फ्रान्समा फेरि चार हप्ताका लागि कडा लकडाउन घोषणा

ददि सापकोटा

पेरिस — कोरोना भाइरसको उत्परिवर्तित (म्युटेन्ट) रुपको महामारी फेरि चर्किएपछि फ्रान्समा शनिबारदेखि लागू हुनेगरी कडा लकडाउन घोषणा गरिएको छ । बेलायती स्वरूपको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि बुधवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोंले कडा लकडाउन घोषणा गरेका हुन् ।

फ्रान्समा फेरि चार हप्ताका लागि कडा लकडाउन घोषणा

सरकारी अस्पतालहरुको सघन उपचार कक्षमा पाँच हजार बिरामीहरु भर्ना भएपछि स्वास्थ्य प्रतिरक्षा परिषद (हेल्थ डिफेन्स काउन्सिल) को सुझाव अनुसार उनले यस्तो निर्णय लिएको फ्रान्सेली मिडियाहरुको भनाइ छ । उक्त सुझावलाई मन्त्रिपरिषदबाट पास गरिएको थियो ।

राष्ट्रपतिको सम्बोधनका अनुसार यसअघि खुला रहेका नर्सरी, स्कुल, कलेज र उच्च विद्यालयहरू तीन हप्ताका लागि बन्द रहने छन् । विश्वविद्यालयका विद्यार्थी भने हप्तामा एक दिन मात्रै कक्षामा प्रत्यक्ष सरिक हुन पाउने व्यवस्था गरिएको छ । लकडाउनका बेला आफ्ना बालबालिका घरैमा राख्न बाध्य हुने कर्मचारीहरुका लागि सहयोगीको व्यवस्था गरिनेछ ।

एस्ट्राजेनेका र जोनसन एण्ड जोन्सन कम्पनीबाट उत्पादित खोपलाई व्यापक रुपमा प्रयोग गर्न भेटेरनरी चिकित्सक र फार्मेसीका कर्मचारीसमेत परिचालन गरिएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

आगामी हप्ता विद्यार्थीहरुलाई पूरै घरमै राखिने छ र त्यसपछिका दुई हप्ता गर्मी यामको छुट्टी घोषणा गरिने छ । शिशु कक्षा, माध्यमिक स्कुल अप्रिल २६ अगाडि खोलिने छैनन् । निम्न माध्यमिक र माध्यमिक तहका विद्याहरुका लागि भने मे महिनाको ३ सम्म बन्द रहने छ । एक क्षेत्रबाट अर्को क्षेत्रबीचको आवतजावत इस्टर पर्वका बेला बाहेक निषेध गरिएको छ । यसअघि रहेको १९ प्रान्तमा मात्रै रहेको स्वास्थ्य प्रतिबन्ध निगरानीलाई फ्रान्सभरि लागू गराइने छ । होटेल, बार, रेस्टुरेन्टहरु सबै बन्द रहने छन् । रेस्टुरेन्टहरुले स्वास्थ्य सुरक्षा अपनाएर टेक वे सेवा दिन पाउने छन् । बन्द रहेका होटेल, रेस्टुरेन्ट र अन्य व्यवसायीहरुका लागि सामाजिक सहयोग रहने छ । बन्द रहेका व्यवसायका कर्मचारीले बेरोजगार भत्ता पाउने छन् ।

कोरोना भाइरसको महामारीले संक्रमितको संख्या अस्पतालहरुले धान्नै नसक्ने देखिएपछि राष्ट्रपतिले स्वास्थ्यकर्मीहरुलाईसमेत सहज हुनेगरी सुविधासम्पन्न १० हजार बेड थप गरिने बताएका छन् ।

भाइरसलाई नियन्त्रण गर्न प्रहरी अधिकारी र शिक्षकहरुलाई प्राथमिकताका साथ खोप दिइने छ । ५० देखि ६० वर्षका नागरिकलाई मे महिनाको १५ देखि खोप लगाउन सुरु गरिने छ भने त्यस मुनिकालाई जुन महिनाको मध्यदेखि सुरु गरिने पनि राष्ट्रपतिले उल्लेख गरेका छन् । ६० वर्षदेखि ७० वर्षका नागरिकले भने अप्रिल १६ देखि नै खोप लगाउन सक्ने छन् । आगामी अगस्ट महिनासम्ममा १८ वर्षमुनिका सबैलाई खोप लगाइसकिने छ । हाल एक हजार सात सय खोप केन्द्रहरु खुला रहेको पनि उनले बताए ।

कोरोना भाइरसको संक्रमणले हालसम्म फ्रान्समा ९५ हजारको ज्यान लिइसकेको छ । बेलायती स्वरुपको भाइरस फैलिएपछि संक्रमितहरुको संख्या तीव्र रुपमा बढिरहेको छ । मार्च महिनाको मध्यदेखि फ्रान्समा प्रत्येक दिन ३० हजार मानिस संक्रमित भइरहेको फ्रान्स २४ न्युजले उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?