कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोयल न्याभीको भेटले मौलाएको सम्बन्ध

बीबीसी

लन्डन — महारानीप्रति देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ड्युक अफ एडिन्बरा प्रिन्स फिलिपले ६० वर्षभन्दा बढी समयदेखि व्यापक सम्मान पाएका थिए । उनले वहन गरेको भूमिका जोकसैको निम्ति कठिन किसिमको थियो ।

रोयल न्याभीको भेटले मौलाएको सम्बन्ध

अझ कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो । तर व्यक्तित्वको सोही सबल पक्षले उनलाई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न सहयोग गर्‍यो । साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उनले सके ।

संवैधानिक हैसियत प्राप्त नभए पनि राजसंस्थाको नजिक उनीजति अरू कोही थिएन । रानीका लागि पनि उनीजति महत्त्वपूर्ण अरू कोही थिएन ।

उनी ग्रिसको राजपरिवारमा जन्मिए । सन् १९२२ मा भएको सत्तापलटपछि उनका पितालाई एउटा क्रान्तिकारी अदालतले ग्रिसबाट निकालिदियो । त्यसपछि उनी आफन्तहरूका साथ इंग्ल्यान्ड पुगे र सरीस्थित प्राथमिक विद्यालयमा भर्ना भए । पछि उनी स्कटल्यान्डको गोर्डन्स्टन स्कुलमा पुगे । आत्मनिर्भरतामा जोड दिने गोर्डन्स्टनको सादा जीवनशैली, आमाबुबाबाट छुट्टिएका ती किशोरका निम्ति एकदमै उपयुक्त थियो ।

दोस्रो विश्वयुद्धको संघारमा फिलिपले सैन्य सेवामा प्रवेश गर्ने निधो गरे । उनले रोयल न्याभीमा जागिर थाले । त्यसैताका सन् १९३९ मा उनको त्यस बखतकी राजकुमारी एलिजाबेथसँग पहिलो महत्त्वपूर्ण भेट भएको थियो । पछि लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भयो । त्यस बिहेलाई विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा ब्रिटेनमा देखिएको एउटा रंगीन चमकका रूपमा उल्लेख गरेका थिए ।

सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेका बेला ब्रिटेनका राजा जोर्ज छैटौंको निधन भयो । आफ्नी पत्नीलाई अब तिमी रानी भयौ भन्ने समाचार सुनाउने जिम्मा प्रिन्स फिलिपकै थियो । उनका एक साथीले पछि बताएअनुसार त्यतिखेर फिलिपले आधी संसार आफ्नै थाप्लोमा आइपरेजस्तो अनुहार लगाएका थिए । सन् १९२१ मा ग्रिसको राजपरिवारमा जन्मिएका फिलिप दोस्रो विश्वयुद्धपश्चात् ब्रिटेनको राजपरिवारका केन्द्रीय व्यक्ति बन्न पुगे । आफ्नो राज्याभिषेकलगत्तै रानीद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरियो ।

फिलिपले रानीलाई सधैं नै उनको जिम्मेवारीमा सघाए । तर उनका आफ्नै रुचिहरू पनि थिए । उनले थुप्रै परोपकारी कामको अभियान चलाए । उनको विशेष रुचि युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा थियो ।

आफूलाई लागेको कुरा स्पष्ट बोल्ने व्यक्तिका रूपमा उनको परिचय स्थापित भएको थियो । त्यसो गर्दा उनलाई कतिपय अवसरमा अप्ठ्यारो पनि आइपर्‍यो । सन् १९८६ मा शाही भ्रमणका बेला चीनमा भएको एउटा घटना सोही सन्दर्भमा निकै चर्चित

रह्यो । त्यहाँ बसेका ब्रिटिस विद्यार्थीसँग अन्तरक्रियामा बोल्दाबोल्दै उनले ‘लामो समय चीनमा बसे उनीहरूको पनि आँखा चिम्सो हुने’ भनिदिए । उक्त टिप्पणीलाई लिएर चीनमा धेरै चासो नजनाइए पनि ब्रिटिस ट्याब्लोइड पत्रिकाले त्यसबारे निकै चर्चा गरे ।

फिलिप प्रतिबद्ध र आत्मनिर्भर व्यक्ति थिए । उनले आफूलाई ब्रिटिस समाजको केन्द्रमा पाए । एक पटक बीबीसीसँग बोल्ने क्रममा उनले भनेका थिए, ‘मैले केवल सकेजति राम्रो गरेको छु । तपाईं के गर्न सक्नुहुन्छ ? मेरो शैली म अचानक परिवर्तन गर्न सक्दिनँ ।’

दशकौंसम्म रानीको समर्थनमा तथा अन्य परोपकारी संस्थाका निम्ति विभिन्न कार्यक्रममा भाग लिएका फिलिपले सन् २०१७ को अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । बकिङ्घम प्यालेसका अनुसार सन् १९५२ देखि त्यतिन्जेलसम्म उनी झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री टरिजा मेले उनले सार्वजनिक सेवामा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेकी थिइन् । आफ्नो पदको प्रयोग गरी ब्रिटिस जीवनमा योगदान दिन फिलिप सफल रहे । राजसंस्थालाई बदलिँदो सामाजिक भावना बुझ्न उनले सहयोग पुर्‍याए । प्रिन्स फिलिपको सबैभन्दा ठूलो उपलब्धिचाहिँ लामो शासनकालमा उनले रानीलाई निरन्तर दिएको सुदृढ समर्थन र सहयोग नै हो ।

प्रकाशित : चैत्र २८, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?