कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए ।

भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको बताइएको छ । सार्वजनिक सरकारी तथ्यांकहरुले पनि संक्रमित हुने र मृत्युु हुनेको संख्या अत्यासलाग्दो किसिमले बढिरहेको देखाउँछ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार सोमबार ९६ हजार ९८२ मा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो एक दिनमा मात्र भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । आइतबार भने त्यो संख्या १ लाख ३ हजार ५५८ थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । यसअघि गत ३१ भदौमा यो तथ्यांक ९७ हजार ८९४ पुगेको थियो । सोमबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म १ करोड २५ लाख ८९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा गएको एक सातामै करिब साढे ६ लाख र गएको पन्ध्र दिनमै दस लाखभन्दा बढी संक्रमित थपिएको बताइएको छ ।

संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । सोमबार मात्र कोरोनाका कारण थप ४६६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५६७ पुगेको छ । संक्रमणबाट बढी मृत्यु हुनेको संख्याका हिसाबले भारत विश्वको पाँचौं स्थानमा छ । कुल संक्रमणबाट भने भारतको अमेरिकापछि दोस्रो स्थानमा छ ।

भारत सरकारले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार ४३ लाखभन्दा बढीले खोप लगाएका थिए । योसँगै भारतमा हालसम्म ८ करोड ३१ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरुमध्ये महाराष्ट्र, मध्यप्रदेश, छत्तीसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मू–कश्मीर, गुजरातमा पनि संक्रमण तीव्र रुपमा बढेको छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था त झनै भयावह छ । महाराष्ट्रमा सोमबार मात्र ४७ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका मुम्बई, पुने, नासिकलगायतका सहर बढी प्रभावित छन् । संक्रमणले भयावह बन्दै गएपछि महाराष्ट्र सरकारले राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु र बिदाको दुई दिन शनिबार र आइतबार लकडाउन गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी संक्रमण जोखिम कम गर्न मध्यप्रदेश सरकारले महाराष्ट्रसँगको सीमा बन्द गरेको छ । त्यसैगरी उत्तरप्रदेश, पञ्जाबमा पनि विद्यालय र क्याम्पसहरु बन्द गरिएका छन् ।

भारतमा संक्रमणको दोस्रो लहर सुरु हुनुमा स्वास्थ्य मापदण्ड पालना गर्ने सन्दर्भमा भएको लापर्बाहीलाई प्रमुख कारण ठानिएको छ । त्यसमाथि भारतका विभिन्न राज्यहरुमा भइरहेको विधान सभा चुनावले पनि संक्रमण बढाउन भूमिका खेलेको छ । पश्चिम बंगाल, असम, तमिलनाडु, केरला, पुण्डुचेरीमा विधान सभाको चुनाव जारी छ । चुनावमा आफू अनुकूलको नतिजा ल्याउन राजनीतिक दलहरुले स्वास्थ्य जोखिमको बेवास्ता गर्दै ठूलाठूला ऱ्याली र आमसभाहरु गर्दै आएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) स्वयं त्यस्ता ऱ्याली र आमसभा गर्ने कुरामा सबैभन्दा अगाडि देखिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले खोप अभियान सुरु भएको भन्दै स्वास्थ्य मापदण्ड पालनामा लापर्बाही गरिएका कारण संक्रमण बढेको दाबी गरेका छन् । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स्) का निर्देशक रणदीप गुलेरियाका अनुसार मानिसहरुले मास्क, सामाजिक दूरीजस्ता स्वास्थ्यका सामान्य मापदण्ड पूरा नगरेको पछिल्लो परिस्थिति बनेको हो ।

एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा गुलेरियाले यो लापर्बाही कायम रहेको खण्डमा संक्रमण थप बढ्ने र अबको दुई/तीन साताभित्र संक्रमण उच्च बिन्दुमा पुग्ने चेतावनी दिएका छन् । साथै उनले पछिल्लो समय परीक्षण पनि सुस्त भएको भन्दै त्यसलाई तत्काल बढाउन माग गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कोरोना महामारीको पछिल्लो अवस्थाका विषयमा सबै राज्य र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । आइतबार पनि मोदीले संक्रमण तीव्र भएको विषयमा उच्च अधिकारीहरुसँग छलफल गरेको बताइएको छ ।

यसैबीच दिल्ली सरकारले पनि संक्रमणलाई रोक्न खोप अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

सोमबारमात्र अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले मंगलबारदेखि एक तिहाई खोप केन्द्रहरु चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । केजरीवालले आइतबार मात्र केन्द्र सरकारसँग सबै उमेर समूहका लागि खोप अभियान खुला गर्न आग्रह गरेको थियो । भारतमा हाल ४५ वर्षमाथिकालाई मात्र खोप लगाउन खुला गरिएको छ ।

यसअघि ५५ वर्षमाथि उमेर र जटिल रोग लागेका ४५ वर्षमाथिका लागि मात्र खोप अभियान सुरु गरिएको गत १९ चैतदेखि ४५ वर्ष उमेरभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरिएको हो । भारतमा गत ३ माघदेखि खोप अभियान सुरु गरिएको हो । भारतले आगामी जुलाईभित्रमा तीस करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

प्रकाशित : चैत्र २४, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?