राजकुमार फिलिपको अन्त्येष्टि शनिबार

कोरोना  महामारीका कारण अन्त्येष्टि समारोहमा राजपरिवार सदस्यसहित ३० जना मात्रै सहभागी हुने
नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अन्त्येष्टि आउँदो अप्रिल १७ मा गरिने भएको छ । बेलायती राजदरबार बकिङ्घम प्यालेसका प्रवक्ताका अनुसार फिलिपको स्थानीय समयअनुसार दिउँसो ३ बजे विन्डसोरस्थित सेन्ट जर्ज गिर्जाघरमा अन्त्येष्टि गरिनेछ । फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

राजकुमार फिलिपको अन्त्येष्टि शनिबार

फिलिपको सम्झनामा क्यान्टरबरीस्थित गिर्जाघरमा प्रार्थनासभा आयोजना गरिएको छ । क्यान्टरबरीका आर्च बिसप, जस्टिन वेल्बीको नेतृत्वमा उक्त प्रार्थना सभा आयोजना गरिएको थियो । आउँदो शनिबार हुने अन्त्येष्टि कार्यक्रमको नेतृत्व पनि उनले नै गर्ने अपेक्षा गरिएको छ । कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा राजपरिवार सदस्यहरू र निकटका ३० जनालाई मात्रै सहभागी गराइने बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनसमेत समारोहमा सहभागी हुने छैनन् । सर्वसाधारणलाई टाढै रहन भनिएको छ । फिलिप निवासमा सर्वसाधारणले पुष्पगुच्छा चढाइरहँदा त्यसको सट्टा च्यारिटीलाई सहयोग गर्न अपिल गरिएको छ । फिलिपको अन्त्येष्टिमा सहभागी हुन बेलायती प्रिन्स ह्यारी क्यालिफोर्नियाबाट लन्डन आउने भएका छन् । ह्यारी राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर श्रीमती मेघन र छोरा आर्चीका साथ अमेरिकामा बस्दै आएका छन् । अन्त्येष्टिमा मेघन भने गर्भवती भएकाले चिकित्सकहरूको सुझावअनुसार सहभागी हुने छैनन् ।

सन् १९४७ नोभेम्बर २० मा बिहे गरेका राजकुमार फिलिप र रानीका ४ सन्तान, ८ नातिनातिना र १० जना पनाति–पनातिनी छन् । फिलिपको निधनसँगै ह्यारी मेघन र शाही परिवारबीच पछिल्लो समय देखिएको तिक्तता हट्ने अपेक्षा गरिएको छ । आमा डायनाको निधनपछि प्रिन्स ह्यारी र विलियमको अभिभावक रहेका बेलायती पूर्वप्रधानमन्त्री सर जोन मेजरले यो शोकको घडीले शाही परिवारबीचको दूरी अन्त्य गर्ने बताएका छन् ।

सरकारले फिलिपको निधनमा देशभर आठ दिन शोक मनाउने निर्णय गरेको छ । शोक मनाउने समयमा देशभर राष्ट्रिय झन्डा आधा र राजदरबारमा पूरै झन्डा झुकाइने छ ।

विश्व स्तब्ध

बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधनप्रति विश्व समुदाय स्तब्ध भएको छ । विन्डसर क्यासलमा दिवंगत भएका फिलिपलाई विश्वभरका राजसंस्था, राष्ट्रप्रमुख, बहालवाला तथा पूर्वप्रधानमन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन् ।

युरोपेली राजपरिवार र कमनवेल्थ राष्ट्रका नेताहरूले स्वर्गिय फिलिपप्रति समवेदना प्रकट गर्दै उनको असाधारण राष्ट्रसेवाको स्मरण गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र जीवित सबै अमेरिकी पूर्वराष्ट्रपतिहरू, पोप फ्रान्सिस र आध्यात्मिक तिब्बती नेता दलाई लामाले पनि समवेदना प्रकट गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेलायती महारानीलाई समवेदना सन्देश पठाएको बीबीसीले जनाएको छ । फिलिपको निधनमा अस्ट्रेलियाको क्यानबेरास्थित संसद् भवनको झन्डा आधा झुकाइएको छ । प्रिन्स फिलिप सन् १९५४ मा राज्याभिषेकपछि पहिलो विदेश भ्रमणका क्रममा रानीका साथ अस्ट्रेलिया पुगेका थिए ।

राजकुमार फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रिसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रिसका राजकुमार एन्ड्र्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए । बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए । सन् १९५२ देखि अवकाश नलिँदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिलिपमा युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा विशेष रुचि थियो ।

सन् २०१७ अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिएका प्रिन्स फिलिप केही समयअघि अस्वस्थ भएका कारण एक महिना अस्पतालमा बिताएर गत मार्च १६ मा आफ्नो निवास विन्डसर क्यासल फर्किएका थिए । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेका बेला बेलायतका राजा जर्ज छैटौंको निधन भएपछि बेलायती महारानी बनेकी आफ्नी पत्नी एलिजाबेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ थियो ।

प्रकाशित : चैत्र ३०, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?