बीबीसी संवाददाताले देश छाडेपछि चीनको ‘आक्रोश’

‘प्रेस स्वतन्त्रताका नाममा हामी झूट समाचार र दुर्भावनासाथ चीनलाई घेर्ने प्रयासलाई सफल हुन दिने छैनौँ ।’
इकान्तिपुर डेस्क

काठमाडौँ — चीन सरकारले बीबीसी संवाददाता जोन सडवर्थले चीन छोडेर गएको तरिकामाथि प्रश्न उठाएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले अनौपचारिक रुपमा चीन छाडेको बताएकी हुन् ।

बीबीसी संवाददाताले देश छाडेपछि चीनको ‘आक्रोश’

साथै सडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिएको र औपचारिकता पूरा नगरेको पनि प्रवक्ता चुनयिङले बताएकी छिन् ।

‘सिनजियाङ प्रान्तका नागरिकले उनीविरुद्ध मुद्दा हाल्छन् भन्ने डर उनलाई थियो भने उनी यहीँ बसेर मुद्दा लड्नुपर्थ्यो । किनकी उनले आफूले झूटो रिपोर्टिङ नगरेको दाबी गरिरहेका छन् ।’

बीबीसीको प्रेस टिमले मार्च ३१ मा संवाददाता जोन सडवर्थ बेइजिङबाट ताइवान सरेको जानकारी दिएको थियो । बीबीसी प्रेस टिमले भनेको थियो, ‘चीन संवाददाताका रुपमा जोन सडवर्थले प्रशंसायोग्य काम गरेका थिए । उनीमाथि संस्था गर्व गर्छ । चिनियाँ प्रशासनले विश्वसामु लुकाउन खोजेको कुरा जोनले बाहिर ल्याएका थिए ।’

प्रवक्ता हुआ चुनयिङ भन्छिन्, ‘जोन सडवर्थलाई आफ्नो सुरक्षाको चिन्ता थियो भने प्रहरीसँग सम्पर्क गर्नुपथ्र्यो । तर उनले भाग्ने निर्णय किन गरे ? उनी यति छिटो चीनबाट किन गए ? उनलाई के कुराको डर थियो । हामी यो कुरा बुझ्छौं, त्यो अपराधवोधग्रस्त हुनु ।’

चिनियाँ विदेश मन्त्रालयले बीबीसीमाथि कोरोना महामारी र सिनजियाङसँग सम्बन्धित विषयमा झूटो समाचार प्रसारण गरेको आरोप लगाएको छ । प्रवक्ता चुनयिङले बीबीसीले जानजानी चीनलाई निशाना बनाएको आरोप लगाएकी छिन् । चीन सरकारले जोन सडवर्थको प्रेस कार्ड रद्द गर्नुका साथै चीनमा आवासीय पत्रकारका रुपमा रहेको उनको दर्जा पनि रद्द गरिदिएको थियो ।

जोन सडवर्थले चीन छाडेपछि चिनियाँ कम्युनिस्ट पार्टीमाथि मनगढन्ते आरोप लगाइएको पनि प्रवक्ता चुनयिङको भनाइ थियो । तथ्यलाई तोडमरोड गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमाथि आरोप लगाएको पनि उनको भनाइ छ । उनले भनिन्, ‘तपाईं चीनलाई मन पराउनुहोस् वा मन नपराउनुहोस् त्यो तपाईंको कुरा हो । तर हामी तपाईंलाई चीनको साखमाथि धब्बा लगाउने अनुमति दिँदैनौँ । हामीले दोस्रो मुलुकबाट चीनमा रिपोर्टिङका लागि आएका पत्रकारहरुका लागि सुविधा दिँदै आएका छौँ । उनीहरुलाई सहयोग गर्दै आएका छौँ ।’

उनी अगाडि भन्छिन्, ‘हामी भविष्यमा पनि यसलाई निरन्तर जारी राख्छौँ । तर पश्चिमा मिडियाले तथ्यभन्दा आफ्नो विचारधारालाई माथि राख्ने कामलाई निरन्तरता दिइराखे उनीहरुको विश्वसनीयतामै धक्का लाग्नेछ । हामी चीनविरुद्ध बनाइएको वैचारिक पूर्वाग्रहको विरोध गर्छौँ ।’

चीनमा कार्यरत विदेशी पत्रकारप्रति लक्षित गर्दै प्रवक्ता चुनयिङले भनिन्, ‘आफ्नो पेसाको नैतिकता कायम राख्नुहोस्, त्यसलाई उल्लंघन नगर्नुहोस् । प्रेस स्वतन्त्रताको नाममा हामी झूट समाचार र दुर्भावनाका साथ चीनलाई घेर्ने प्रयासलाई सफल हुन दिने छैनौँ ।’

प्रकाशित : चैत्र २०, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?