२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चर्चित बालसाहित्यकार बेभर्ली क्लियरीको १०४ वर्षको उमेरमा निधन

काठमाडौँ — चर्चित बालसाहित्यकार बेभर्ली क्लियरीको निधन भएको छ । अमेरिकाको क्यालिफोर्नियामा उनको १ सय ४ वर्षको उमेरमा शुक्रबार निधन भएको प्रकाशन गृह हार्पर कोलिन्सले जनाएको छ ।

चर्चित बालसाहित्यकार बेभर्ली क्लियरीको १०४ वर्षको उमेरमा निधन

क्लियरीले सन् १९५० मा पहिलो पुस्तक ‘हेनरी हगिन्स’ प्रकाशन गरेकी थिइन् । त्यसपछि उनका ४०भन्दा बढी विभिन्न पुस्तकहरु प्रकाशित छन् । हार्पर कोलिन्सका अनुसार उनका पुस्तकहरु ८ करोड ५० लाख प्रतिभन्दा बढी बिक्री भएका छन् । त्यस्तै उनका पुस्तकहरुका विश्वका विभिन्न २९ भाषामा अनूदित भएका छन् ।

क्लियरीले आफ्ना पुस्तकमा आफ्नै युवावस्था र संघर्षका कुरालाई पनि कथा बनाएकी छिन् । बाबुले जागिर गुमाएको र आमा एक्लै भएका कथा पस्केर उनले समाजप्रति बालबालिकाको दृष्टिकोण पस्कने गरेकी थिइन् ।

क्लियरीले ६ कक्षामा पढ्दै गर्दा लेख्नका लागि प्रेरणा पाएको बताउँथिन् । वासिङ्टनको याकिमास्थित एउटा पुस्तकालयमा भेटिएको एउटा केटाको प्रेरणाले आफू लेखन क्षेत्रमा स्थापित भएको उनको भनाइ थियो । लस एन्जलससँगको कुराकानीमा उनले आफूले सामान्य बालबालिकाको कथा लेख्ने गरेको बताएकी थिइन् ।

बाल साहित्यमा अंग्रेजी विद्यालयका बालबालिकाको कथाको दबदबा भइरहेका बेला उनले सडक बालबालिकाको कथा लेखेकी थिइन् । रामोना किम्बीजस्ता लोकप्रिय पात्रका लागि क्लियरीलाई सधैँ सम्झिइनेछ । उनका पुस्तकमा साहसिक कथा, नैतिक शिक्षाभन्दा पनि बालबालिकाका दैनिक जीवनका कुरा ठट्यौली शैलीमा प्रस्तुत गरिएको पाइन्छ । उनका चर्चित पुस्तकहरुमा ‘बिजस एन्ड रामोना’, ‘राल्फ माउस’, ‘रिब्सी’, ‘द माउस एन्ड द मोटरसाइकल’, ‘हेनरी एन्ड द पेपर रुट’, ‘मिच एन्ड एमी’ लगायत छन् ।

क्लियरीको जन्म सन् १९१६ को अप्रिल १२ मा ओरेगन राज्यमा भएको थियो । क्लियरीका एक छोरा(माल्कोम) र एक छोरी(मेरियन) छन् । उनका श्रीमान् क्लारेन्स क्लियरीको सन् २००४ मा निधन भएको थियो ।

प्रकाशित : चैत्र १४, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?