिकारीले भने । सेप्टेम्बर ११ मा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको दुई दशक पुग्दै छ ।

अमेरिकी र नेटो अधिकारीहरूले गत वर्षको सम्झौतामा उल्लेख गरेअनुसार तालिबानले हिंसा कम नगरेको गर्न गरेको बाचा पूरा नगरेको बताउँदै आएका छन् । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले ‘यदि सैन्य फिर्तीका क्रममा तालिबानले अमेरिकी सैनिकमाथि हमला गरेमा त्यसको कडा प्रतिउत्तर दिने’ चेतावनीसमेत दिएका बीबीसीले उल्लेख गरेको छ ।

‘हतारमा अफगानिस्तानबाट सेना फिर्ता गर्नु अमेरिकाका लागि खतरनाक पनि हुन सक्ने राष्ट्रपति बाइडनले ठानेका’ ती अधिकारीको दाबी छ । तर पनि राष्ट्रपति बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा गर्ने भने तय भइसकेको उनले बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोयड अस्टिनले सेना फिर्तीको निर्णयबारे नेटो सदस्य राष्ट्रहरूलाई बेल्जियमको राजधानी ब्रसेल्समा जानकारी दिनेसमेत जनाइएको छ ।

यसअघि अप्रिल अन्त्यमा अमेरिकी नेतृत्वमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने समाचार सार्वजनिक भएको थियो । त्यसको केही घण्टामा नै अमेरिकी अधिकारीले सैन्य फिर्तीबारे घोषणा गरिन लागेको खुलासा गरेका हुन् । यसको अर्थ अमेरिका र तालीवानबीच अन्य समझदारी बनेको हुन सक्ने कतिपयको विश्लेषण छ । दीर्घकालीन सम्झौताबिना नै विदेशी सेनाहरू फिर्ता भएको खण्डमा अफगानिस्तानमा तालिबानले फेरि सत्ताकब्जा गर्न सक्ने कतिपयको आशंका छ ।

अफगानिस्तानमा सन् २००१ देखि जारी युद्धमा हालसम्म कम्तीमा २ हजार अमेरिकी सेनाले ज्यान गुमाइसकेका छन् । अमेरिकाले लडेको सबैभन्दा लामो यो युद्धमा खर्बौं अमेरिकी डलर खर्च भइसकेको छ ।

अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाबीच गत वर्ष एउटा सम्झौता भएको थियो । उक्त सम्झौतामा तालिबानले हिंसात्मक गतिविधि रोकेको १४ महिनाभित्र अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सबै सैनिक फिर्ता गर्ने उल्लेख छ ।

उक्त सम्झौतापछि देशमा शान्ति स्थापनका लागि तातेको अफगानिस्तान सरकार र तालिबानबीच पनि वार्ता चलिहरेको छ । तर दुवै पक्षबीच हालसम्म कुनै सहमति भने जुटिसकेको छैन् । तालिवानले आफ्ना हजारौं लडाकु रिहाइ गरिनुपर्ने तालिबानको मागपछि वार्तामा सुस्तता छाएको हो ।

त्यसका साथै तालिबानले विदेशी सुरक्षा फौजमाथिको हमला रोकेको भए पनि अफगान सुरक्षाकर्मीमाथिका आक्रमण जारी राखेको छ । आक्रमणका केही घटनालाई उल्लेख गर्दै अफगान सरकारले तालिवान शान्ति स्थापनाका लागि इमानदार नभएको आरोपसमेत लगाउँदै आएको छ ।

यसअघि अमेरिकासँगको सम्झौताको समयसीमा सकिएसँगै आफूहरूले विदेशी सेनामाथि पनि आक्रमण सुरु गर्ने तालिबान चेतावनी दिइसकेको छ । उसका अनुसार मे १ पछि आफूहरूले अमेरिकी तथा नेटो सेनामाथि पनि आक्रमण थाल्ने तालिवानको भनाइ छ । अफगानिस्तानमा हाल नेटोअन्तर्गत करिब ९ हजार ६ सय सेना तैनाथ छन् । तीमध्ये करिब २ हजार ५ सय अमेरिकी हुन् ।

प्रकाशित : वैशाख १, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?