१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अस्ट्रेलियाको ब्रिसबनमा पुन: लकडाउन

अस्ट्रेलिया — कोरोना भाइरसको नयाँ संक्रमण देखिएपछि क्विीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबनमा ३ दिनका लागि लकडाउन घोषणा गरिएको छ । राज्यकी प्रिमियर अनास्टासिया पलासेले समुदायमा भाइरसको संक्रमण फैलने जोखिम देखिएकाले ३ दिनका लागि लकडाउन गरिएको जनाएकी छन् ।

अस्ट्रेलियाको ब्रिसबनमा पुन: लकडाउन

अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा क्विन्सल्यान्डमा ४ जनामा नयाँ संक्रमण देखिएको छ । यसअघि गत जनवरीमा कोरोना भाइरसको संक्रमण तीव्र भए पनि ब्रिसबनमा लकडाउन गरिएको थियो । लकडाउनका कारण करिब २५ लाख जनतालाई असर पर्ने समाचारमा जनाइएको छ । प्रिमियर पालासेले लकडाउन यहाँ सार्वजनिक बिदा हुने इस्टर अगावै बिहीबार समाप्त हुने विश्वास व्यक्त गरेकी छन् ।

लकडाउनपछि भिक्टोरिया, तास्मानिया, पश्चिम तथा दक्षिण अस्ट्रेलियाले ब्रिसबनसँगको सीमामा कडाइ गरेका छन् । भाइरस प्रभावित क्षेत्रबाट आउने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखिने जनाइएको छ । यद्यपि न्यु साउथ वेल्सले भने तत्कालका लागि ब्रिसबनसँगको सीमामा कडाइ नगर्ने जनाएको छ । लकडाउनसँगै प्रभावित क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ भने कन्ट्याक ट्रेसिङलाई तीव्रता दिइएको बताइएको छ । लकडाउनसँगै प्रभावित क्षेत्रका बासिन्दाले अति आवश्यक कामबाहेक बाहिर निस्कन पाउने छैनन् भने परिवारका सदस्यबाहेक घरमा दुई जनाभन्दा बढीलाई भेट गर्न प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी प्रभावित क्षेत्रका विद्यालयसमेत मंगलबारदेखि बन्द गरिने स्थानीय समाचार संस्था एबीसीले जनाएको छ । क्विन्सल्यान्ड राज्यमा हालसम्म १ हजार ४ सय ५६ जनामा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ७६ जना निको हुन बाँकी छन् । ६ जनाको भने संक्रमणका कारण ज्यान गएको छ । हालसम्म २१ लाखभन्दा बढीमा भाइरसको संक्रमण परीक्षण गरिसकिएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?