जोर्डनका राजकुमार भन्छन्, ‘मलाई नजरबन्दमा राखियो’

राजकुमार हम्जाह बिन हुसेनमाथि सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप
एजेन्सी

अम्मान — जोर्डनका राजकुमारमाथि आदिवासी नेताहरू परिचालित गरेर सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ । उपप्रधानमन्त्री आयमन सफरीले राजकुमार हम्जाह बिन हुसेनले ‘विदेशी शक्तिहरूसँग साँठगाँठ गरेर’ देशलाई अस्थिर बनाउन क्रियाशील रहेको आरोप लगाएका हुन् । 

जोर्डनका राजकुमार भन्छन्, ‘मलाई नजरबन्दमा राखियो’

यसअघि युवराज हुसेनले ‘आलोचकहरूलाई कारबाही गर्ने सिलसिलामा आफूलाई घरमै नजरबन्दमा राखिएको’ बताएका थिए । यसअघि जोर्डनको सेनाले राजकुमार हुसेन नजरबन्दमा रहेको समाचार अस्वीकार गरेको थियो ।

हुसेनले आफूमाथिका आरोप अस्वीकार गर्दै देशका नेताहरू अक्षम भएको बताएका छन् । उनका कानुन व्यवसायीले बीबीसीलाई उपलब्ध गराएको एक भिडियोमा हुसेनले देशका नेताहरूलाई भ्रष्टाचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका हुन् । हुसने जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ हुन् ।

‘आज बिहान जोर्डनको सशस्त्र फौजका प्रमुखले भेटेर मलाई बाहिर जान नपाइने, मानिसहरूसँग संवाद तथा भेटघाट गर्न नपाइने बताए । म उपस्थित हुने बैठक वा सामाजिक सञ्जालका सूचनाले सरकार वा राजाको आलोचना भएको बताए । सरकारलाई अवरोध पुर्‍याउने, भ्रष्टाचार र १५ देखि २० वर्षयता हाम्रो राज्य प्रणालीमा देखिएको अक्षमताका लागि म जिम्मेवार व्यक्ति होइन,’ भिडियोमा उनले भने ।

जोर्डनमा यसअघि ‘सत्ता उल्टाउने षड्यन्त्र’ गरेको आरोपमा कैयौं उच्च अधिकारीहरूलाई गिरफ्तार गरिएको थियो । ती घटनाक्रमपछि हुसेनले आदिवासी समूहका नेताहरूलाई भेटेका थिए । त्यस भेटका क्रममा उनले केही सहयोग सुनिश्चित गरेको दाबी गरिएको थियो ।

इजिप्ट र साउदी अरबसहितका क्षेत्रीय शक्तिहरूले राजा अब्दुल्लाहको समर्थनमा बोलेका छन् । इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा आफूसँग गठबन्धन गरेको जोर्डनको राजसंस्था अमेरिकाको मुख्य साझेदार हो ।

राजकुमार हम्जाह पूर्वराजा हुसेन र उनकी प्रिय रानी नूरका जेठा छोरा हुन् । उनले यूकेको ह्यारो स्कुल र रोयल मिलिटेरी एकेडेमीमा अध्ययन गरेका हुन् । जोर्डनको सेनामा समेत काम गरेका हुसेनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढेका थिए ।

उनी सन् १९९९ मा जोर्डनको युवराज घोषित भएका थिए । राजा हुसेनले उनलाई पटक–पटक ‘मेरो आँखाको खुसी’ बताउने गरेका थिए । तर राजा हुसेनको मृत्यु हुँदा उमेर र अनुभव निकै कम भएको भन्दै उनलाई उत्तराधिकारी चयन गरिएन । त्यसबेला राजगद्दी सम्हाल्न पाएका अब्दुल्लाह (हालका राजा) ले सन् २००४ मा उनको युवराजको पदवी छिनेका थिए ।

मध्यपूर्वमा अमेरिकाको मुख्य साझेदार जोर्डनमा उच्च तहका राजनीतिक गिरफ्तारीलाई निकै दुर्लभ मानिन्छ । जोर्डनको गुप्तचर निकाय निकै शक्तिशाली भएकाले त्यस्ता घटना पहिले नै थाहा हुने कतिपयको भनाइ छ । अझ कोरोना भाइरसको महामारीपछि उक्त निकायलाई थप शक्ति बनाइएको छ ।

तर पछिल्ला घटनाहरूले त्यहाँको शाही संकट नियन्त्रणबाहिर गएको जस्तो देखिएको बीबीसीले उल्लेख गरेको छ । केही अघिदेखि नै खराब अवस्थामा रहेको अर्थतन्त्र कोरोना भाइरसको महामारीका कारण थप बिग्रेपछि मानिसहरूमा निराशा बढेको छ । त्यसका साथै जोर्डनमा सिरियाबाट आएका कैयौं शरणार्थीसमेत छन् ।

प्रकाशित : चैत्र २३, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?