अन्तर्राष्ट्रिय समुदायद्वारा म्यान्मार नरसंहारको निन्दा

 अन्तिम संस्कारमा सहभागी भएकामाथि सुरक्षाकर्मीद्वारा गोली प्रहार, आइतबार मारिए थप दुई प्रदर्शनकारी
एजेन्सी

यांगुन/वासिङ्टन — म्यान्मारमा शनिबार भएको सैनिक नरसंहारको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायतले लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको ‘चरम दमन अस्वीकार्य’ भएको बताएका हुन् ।

स्थानीय सैनिक शासनको विरोधमा शनिबार गरिएका प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गर्दा ११४ जना मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका थिए । राजनीतिक बन्दीका लागि सहयोगी संघ (एएपीपी) ले शनिबार सुरक्षाकर्मीले ९१ जना प्रदर्शनकारीको ज्यान लिएको पुष्टि गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले घटनाका कारण ‘अमेरिका मर्माहत भएको’ बताएका छन् । ‘सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्न पछि पर्दैनन् भन्ने देखाएको छ,’ ब्लिंकनले भने, ‘म्यान्मारका साहसी जनताले आतंकित पार्ने सैनिक शासन अस्वीकार गरेका छन् ।’ यसअघि अमेरिकी दूतावासले ‘म्यान्मारको सुरक्षा फौजले निहत्था नागरिकको हत्या गरिरहेको’ जनाएको थियो ।

त्यसैगरी, बेलायतसहित दर्जनभन्दा बढी देशका रक्षामन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गरी सैनिक दमको कडा निन्दा गरेका छन् । ‘व्यावसायिक सेनाले आचारसंहिताको अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्छ,’ अमेरिका, जापान तथा अस्ट्रेलियाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उसले जनतालाई संरक्षण गर्ने र क्षति नपुर्‍याउन जिम्मेवार रहन्छ ।’ संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि सैनिक ज्यादतीको घटनाले आफू ‘निकै स्तब्ध’ भएको बताएका छन् । त्यस्तै बेलायती विदेशमन्त्री डोमिनिक राबले ‘आफू अत्यन्तै निराश भएको’ जनाएका छन् । म्यान्मार मानवअधिकार नेटवर्क यूकेका निर्देशकले ‘म्यान्मारको सेनाले उसको कुनै सीमा र सिद्धान्त नभएको’ देखाएको बताए । ‘यो नरसंहार हो । अब यसलाई कुनै कारबाही मान्न सकिँदैन,’ क्याव विनले भने ।

अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि यसअघि नै प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । चीन र रुसले भने हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । राष्ट्रसंघीय सुरक्षा परिषद्मा भिटो अधिकार भएका ती देश मौन रहनुको अर्थ म्यान्मार सरकारविरुद्ध कदम चाल्न परिषद्लाई अप्ठ्यारो देखिन्छ । यसैबीच, म्यान्मारको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका स्थानीयमाथि पनि गोली चलाएको छ । यांगुन नजिकैको बागोमा शनिबार सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सेनाले गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा मृत्यु हुनेको संख्या भने यकिन भइसकेको छैन ।

‘हामीले उनका सहादतको सम्मान गर्दै क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आएर अन्धाधुन्ध गोली चलाए । गोली चल्न थालेपछि हामी भाग्यौं,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन् । आइतबार भएको एक छुट्टै घटनामा सेनाको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै म्यान्मारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको हो । चुनावमा लोकतन्त्रवादी नेत्री आङ सान सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक बहुमत ल्याएको थियो । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने चुनावमा धाँधली नभएको बताउने गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेसँगै लोकतन्त्र पक्षधरहरूले आन्दोलन चर्काएका हुन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दैनिकजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । शनिबार ४० वटा सहरमा प्रदर्शनहरू गरिएको थियो । हालसम्मका प्रदर्शनमा ४ सय ४० जनाभन्दा बढीको ज्यान गइसकेको छ । तीमध्ये दुई दर्जन बालबालिका छन् । सैनिक सरकारले सत्ता कब्जा गरेसँगै एनएलडी प्रमुख सुचीलाई नियन्त्रणमा राखेको छ । उनीविरुद्ध हालसम्म ५ वटा मुद्दा लगाएको भए पनि त्यसविरुद्धका प्रमाण सार्वजनिक गरेको छैन । नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् । सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेता, पत्रकार तथा मानवअधिकारकर्मीलाई पनि पक्राउ गरिएको छ ।

सेना प्रमुख मीन ह्यालिङले शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै ‘देशमा निष्पक्ष चुनाव गर्ने’ बताएका थिए । तर ३० मिनेट लामो भाषणका क्रममा उनले चुनावको मितिबारे भने केही बताएनन् । सेनाले पछिल्लो समय दैनिक दर्जनौं प्रदर्शनकारीको ज्यान लिने गरेको भए पनि ह्यालिङले ‘सेनाले जनतालाई बचाउने’ दाबी गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र १६, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

रैथाने खानालाई बेवास्ता कतिन्जेल ?

सेफ सन्तोष शाहले बनाएर विदेशीलाई खुवाएका खानामध्ये कतिपय घरमै मज्जासँग बनाउन सकिन्छ तर ती पनि हामी बजारबाट किन्छौं ।
अरुणा उप्रेती

युकेमा ‘मास्टरसेफ : द प्रोफेसनल्स, २०२०’ को उपविजेता भएपछि सन्तोष शाहले बडो सम्मान पाए । हामीले उनको सफलतामा गर्व गर्‍यौं । तर, उनलाई विदेशीले ‘क्या बात’ भनेपछि मात्र सम्मान दिइयो । उनले जस्तै गरी घरका आमा, बज्यै, दिदी, फुपू, छोरीहरूले पकाएका खानालाई भने हामी अवहेलना गर्छौं ।

सन्तोषले नेपाली रैथाने खाना विदेशमा पकाएर खुवाएपछि, त्यस्ता खाना अंग्रेजी नाममा खोजी भयो । हामी आफ्नै भान्साका खानालाई अंग्रेजीमा भनेपछि ‘वाह, क्या राम्रो’ भनिहाल्छौं । घरमा अतिथि बोलाउँदा स्वास्थ्य बिगार्ने पिज्जा र केक ल्याएर खुवाउँछौं । उनीहरूलाई दाल, भात, तरकारी, रोटी, अचार र साग दिन हामीलाई लाज लाग्छ । त्यसै गरी पाहुनालाई मोही, कागती र बाबरीको सर्बत दिन पनि हिचकिचाउँछौं । तर ‘स्वास्थ्य बिगार्ने गुलियो पेय पदार्थ’ मनग्य खुवाउँछौं । बदाम किनेर ल्याई छोडाएर पाहुनालाई दिन लाज मान्छौं, तर ‘पिनट प्याकेट’ दिन भने गर्व गर्छौं । चना भुटेर दिन हिचकिचाउने हामी प्याकेटको नुनिलो ‘ग्रिन पिज’ दिन्छौं ।

कुनै विदेशीले ‘दूध खाए मुटुमा बोसो लाग्छ’ भनेपछि हामी गाईको दूध छोडेर भटमासको दूध खान्छौं । खाना खाँदा के–कति पोषण तत्त्व शरीरलाई चाहिन्छ भनेर ‘वैज्ञानिक तरिकाले’ हाम्रा पुर्खालाई थाहा थिएन, उनीहरूले शुद्ध खाए । अहिले विदेशी वैज्ञानिकले भनेपछि हामी अनेक शुद्ध पोषक तत्त्वबारे कुरा गर्छौं तर हजारौं वर्षदेखि हाम्रा पुर्खाले यसबारे बताएका कुरा बिर्सन्छौं । तिल, आलस, अमला, अम्बा आदि हाम्रो दैनिक जीवनका अंग थिए । तर, अहिले यसबाट पाइने तत्त्वका लागि हामी ट्याबलेट/चक्की खान सहज मान्छौं । यसरी चक्की किन्दा यी सबै हाम्रा भान्सामा सजिलै पाइन्छन् भन्ने बिर्सन्छौं । कोरोना महामारीका बेला विदेशी पोषणविद्ले ‘हाम्रो शरीरमा भिटामिन सी र भिटामिन डी कमी भए भाइरसले झनै च्याप्ने सम्भावना हुन्छ’ भनेपछि सबैजसोले यस्ता चक्की किनेर खाए । हामीलाई हेक्कै भएन हाम्रैवरिपरि पाइने कागती, अमला, अम्बा, हलुवावेदजस्ता फलफूलले भिटामिन सी मात्र होइन, अनेक किसिमका अन्य पौष्टिक तत्त्व पनि दिन्छन् भनेर ।

विदेशीले ‘क्यालोरिफाइड बटर’ खाए राम्रो हुन्छ भने, हामीले तिनका कुरा आँखा चिम्लेर मान्यौं । ‘बटर’ ल्याएर खायौं तर त्यो महँगो ‘बटर’ हाम्रै घरमा पाइने घिउको एक रूप हो भन्ने बिर्सियौं । घरमा सजिलै पाइने बाबरीको पातलाई वास्ता नगर्ने हामी ‘मिन्ट वाटर’ भनेर बोतलमा आएपछि महँगोमा किन्दाचाहिँ दंग पर्‍यौं ।

विदेशीको नक्कल गरेर हामीले खानेकुराको भन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राका बारेमा बढी बुझ्यौं । ‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं । मैले अहिलेसम्म आफ्नो भान्साको खानेकुरामा कति ग्राम प्रोटिन वा कति मिलिग्राम सूक्ष्म पोषक तत्त्व पाइन्छ भनेर हेरेकी छैन ।

म खोले, भात, तरकारी, रोटी, खिचडी, हलुवा, बदाम र गुडको लड्डु, कागती–पानी, मोही, दही, दूध खान्छु । मैले अनेक थरीका भिटामिनको एक क्याप्सुल पनि खाएकी छैन । गर्भवती हुँदा पनि मैले आइरन चक्की खाइनँ । किनभने मेरो खाना (रोटी, भात, खिचडी) मा पर्याप्त लौहतत्त्व थियो । यी खानेकुरा खाँदा अनेक रोगसँग लड्ने शक्ति बढ्छ अनि अस्पताल र औषधिको खर्च पनि बच्छ; आर्थिक रूपमा पनि हामी सबल बन्छौं । अफसोस, प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौं; अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौं । पैसा तिरेर रोग ल्याउन तयार रहन्छौं । सन्तोषले बनाएर विदेशीलाई खुवाएका खानामध्ये कतिपय घरमै मज्जासँग बनाउन सकिन्छ तर त्यो पनि हामी बजारबाट किन्छौं ।

फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं तर ‘पम्पकिन सुप’ खान पाउँदा भने आनन्द मान्छौं । ‘पम्पकिन’ र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरै अर्को हुने थियो । थाहा नपाउनेले ‘सोयाबिन’ वाह भनेर खान्छन्, भटमासको वास्तै गर्दैनन् । भुटेको भात ‘छ्या’ हुन्छ, तर होटलमा गएर ‘फ्राइड राइस’ का लागि बढी पैसा तिर्दा आनन्द लाग्छ । किन हामीलाई भोजनमा पनि अंग्रेजी मोह ? अंग्रेजी भाषामा भनिएका खाना राम्रो, नेपाली भाषाका परिकार नराम्रो भन्ने मानसिकताले जरो गाडेको छ । मौलिक खानालाई बेवास्ता गरेर बजारका खाना बालबालिकालाई दिँदा कुपोषण भएको हेक्कै हुँदैन हामीलाई । गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यति वास्ता गरिन्न किनभने ती रंगीचंगी प्याकेटमा आउँदैनन् । तर, प्याकेटमा आएका महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ ।

फर्सीको खीर खुवाउनुपर्छ भन्ने संस्थाहरूले कुभिन्डो, लौका वा इस्कुस पनि स्वास्थ्यकर हुन्छ भनी ज्ञान दिँदैनन् । फर्सी नहुने ठाउँमा कुभिन्डो वा लौका फल्यो भने पनि कसैले वास्ता नगर्नाले कुहिएर जान्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला । तर भोलि ‘अंग्रेजी’ जान्ने मान्छे आएर कुभिन्डो, इस्कुस वा लौकाको महत्त्वबारे बोल्यो भने हामी उसको कुरा मान्छौं ।

पम्पकिनको यसरी नै प्रचार भइरहे, केही समयपछि विदेशबाट प्याकेटमा आउने ‘पम्पकिन नट’ बेचिनेछन् सुपरमार्केटमा । अनि केही समयपछि महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्यकर्मीहरूले ‘पम्पकिन नट खाऔं, कुपोषणबाट बचौं’ भन्नेछन् । ‘पम्पकिन नट’ बालबालिकालाई दिनेछन् । सुदूरपश्चिमका सबै गाउँमा यही ‘पम्पकिन नट’ लगेर बेचिनेछ । फर्सीको तरकारी पकाउन झन्झट गर्नुको साटो ‘पम्पकिन नट’ खाए भैहाल्छ भनिनेछ । खानासम्बन्धी रैथाने ज्ञानको खोजी गर्नमा हामी पछाडि छौं ।

हजुरआमाहरूसँग भएका ज्ञानको आदर गर्दैनौं, त्यसबारे छलफल गर्दैनौं । रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर दिगो विकास हुन सक्दैन । हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौं । कोदोको रोटीको सट्टा ‘प्यान केक’ खान्छौं । भान्साको खानेकुराले कुपोषण कम हुन्छ भन्ने विचारलाई अवहेलना गर्छौं । यस्तो बानी कहिले छुट्ला ?

केही दिनअघि गाउँ जाँदा मैले बाटामा फलेको कर्कलो टिपेर घर ल्याएँ, त्यसलाई सुकाएर गुन्द्रुक र मस्यौरा बनाएँ । त्यसपछि त्यसलाई फलामको भाँडामा पकाएर गोलभेंडाको अचार र भातसँग खाएँ । यसले शरीरलाई चाहिने लौहतत्त्व दियो । यो ज्ञान गाउँघरमा बाँड्न सकिए महिला र बालबालिकालाई रक्तअल्पताबाट बचाउन मद्दत पुग्ने थियो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा कर्कलो र कर्कलोको जरा अर्थात् पिँडालुको प्रयोग गरिन्छ । नेपालमा भने कर्कलो र पिँडालु खाने केही विशेष दिन भए पनि अरू बेला प्रायः अवहेलनै गरिन्छ । जताततै पाइने भएर यस्तो भएको होला । रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गरेकै बेस हुन्छ, सस्तो भन्दैमा हेप्नुपर्दैन । बजारमा पाइने प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर कसैले अंग्रेजीमा नबताएसम्म हामीले प्रयोग गर्न लाज मान्छौं । ‘सुपर फुड’ भनिने लट्टेको सागको तरकारी पाहुनालाई खुवाउँदा उनीहरूले अपमानित महसुस गर्न सक्छन् । तर जब त्यही लट्टे अंग्रेजी नाम दिएर ठूला होटलमा बेचिन्छ तब ‘उपयोगी’ मानिन्छ । सन्तोषले जस्तै अरू व्यक्तिले विदेशमा सफलता हासिल गरेपछि मात्र हामीले यी रैथाने बालीलाई वास्ता गर्छौं होला !

प्रकाशित : चैत्र १६, २०७७ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×