इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

एजेन्सी

कायरो — इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

सोहाग प्रान्तको तहता सहरमा दुईटा रेल आपसमा ठोकिएपछि रेलका डिब्बाहरू पल्टेका हुन् । लुक्सोरबाट अलेक्सान्द्रिया जाँदै गरेको रेल कायरोबाट अस्वान जाँदै गरेको रेलसँग जुधेको हो । घटनास्थल राजधानी कायरोबाट करिब ३ सय ६५ किलोमिटर टाढा पर्छ । घटनाबारे अनुसन्धान गर्न एक प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति अब्दुल फताह अल–सिसिले घटनाप्रति जिम्मेबारलाई कडा दण्ड दिइनुपर्ने बताएका बीबीसीले उल्लेख गरेको छ । ‘यस्तो दुखदायी दुर्घटना जो सुकैको बेवास्था, भ्रष्टाचार वा अन्य अनियमितताका कारण भएपनि त्यसलाई तुरुन्त कडा दण्ड दिनैपर्छ,’ उनले ट्वीट गरेका छन् ।

घटनालगत्तै उक्त स्थानबाट ६५ वटा एम्बुलेन्सले घाइतेलाई अस्पताल पुर्‍याएका थिए । समाजिक संजालमा सार्वजनिक तस्बिरहरूमा रेलका डिब्बाहरू पानीको नहर नजिकै पल्टेका देखिन्छन् । ‘मानिसहरूले ज्यान गुमाएका छन् । जीवितै उद्धार गरिएकालाई पनि हामीले बचाउन सकेनौं,’ घटनास्थलमा भेटिएका एक स्थानीयले घाइतेको उद्धारका लागि आवश्यक उपकरणहरू नभएको गुनासो गर्दै भने ।

दुर्घटनापछि घटनास्थल पुगेका प्रधानमन्त्री मोस्तफा मदबौलीले घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । समयमै मर्मत सम्भार नगरिँदा इजिप्टमा बारम्बार रेल दुर्घटना हुने गरेको छ । सन् २००२ मा इजिप्टको रेलमा फैलिएको भीषण आगलागीक कारण कम्तीमा ३ सय ७३ जनाको ज्यान गएको थियो ।

प्रकाशित : चैत्र १४, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?