कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शोकमा बकिङ्‌घम प्यालेस

बेलायती महारानीका पति भए पनि राजकुमार फिलिपको कुनै संवैधानिक हैसियत थिएन तर उनी दरबारका खास व्यक्ति थिए ।
नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयालाई पति शोक परेको छ । महारानीका पति राजकुमार फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ ।

शोकमा बकिङ्‌घम प्यालेस

रानीले गहिरो दुःखका साथ उनका श्रीमान् ड्युक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राजदरबारमा ब्रिटिस झन्डा आधा झुकाइएको छ ।

उपचारका क्रममा एक महिना अस्पतालमा बिताएपछि ड्युक गत १६ मार्चमा आफ्नो निवास विन्डसर क्यासल फर्किएका थिए । टेन डाउनिङ स्ट्रिटमा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘ड्युकको निधनको समाचार सुन्दा साह्रै दुःखी भएको छु । ड्युकले अनगिन्ती युवाहरूको जीवनलाई प्रेरित गरेका थिए ।’

फिलिप ग्रिसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा राजपरिवारमा जन्मिएका थिए । उनी एक वर्षको हुँदा ग्रिसमा क्रान्ति भयो । त्यहाँको अदालतले उनका पितालाई ग्रिसबाट निकाला गरिदियो । त्यसपछि उनीहरू बेलायत पुगेका थिए ।

दोस्रो विश्वयुद्धको संघारमा फिलिप सैन्य सेवामा भर्ती भएका थिए । उनी रोयल न्याभीमा थिए । एलिजाबेथ भ्रमणमा आउँदा भेट भयो । दुवैबीच सन् १९४७ मा विवाह भयो । विवाहको पाँच वर्षपछि एलिजाबेथलाई बेलायतको राजगद्दी सम्हाल्ने जिम्मेवारी आएको थियो ।

बीबीसीका अनुसार राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन् ।

उनीहरूका छोरा प्रिन्स अफ वेल्स पनि भनिने राजकुमार चार्ल्स सन् १९४८ मा जन्मिएका थिए । त्यसपछि राजकुमारी एन सन् १९५० मा जन्मेकी थिइन् भने ड्युक अफ योर्क राजकुमार एन्ड्र्यु सन् १९६० मा जन्मेका थिए । त्यसैगरी अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मिएका बीबीसीका समाचारमा उल्लेख छ ।

नेपाली र विशेष गरी गोर्खासँग बेलायती दरबारको निकट सम्बन्ध छ । बेलायतको नेपाली समुदाय फिलिपको निधनबाट दुःखी भएको छ । ‘उनको नेपालप्रति बेग्लै सद्भावना थियो । गोर्खा र नेपाली राजपरिवारसँगको सम्बन्धका कारण पनि फिलिपले नेपाललाई रुचाउँथे,’ सन् १९६१ मा रानीसँगै फिलिप नेपाल गएको सम्झँदै लन्डनका अग्रज चिकित्सक डा. राघवप्रसाद धितालले कान्तिपुरसँग भने । फिलिपसँग दुई पटक सार्वजनिक कार्यक्रममा भेटेको बताउने अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले उनी महान् राष्ट्रसेवक भएको र रानीलाई सधैं सहयोग गरेको स्मरण गरे ।

‘दोस्रो विश्वयुद्धदेखि अहिलेसम्म ब्रिटेनमा स्थायित्व कायम राख्न ब्रिटिस महारानीलाई उहाँको सहयोग निकै महत्त्वपूर्ण रह्यो,’ सुवेदीले भने, ‘उहाँले थुप्रै ब्रिटिस च्यारिटीहरूको संरक्षकका रूपमा ती संस्थाहरूलाई सघाउनुभयो । विश्वभरि नै उहाँको अनुपस्थिति खड्किनेछ ।’

प्रकाशित : चैत्र २८, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?