कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोले १५७ को मृत्यु

एजेन्सी

जकार्ता — इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार गएको भीषण बाढीपहिरोका कारण सय जनाभन्दा बढीको ज्यान गएको छ । कम्तीमा ७० जना बेपत्ता छन् ।

इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोले १५७ को मृत्यु

अधिकारीहरूले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको पुष्टि गर्दै केही हराइरहेको जनाएका छन् । मृतकमध्ये १ सय ३० जना इन्डोनेसियाली हुन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण संस्थाले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाएका छन् । ‘बाढीपहिलोपछिको लेदो र मौसमका कारण उद्धारमा चुनौती थपिएको छ,’ संस्थाका प्रवक्ता रादित्य जातीले भने । उनका अनुसार ड्यामहरूबाट बगेको पानीका कारण बस्तीहरू डुबानमा परेका छन् । जसका कारण दर्जनौं घर तथा भौतिक संरचनाहरू क्षतिग्रस्त बनेका छन् । घटनामा घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

‘निकै धेरै मानिसहरू बाढीले पुरिएका हाम्रो अनुमान छ । तर हालसम्म कति जना हराइरहेका छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन्,’ पूर्वी टापु फ्लोर्सको विपद् संस्थाका प्रमुख अल्फोन्स हादा बेथानले भने । बाढी प्रभावितहरूलाई औषधि, खाना र कपडा आवश्यक भएको उनको भनाइ छ ।

त्यस्तै, इस्ट टिमोरका अधिकारीहरूले बाढीपहिरोका कारण २७ जना मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमध्ये अधिकांश राजधानी दिलीका बासिन्दा हुन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाप्रति दु:ख व्यक्त गर्दै मौसममा सुधार नआएसम्म अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन् । ‘बाढीपहिरो प्रभावितहरूको यथाशक्य उद्धार गर्न तथा राहत सामग्री उपलब्ध गराउन मैले आदेश दिइसकेको छु,’ विडोडोले भनेका छन् ।

वर्षायाममा इन्डोनेसियामा बाढीपहिरो सामान्य भए पनि यसपटक बढी क्षति पुगेको जनाइएको छ । जाभा प्रान्तको सुमेदाङमा गत जनवरीमा गएको बाढीका कारण कम्तीमा ४० जनाको ज्यान गएको थियो । त्यस्तै, सेप्टेम्बरमा बोर्नेओमा गएको पहिरोमा कम्तीमा ११ जनाले ज्यान गुमाएका थिए । त्यसको केही साताअघि सुलावेसीमा गएको पहिरोमा १२ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियाको विपद् न्यूनीकरण संस्थाले देशका विभिन्न भागमा बस्ने करिब आधा जनसंख्या अर्थात् १३ करोड मानिसहरू बाढीको जोखिममा रहेका जनाएको छ । जसका कारण क्षति न्यूनीकरण तथा रोकथामका उपायहरू अपनाउन कठिन भएको संस्थाको भनाइ छ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?