२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतका अस्पतालमा बेड र अक्सिजन अभाव

महाराष्ट्र, बिहार, गुजरात राज्यमा खोप अभाव, संक्रमितको खुला आकाशमुनि नै उपचार 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना भाइरसको संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ लाख ४५ हजार संक्रमित थपिएका छन् ।

भारतका अस्पतालमा बेड र अक्सिजन अभाव

जुन महामारी सुरु भएयताकै उच्च हो । दिनकै १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो पाँचौं दिन हो । योसँगै संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ । तीमध्ये १० लाखभन्दा बढी संक्रिय संक्रमणको अवस्थामा रहेका भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९४ जनाको संक्रमणका कारण ज्यान गएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय २६ पुगेको छ ।

महामारीका कारण बिरामी संख्यामा अत्यधिक वृद्धि हुँदा अस्पतालहरूमा अक्सिजन र बेड अभाव हुन थालेको छ । जसले गर्दा संक्रमितहरूले समयमा उपचार नपाउने र अकालमा मृत्यु हुने परिस्थिति बन्दै गएको छ । पछिल्लो अवस्थालाई विज्ञहरूले नयाँ स्वास्थ्य संकटका रूपमा समेत चित्रण गरेका छन् । संक्रमित बढेपछि अस्पतालहरूमा अक्सिजन र बेडको अभाव हुन थालेको छ । बेड नहुँदा कतिपय बिरामीको खुला आकाशमुनि नै उपचार गरिएको छ । बेड नपाउँदा अस्पतालका मूल गेटमा बिरामी बोकेका एम्बुलेन्सका लाइन देखिन थालेका छन् । गुजरातको बडोदा र उत्तरप्रदेशको लखनउमा बिरामीले उपचार नपाएर छटपटिएका हृदयविदारक दृश्यहरू बाहिर आउन थालेका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पनि पछिल्लो समय महाराष्ट्रको अवस्था भयावह बन्दै गएको छ । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ५८ हजार ९ सय ९३ संक्रमित थपिएका छन् । संक्रमण बढेपछि महाराष्ट्रका पुने, नासिकलगायत सहरमा अक्सिजनको अभावका कारण बिरामीहरूको अवस्था जटिल बन्न पुगेको छ । केही सञ्चारमाध्यमले अक्सिजन अभावकै कारण बिरामीको मृत्यु भएको उल्लेख गरे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । त्यसो त महाराष्ट्र राज्य सरकारले यसअघि नै संक्रमण तीव्र बन्दै गए अक्सिजन अभाव हुन सक्ने भन्दै उद्योगहरूलाई आपूर्ति बढाउन आदेश जारी गरिसकेको छ । यता दिल्ली सरकारले भने संक्रमण बढे पनि अक्सिजन र बेड पर्याप्त रहेको दाबी गरेको छ । पछिल्लो एक दिनमा दिल्लीमा मात्र ८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्ने तर तत्काल लकडाउन नगर्ने पक्षमा रहेको बताएका छन् । दिल्लीमा रात्रिकालीन कर्फ्यु भने गत सातादेखि नै लागू भइसकेको छ । संक्रमण भयावह बन्दै गएसँगै खोप आपूर्तिमा पनि समस्या देखिन थालेको छ । केही साता यता खोप अभियानलाई तीव्रता दिएसँगै खोप आपूर्तिमा समस्या देखिएको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ९ करोड ८० लाख ७५ हजार १ सय ६० जनाले खोप लगाइसकेका छन् । तर विभिन्न राज्यमा खोपको पर्याप्त आपूर्ति नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खोप नहुँदा महाराष्ट्र, बिहारलगायत राज्यमा अभियान नै रोकिएको जनाइएको छ । गुजरातको अहमदाबादलगायत सहरमा पनि खोप आपूर्तिमा समस्या देखिएको स्थानीय सञ्चारमाध्यले जनाएका छन् ।

खोपको आपूर्तिकै विषय लिएर केन्द्र र राज्य सरकारहरूबीच जुहारीसमेत सुरु भएको छ । कतिपय राज्य सरकारहरूले केन्द्रमाथि खोप आपूर्तिमा ढिलाइ र विभेद गरेको आरोपसमेत लगाउन थालेका छन् । यसैबीच, पन्जाबमा पनि पाँच दिनका लागि पुग्ने मात्र खोप बाँकी रहेको त्यहाँका मुख्यमन्त्री अमरन्दिर सिंहले जनाएका छन् । शनिबार भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँगको भिडियो कन्फरेन्समा सिंहले ५.७ लाख खोप मात्र बाँकी रहेको र हालको दैनिक १ लाखको हिसाबले दिने हो भने ५ दिनलाई मात्र पुग्ने बताएका थिए । सिंहले खोपको पर्याप्त आपूर्तिका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र स्वास्थ्य मन्त्रालयलाई पत्र लेखिसकेको पनि गान्धीसँगको कुराकानीमा खुलाएका थिए । यसअघि राजस्थानका मुख्यमन्त्री अशोह गहलोतले पनि खोपको आपूर्ति बढाइदिन मोदीलाई पत्र लेखिसकेका छन् । तर, केन्द्र सरकारले भने खोप आपूर्ति पर्याप्त मात्रामा भइरहेको दाबी गर्दै आएको छ ।

भारत सरकारले पुनेस्थित सिरम इन्स्टिच्युट र हैदराबादको भारत बायोटेकद्वारा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोप प्रयोग ल्याएको छ । दुवै कम्पनीमाथि उत्पादन बढाउन चर्को दबाब छ । सिरमका प्रमुख कार्यकारी अधिकृत अदर पुनावालाले एक भारतीय टेलिभिजनसँगको कुराकानीमा आपूर्ति बढाउन कम्पनीमाथि चर्को दबाब परे पनि क्षमता नबढाई त्यो सम्भव नहुने बताएका छन् । त्यसका लागि सरकारले नै आर्थिक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

खोप अभाव हुन थालेपछि विपक्षीहरूले घरेलु मागलाई बेवास्ता गर्दै विदेश निर्यातलाई प्राथमिकतामा राखेको भन्दै मोदी सरकारको आलोचना सुरु गरेका छन् । भारतको विदेश मन्त्रालयका अनुसार भारतले हालसम्म भ्याक्सिन मैत्रीअन्तर्गत ८५ देशलाई अनुदान, व्यापारिक र विश्व स्वास्थ्य संगठनको कोभ्यास अनुदानसमेत गरी ६ करोड ४५ लाखभन्दा बढी मात्रा खोप उपलब्ध गराइसकेको छ ।

कंग्रेस नेता राहुल गान्धीले ट्वीटमार्फत देशभित्रको मागलाई बेवास्ता गर्दै निर्यात गरेको भन्दै मोदी सरकारको कडा आलोचना गरेका छन् । ‘आफ्ना देशावासीलाई खतरामा पारेर निर्यात गर्नु के सही हो ? बढ्दो कोरोना संकटका बेला खोप कमी हुनु अति गम्भीर समस्या हो । यस्तोमा केन्द्र सरकार सबै राज्यलाई बिनाभेदभाव सहयोग गरोस्, हामी सबै मिलेर यो महामारीलाई हराउनुपर्छ,’ गान्धीले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?