कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्यान्मारमा सैनिक दमन, ८२ प्रदर्शनकारी मारिए

सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका स्थानीय संचारमाध्यमले जनाएका छन्
एजेन्सी

यांगुन/बागो — म्यान्मारमा सैनिक शासनविरुद्ध विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले दमन गरेपछि कम्तीमा ८२ जनाको ज्यान गएको छ । बागो सहरमा शुक्रबार गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अझै बढी रहेको अनुमान गरिएको छ ।

म्यान्मारमा सैनिक दमन, ८२ प्रदर्शनकारी मारिए

मृतकहरूको शव सेनाले लिएर गएका कारण मारिनेको संख्या यकिन हुन नसकेको अधिकारकर्मीहरूले जनाएका छन् । घटनामा दर्जनौं घाइते भएका छन् ।

प्रदर्शनका क्रममा केही हलचल भएको देख्नेबित्तिकै सुरक्षाकर्मीहरूले सिधै गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘म्यान्मार नाउ’ अनलाइनका अनुसार सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका थिए ।

तर सेना नियन्त्रित अखबारले भने प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेको र त्यस क्रममा एक जनाको मृत्यु भएको दाबी गरेको छ । उक्त घटना म्यान्मारको मुख्य सहर यांगुन नजिकैको बागो सहरमा शुक्रबार भएको हो । तर धेरै बासिन्दालाई नजिकैको गाउँमा जान बाध्य पारिएका कारण यसबारे सूचना बाहिर आउन एक दिनभन्दा लामो समय लागेको जनाइएको छ ।

अनुगमन समूह ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले ज्यान गुमाउनेको संख्या निकै धेरै हुन सक्ने देखिएको जनाएको छ । ‘यो नरसंहार जस्तै छ । उनीहरूले छाया देखे पनि गोली चलाएका छन्,’ विरोध प्रदर्शनमा आयोजकहरूलाई उद्धृत गर्दै म्यान्मार नाउ अनलाइनले लेखेको छ ।

म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले शासनसत्ता हातमा लिएपछि प्रदर्शन चर्केको हो । त्यसयता गरिएका प्रदर्शनमा सेनाले गरेको चरम दमनका कारण ७ सय १ जनाको मृत्यु भइसकेको एएपीपीले जनाएको छ । तीमध्ये करिब ५० जना बालबालिका छन् । सेनाले सत्ता टिकाइरहनका लागि दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ । ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स’ का अनुसार २ हजार ८ सयभन्दा बढी सैनिक हिरासतमा छन् ।

म्यान्मारमा नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ताकब्जा गरेको हो । त्यसयता म्यान्मारका मुख्य सहरहरूमा नियमित विरोध प्रदर्शनहरू हुँदै आएका छन् । सैन्य ‘कु’ सँगै देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको सेनाले सैनिक शासन लागू गरिसकेको छ । तर चुनावमा धाँधली भएको भन्ने सेनाको आरोप निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । स्वतन्त्र पर्यवेक्षकहरूले पनि चुनाव स्वतन्त्र रूपमा सम्पन्न भएको बताउँदै आएका छन् । सेनाले स्वतन्त्र चुनाव गर्ने बताउँदै आएको भए पनि मिति भने तोकेको छैन ।

नोभेम्बरको चुनावमा लोकतन्त्रवादी नेतृ आङ सान सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो । नेतृ सुची भने हाल सैनिक नियन्त्रणमा छिन् । सैनिक शासकले उनीविरुद्ध ६ वटा मुद्दा लगाइसकेको जनाएको छ । तर त्यसविरुद्धका कुनै प्रमाण सार्वजनिक गरिएको छैन । आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा आरोपहरू लगाइएको सुचीको भनाइ छ ।

यसैबीच, अपदस्थ सांसद तथा संयुक्त राष्ट्रसंघका लागि म्यान्मारका राजदूतले शुक्रबार सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू बिस्तार गर्न, हातहतियार खरिदमाथि रोक लगाउन र उडान निषेधका लागि पहल गर्न आह्वान गरेका थिए । इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार रिचर्ड होर्सीले सेनाको कदमले देश शासन गर्ने नसकिने अवस्थामा पुग्न सक्ने बताएका छन् ।

यसअघि मार्च २७ मा म्यान्मारका विभिन्न स्थानमा गरिएको विरोधका क्रममा सुरक्षाकर्मीले चरम दमन गरेको थियो । अनुगमनकर्ताहरूका अनुसार त्यसक्रममा दर्जनौं प्रदर्शनकारीको ज्यान गएको थियो ।

प्रकाशित : चैत्र २९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?