२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फर्केर हेर्दा २०७७ : त्रास, विपद् र अनिश्‍चयको वर्ष

 भारत र चीनबीच सैनिक झडप, स्विट्जरल्यान्डमा बुर्का प्रतिबन्ध, म्यान्मारमा सैनिक ‘कु’, अमेरिकामा नयाँ नेतृत्व
बुद्धिसागर मरासिनी

काठमाडौँ — करिब डेढ वर्षअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यो सालमा अन्त्य हुने आशा गरिएको थियो । तर पछिल्लो समय भाइरसका नयाँ स्वरूपहरू फैलने क्रम बढेपछि विश्व समुदायमा त्रास थपिएको छ ।

फर्केर हेर्दा २०७७ : त्रास, विपद् र अनिश्‍चयको वर्ष

त्यस्तै, पछिल्ला दिनहरूमा म्यान्मारमा फैलिएको हिंसा, अमेरिकाको सत्ता लगायत राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोप, हत्याहिंसा, बाढीपहिरो र आक्रमणका घटनाले पनि विश्व समुदायको ध्यान खिच्न सफल भए ।

म्यान्मारमा ७०० प्रदर्शनकारी मारिए

म्यान्मारको सेनाले सैनिक ‘कु’ मार्फत सत्ता हातमा लिएपछि लोकतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन चर्काएका छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका कारण कम्तीमा ७ सय प्रदर्शनकारीको ज्यान गइसकेको छ । अनुगमन समूह ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार सुरक्षाकर्मीको गोलीले सोमबार साँझसम्म ७ सय १ जनाको ज्यान गइसकेको र तीमध्ये करिब ५० जना बालबालिका रहेका जनाएको छ । एपीपीका अनुसार २ हजार ८ सयभन्दा बढी सैनिक हिरासतमा छन् ।

पछिल्ला दिनहरूमा प्रदर्शन चर्केपछि आत्तिएको सेनाले अन्धाधुन्ध गोली चलाउने गरेको म्यान्मार नाउ अनलाइनले जनाएको छ । अनुगमनकर्ताहरूका अनुसार सेनाले प्रदर्शनकारीमाथि राइफल तथा ग्रिनेडको प्रयोग गर्न थालेको छ । म्यान्मारमा २०७७ कात्तिक २३ मा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले गत माघ १ गतेको सैनिक ‘कु’ मार्फत सत्ताकब्जा गरेको हो । प्रदर्शनकारीले सैनिक नियन्त्रणमा रहेकी नेतृ सुचीलगायत नेताहरूको रिहाइ तथा जननिर्वाचित सरकार पुनःस्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, जापानलगायत देशले सैनिक ‘कु’ तथा दमनको निन्दा गर्दै आएका छन् ।

अन्त्य भएन कोरोना कहर

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भाइरसका कारण सोमबार साँझसम्म विश्वभर १३ करोड ६१ लाख ८७ हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये २९ लाख ३९ हजार जनाको मृत्यु भइसकेको छ ।

भाइरसविरुद्धको खोपको विकाससँगै भाइरस पराजित हुने आशाका किरणहरू देखिएका थिए । करिब २ सय देशमा फैलिएको भाइरसको असर वर्षको अन्त्यमा कम हुन पनि थालिसकेको थियो । तर नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा छिमेकी देश भारतमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट (स्वरूप) ले थप त्रास छाएको छ । जसका कारण नयाँ वर्षको सुरुका केही महिनाहरूमा पनि यसको भयबाट मानिसले मुक्ति पाउने सम्भावना देखिएको छैन ।

अमेरिकामा जो बाइडेन

महाशक्ति राष्ट्र अमेरिकाको शासनसत्ता २०७७ माघ ७ गतेदेखि नयाँ नेतृत्वले सम्हालेको छ । कात्तिकमा भएको चुनावमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडेन नयाँ राष्ट्रपति बनेका हुन् । त्यसका साथै उनको जितसँगै अमेरिकी इतिहासमा एसियाली मूलकी तथा पहिलो महिला कमला ह्यारिस उपराष्ट्रपति बनिन् ।

फाइल तस्बिर : रोयटर्स

तर राष्ट्रपति चुनावमा धाँधली भएको दाबी गर्दै ट्रम्प समर्थकहरूले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए । ट्रम्पको उक्साहटका कारण भएको दाबी गरिएको घटनामा कम्तीमा ५ जनाको ज्यान जानुका साथै १ सय ४० जनाभन्दा बढी घाइते भएका थिए ।

बाइडेनको जितसँगै अमेरिकाले पुनः विश्वको नेतृत्व गर्ने अनुमान गरिएको छ । त्यसमाथि चीनसँग बिग्रँदो सम्बन्ध तथा कोरोना भाइरसका कारण शिथिल बनेको अमेरिकी अर्थतन्त्र सुधार्ने चुनौती पनि बाइडेनका अघि तेर्सिएको छ । तर बाइडेनको नयाँ विदेश नीतिका कारण पछिल्लो समय उत्तर कोरियासँगको सम्बन्धमा भने केही दरार पैदा भएको जनाइएको छ । जसका कारण उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ ।

भारत–चीन तनाव

भारत र चीनका सैनिकबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा गत असारमा हिंसात्मक झडप भयो । भिडन्तका क्रममा एक अधिकृतसहित २० जना भारतीय सैनिकको ज्यान गएको थियो । भारतले चीनतर्फ पनि ठूलो संख्यामा हताहती भएको दाबी गरे पनि घटनामा आफ्ना चार जना सैनिकले ज्यान गुमाएका चीनले जनाएको छ ।

गलवान उपत्यका फाइल तस्बिर : रोयटर्स

घटनापछि एसियाका दुई आवणिक छिमेकी मुलुकबीचको अविश्वास गहिरिएको छ । दुवैले घटनाका लागि एकअर्को पक्षलाई आरोप लगाएका छन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप ४५ वर्षयताकै पहिलो मानिएको छ । भारतले जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीच तनाव बढेको हो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्र आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले विरोध जनाउँदै आएको छ । भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको चीनले आरोप छ ।

बेलायती राजकुमार फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको छ । राजकुमार फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रिसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रिसका राजकुमार एर्न्ड्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए ।

तस्बिर : रोयटर्स

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवन बिताएका फिलिपको विन्डसोरस्थित सेन्ट जर्ज गिर्जाघरमा शनिबार अन्त्येष्टि गरिँदै छ । कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा राजपरिवार सदस्यहरू र निकटका ३० जनालाई मात्रै सहभागी गराइने बीबीसीले जनाएको छ ।

मंगलग्रहमा यान पठाउने होड

यस वर्ष संयुक्त अरब इमिरेट्स (यूएई), चीन र अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा यान प्रक्षेपण गरेका छन् । यूएईले जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू–ए रकेटमार्फत ‘होप’ प्रक्षेपण गरेको हो । उक्त मिसनले मंगलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने जनाइएको छ । त्यसैगरी, चीनले सुरक्षात्मक आवरणयुक्त ६ चक्के रोबोट बोकेको ‘लङ मार्च–५’ रकेट चीनको हैनान द्वीपस्थित वेनचाङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको हो । अभियानलाई ‘तियावेन–१ (स्वर्गलाई प्रश्न)’ नाम दिइएको छ । तियावेन–१ ले भूगर्भको अध्ययन गर्ने जनाइएको छ ।

त्यस्तै, मंगलग्रहको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि यसै बर्ष एक यान प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण ‘रोभर पर्सिभरेन्स’ ले मंगलग्रहको ‘गेल क्रेटर’ नामक खाल्डोको ताल तथा पानीको अस्तित्वबारे अधययन गर्नेछ ।

प्रहरीद्वारा अश्वेत मारिएपछि अमेरिकाभर प्रदर्शन

प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि सुरु भएको प्रदर्शन अमेरिकाभर चर्कियो । कम्तीमा प्रदर्शन अनियन्त्रित भएपछि अमेरिकाका ४० सहरमा कर्फ्युसमेत जारी गरियो । कतिपय राज्यमा प्रहरी र प्रदर्शनकारीबीच गोली हानाहानसमेत भएको थियो । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।

भारतमा किसान आन्दोलन

सरकारले ल्याएका कानुनले आफ्नो पेसा संकटमा परेको भन्दै भारतीय किसानहरूले सुरु गरेको आन्दोलन अझै जारी छ । सरकारले ल्याएका नयाँ कानुनहरूले उद्योगी व्यवसायीलाई खुसी पारिएको किसानको आरोप छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भने ती कानुनहरू किसानको हितमा भएको दाबी गर्दै आएका छन् । नयाँ कानुनले दर्ता भएका मन्डीबाहिर पनि कृषकहरूले सामग्री आफूखुसी बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ । त्यसले राज्यभित्र र राज्यबाहिर पनि किसानको उत्पादन बिक्रीको बाटो खुला गर्नेछ । तर उक्त कानुनका कारण मन्डीमार्फत राज्यले गर्ने आम्दानी गुम्ने र अन्ततः किसानहरूले न्यूनतम मूल्य नपाउने विरोधीहरूले दाबी गरेका छन् ।

पानीजहाज अड्केपछि सुइज नहरको जलमार्ग अवरुद्ध

इजिप्टको सुइज नहरमा मालवाहक पानीजहाज अड्किएपछि विश्वकै व्यस्त व्यापारिक जलमार्ग ६ दिन अवरुद्ध भयो । ‘एभर गिभन’ पानीजहाजलाई १४ वटा ठूला डुंगाको सहयोगले ६ दिन लगाएर सुरक्षित रूपमा निकालिएको हो ।

तस्बिर : रोयटर्स

करिब ४ सय मिटर लामो तथा ५९ मिटर चौडाइ भएको मालवाहक पानीजहाज अचानक आएको हवाहुरीका कारण तेर्सिएको हो । मार्ग अवरुद्ध भएपछि ३६९ भन्दा बढी पानीजहाजहरू अड्किएका थिए ।

शासन सत्ता लम्ब्याउँदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने बाटो खुल्ने विधेयकमा गत साता हस्ताक्षर गरेका छन् । विधेयकमा हस्ताक्षर गरेपछि उनी अझै दुई कार्यकाल राष्ट्रपति पदमा रहन सक्नेछन् ।

तस्बिर : रोयटर्स

गत वर्षको जनमत संग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएपछि उनले आफूअनुकूलको कानुन ल्याएका हुन् । नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ ।

चीनले बढायो हङकङमा नियन्त्रण

चीनले हङकङमाथि आफ्नो नियन्त्रण कायम राख्न चुनावसम्बन्धी कानुनमा व्यापक हेरफेर गरेको छ । नयाँ कानुनमा हङकङको एसेम्ब्लीमा प्रत्यक्ष रूपमा निर्वाचित सांसदको संख्या लगभग आधा घटाइएको छ । त्यसका साथै सांसदहरूलाई बेइजिङप्रति बफादार बनाउन उम्मेदवारी दिनुअघि एउटा परीक्षण समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ । आलोचकहरूले नयाँ कानुनले हङकङमा स्वतन्त्रताको अन्त्य हुने र संसद्‍मा विपक्षीको उपस्थिति नहुने चेतावनी दिएका छन् । नयाँ नियमअनुसार हङकङको संसद्मा अब २० जना सांसद मात्र प्रत्यक्ष रूपमा निर्वाचित हुने जनाइएको छ ।

जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा

यस वर्ष जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भए । पूर्वप्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारीका रूपमा सुगा छानिएका हुन् ।

तस्बिर : रोयटर्स

आबेको मन्त्रिपरिषद्मा मुख्यसचिवका रूपमा रहेका सुगा दोस्रो वरीयतामा थिए । लामो समयदेखि अस्वस्थ भएपछि आबेले जनतासँग माफी माग्दै गत महिना देशको कार्यकारी पद छाड्ने घोषणा गरेका थिए । आबेका निकटतम सहयोगीसमेत मानिने सुगाले उनका नीतिहरूलाई नै निरन्तरता दिँदै आएका छन् ।

न्युजिल्यान्डमा आर्डर्नको ऐतिहासिक जित

न्युजिल्यान्डमा यस वर्ष भएको संसदीय चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरिन् । आर्डर्नको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिशत, नेसनलले २८ प्रतिशत मत पाए भने अन्य मत ग्रिन, न्युजिल्यान्ड फस्टलगायत साना दलले बाँडेका छन् ।

चुनावी परिणामअनुसार आर्डर्न पुनः प्रधानमन्त्री चयन भइन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएका थिइन् । हरेक तीन वर्षमा हुने संसदीय निर्वाचनमा यस पटक १७ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।

इन्डोनेसिया र इस्ट टिमोरमा भीषण बाढीपहिरो

इन्डोनेसिया र इस्ट टिमोरमा गत साता गएको भीषण बाढीपहिरोका कारण सय जनाभन्दा बढीको ज्यान गएको छ । कम्तीमा ७० जना अझै बेपत्ता छन् । मृतकमध्ये १ सय ३० जना इन्डोनेसियाली हुन् । त्यस्तै, इस्ट टिमोरका अधिकारीहरूले बाढीपहिरोका कारण २७ जना मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमध्ये अधिकांश राजधानी दिलीका बासिन्दा हुन् । वर्षायाममा इन्डोनेसियामा बाढीपहिरो सामान्य भए पनि यसपटक बढी क्षति पुगेको जनाइएको छ ।

अलिबाबामाथि पौने ३ अर्ब जरिवाना

चिनियाँ नियामक निकायले विश्व चर्चित ई–कमर्स कम्पनी अलिबाबामाथि २ अर्ब ७५ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरू उल्लंघन गरेको भन्दै चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।

चीनको नियामक निकाय ‘बजार नियमनसम्बन्धी राज्य प्रशासन (एसएएमआर)’ ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु गरेको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ ।

संसद्‍मा बुर्काको बहस

स्विट्जरल्यान्डका बहुमत जनताले बुर्का तथा नकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेका छन् । दक्षिणपन्थी दल स्विस पिपल्सले ‘अतिवाद रोकौं’ भन्ने नाराका साथ उक्त प्रस्ताव अघि सारेपछि त्यसबारे जनमतसंग्रह गरिएको हो । जनमतसंग्रहबाट पारित भएपछि अब उक्त प्रतिबन्ध स्विस संविधानमा उल्लेख गरिनेछ ।

जापानी राहदानी सबैभन्दा बलियो

संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । ‘हेन्ली पासपोर्ट इन्डेक्स’ ले संसारका कति मुलुकहरूले भिसा नलगाएरै ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरेको हो । त्यस्तै सिंगापुर दोस्रो र दक्षिण कोरिया तथा जर्मनी तेस्रो स्थानमा छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९१ मुलुकहरूको भ्रमण गर्न पाउँछन् । सर्वेक्षण गरिएका १ सय १० मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १० औं स्थानमा) छ ।

सम्झनामा भारतीय अभिनेता

भारतका चर्चित तथा अब्बल सिने अभिनेता इरफान खानको यसै वर्ष निधन भयो । ठूलो आन्द्रामा संक्रमण भएपछि अस्पताल भर्ना भएका खानको ५३ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाइ अस्पतालमा अप्रिल २९ मा निधन भएको हो ।

त्यस्तै फिल्म ‘छिछोरे’ बाट चर्चित बनेका भारतीय अभिनेता सुशान्तसिंह राजपुतले यसै वर्ष आत्महत्या गरे । उनले मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका हुन् । सन् २०१३ मा ‘कोई पो चे’ मार्फत बलिउडमा पाइला राखेका सुशान्तले ‘शुद्ध देशी रोमान्स’, ‘पिके’, एम.एस.धोनी : द अन्टोल्ड स्टोरी’ लगायतमा अभिनय गरेका थिए ।

-(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : चैत्र ३१, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?