१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ४ हजारको मृत्यु

ब्राजिलमा गत महिना मात्रै ६६ हजार ५ सय ७० जनाको ज्यान गएको थियो । जुन अघिल्लो महिनाको तुलनामा दोब्बर हो ।
एजेन्सी

ब्रासिलिया — ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन कम्तीमा ४ हजार जनाको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ४ हजारको मृत्यु

अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ४ हजार १ सय ९५ जनाको मृत्यु भएको पुष्टि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो भाइरसका कारण ब्राजिलमा एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो ।

कोरोना भाइरस प्रभावित देशको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिल हालसम्म ३ लाख ३६ हजार ९ सय ४७ जनाको ज्यान गइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार साँझसम्म संक्रमित हुनेको संख्या १ करोड ३१ लाख ५ सय ८० पुगिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा नगरिने जनाएका छन् ।

भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ । तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन् । उनले लकडाउन तथा प्रतिबन्धहरूका देशको अर्थतन्त्र बिग्रने दाबी गरेका छन् । जुन देशका लागि भाइरसको प्रभावभन्दा बढी हानिकारक हुने उनको दाबी छ ।

राष्ट्रपतीय कार्यालय अगाडि मंगलबार समर्थकमाझ बोल्दै बोल्सोनारोले क्वारेन्टाइन व्यवस्थाको आलोचना गरेका छन् । तर उनले भाइरसका कारण एकै दिन ४ हजार १ सय ९५ जनाको मृत्यु भएको बारे भने केही उल्लेख नगरेको बीबीसीले उल्लेख गरेको छ । ब्राजिलमा गत महिना मात्रै ६६ हजार ५ सय ७० जनाको ज्यान गएको थियो । जुन अघिल्लो महिनाको तुलनामा दोब्बर हो ।

ब्राजिलको पछिल्लो अवस्थाका कारण अन्तर्राष्ट्रिय समुदायसमेत प्रभावित हुने देखिएको स्वास्थ्यविद्हरूको भनाइ छ । ‘अन्तर्राष्ट्रिय समुदायले गरेका सबैजसो प्रयासका लागि हाल ब्राजिल प्रमुख चेतावनीका रूपमा देखिएको छ,’ ब्राजिलको संक्रमणबारे अध्ययन गरिरहेका डाक्टर मिगुएल निकोलेलिसले भने, ‘यदि ब्राजिल सुरक्षित रहेन भने विश्व नै सुरक्षित नहुने देखिन्छ किनकि हरेक साता नयाँ भेरियन्ट (प्रजाति) देखा परिरहेको छ ।’

पोर्चुगलको एक स्वास्थ्य संस्थाका अनुसार कारण ब्राजिलका सबै राज्यका अस्पतालहरूमा ९० प्रतिशतभन्दा बढी सघन उपचार कक्ष कोरोना भाइरस संक्रमितले भरिएका छन् । कतिपय राज्यले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएका छन् ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड ८ लाख ४७ हजारभन्दा बढी संक्रमित छन् । बुधबार साँझसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार ५ सय ४८ पुगिसकेको छ ।

त्यस्तै संक्रमित संख्याका आधारमा भारत, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । भारतमा १ करोड २८ लाख १ हजार ७ सय ८५ जना संक्रमित भइसकेका छन् भने १ लख ६६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै, ४९ लाख २ हजार जनाभन्दा बढी संक्रमित रहेको फ्रान्समा मृत्यु हुनेको संख्या ९७ हजार ४ सय ३१ छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार रुसमा संक्रमितको संख्या ४५ लाख ५४ हजार ५ सय पुगेको छ । त्यहाँ भाइरसका कारण ९९ हजार ८ सय जनाको मृत्यु भइसकेको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २८ लाख ७६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वविद्यालयका अनुसार १३ करोड २५ लाख ५७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित : चैत्र २५, २०७७ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?