१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

म्यान्मारमा ७ प्रदर्शनकारीको मृत्यु

एजेन्सी

यांगुन — म्यान्मारमा सैनिक ‘कु’ को विरोधमा गरिएका प्रदर्शनका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार गरिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर उनीहरुको ज्यान गएको हो ।

म्यान्मारमा ७ प्रदर्शनकारीको मृत्यु

मृत्यु हुनेमा ५ जना केलका र २ जना बागोका रहेका समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनकारीले बुधबार यांगुनस्थित एक चिनियाँ उद्योगमा आगो लगाइदिएका बीबीसीले जनाएको छ । साथै उनीहरूले चिनियाँ झन्डासमेत जलाएका छन् ।

म्यान्मारमा गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै म्यान्मारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको हो । त्यसयता लोकतन्त्र पक्षधरहरूले आन्दोलन चर्काएका हुन् । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने चुनावमा धाँधली नभएको बताउने गरेका छन् ।

पछिल्ला दिनहरूमा सैनिक सरकारले प्रदर्शनकारीमाथि चरम दमन गर्न थालेको छ । प्रदर्शनका क्रममा हालसम्म ५ सय ८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

नोभेम्बरमा भएको चुनावमा लोकतन्त्रवादी नेतृ आङ सान सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक बहुमत ल्याएको थियो । सेना प्रमुख मिन ह्यालिङले ‘देशमा निष्पक्ष चुनाव गर्ने’ बताउँदै आएका छन् । तर उनले चुनावको मितिबारे भने केही उल्लेख गरेका छैनन् ।

सत्ता कब्जा गरेसँगै एनएलडी प्रमुख सुची सैनिक नियन्त्रणमा छिन् । उनीविरुद्ध विभिन्न मुद्दा लगाइएको भए पनि त्यसविरुद्धका प्रमाण सार्वजनिक गरिएको छैन । नेतृ सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् । सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेता, पत्रकार तथा मानवअधिकारकर्मीलाई पनि पक्राउ गरिएको छ ।

पछिल्ला दिनहरुमा देशका प्रमुख सहरहरूमा दैनिकजसो सरकारविरोधी प्रदर्शन हुँदै आएका छन् । सैनिक नरसंहारको संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायतले निन्दा गरेका छन् । लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको ‘चरम दमन अस्वीकार्य’ भएको उनीहरूको भनाइ छ ।

यसअघि बेलायतसहित एक दर्जन देशका रक्षामन्त्रीहरूले यसअघि संयुक्त विज्ञप्ति जारी गरी सैनिक दमनको कडा निन्दा गरेका थिए । त्यसैगरी, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती विदेशमन्त्री डोमिनिक राबलगायतले सैनिक दमनको चर्को आलोचना गरेका छन् ।

अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले यसअघि नै सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । तर चीन र रुसले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित : चैत्र २५, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?