कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ताइवान रेल दुर्घटनामा मृत्यु हुने ५१, १४६ जना घाइते

एजेन्सी

ताइपेई — ताइवानको हुवालिनमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा रेल चालकसमेत छन् ।

ताइवान रेल दुर्घटनामा मृत्यु हुने ५१, १४६ जना घाइते

तीव गतिमा गुडिरहेको रेल स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ९ बजे निर्माणका लागि प्रयोग भइरहेको लरीसँग ठोकिएको थियो । घटनामा १ सय ४६ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । तीव्र गतिमा गुडिरहेको रेलले पूर्वी ताइवानको हुवालिनस्थित एक सुरुङमा लरीलाई ठक्कर दिएपछि लिक छाडेको थियो ।

राजधानी ताइपेइदेखि दक्षिणपूर्वी सहर ताइतुङ जाँदै गरेको रेलमा ४ सय ९६ जनाले यात्रा गरिरहेका थिए । ताइवान सरकारका अनुसार बिदा मनाउन हिँडेका मानिसहरूका कारण रेलमा सिट क्षमताभन्दा बढी यात्रु थिए । अधिकारीका अनुसार करिब १ सय २० जना उभिएरै यात्रा गरिरहेका थिए ।

‘मानिसहरू एकमाथि अर्को लडिरहेका थिए,’ दुर्घटनामा घाइते महिलाले स्थानीय एक टेलिभिजनसँग भनेकी छन्, ‘दुर्घटना निकै भयानक थियो । कतिपयका परिवारै सवार थिए ।’ रेलमा सवार यात्रुमा अधिकांश पर्यटक तथा बिदा मनाउन हिँडेकाहरू थिए ।

ताइवान रेल विभागका कार्यकारी निर्देशक फेङ हुई–शेङका अनुसार दुर्घटना भएको स्थान नजिकै सडक आयोजनाको काम भइरहेको थियो । सडकमाथिको पहिरो नियन्त्रणका लागि सामग्री ढुवानीमा प्रयोग भइरहेको लरीमा रेल ठोक्किएको हो । अग्नि नियन्त्रण विभागले सार्वजनिक गरेको तस्बिरमा ८ वटा डिब्बा भएको रेलको करिब आधाजसो भाग लिकमै रहेको देखिन्छ ।

घटनापछि प्रहरीले नियन्त्रणमा लिएका सडक आयोजनाका व्यवस्थापकलाई अभियोजन विभागले धरौटीमा छाडेको छ । सेन्ट्रल न्युज एजेन्सीका अनुसार उनी १५ हजार अमेरिकी डलर तिरेर छुटेका हुन् । उनीमाथि ‘लापरबाहीका कारण मानिसहरूको ज्यान गएको’ अभियोगमा मुद्दा दायर हुन सक्ने जनाइएको छ ।

ताइवानी अधिकारीहरूले उक्त घटनालाई ७३ वर्षयताकै खराब भनेका छन् । यसअघि सन् २०१८ मा ताइवानमा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । घटनामा १ सय ७५ जना घाइते भएका थिए । मन्त्रालयका अनुसार सन् १९८१ मा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो । सन् १९४८ मा ताइपेइस्थित सियानडियान जिल्लामा रेलका ४ वटा डिब्बामा आगो फैलिएपछि ६४ जनाको ज्यान गएको थियो ।

प्रकाशित : चैत्र २१, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?