उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

एजेन्सी

सोल — उत्तर कोरियाले जापानी समुद्रमा बिहीबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

तस्बिर : रोयटर्स/केसीएनए

जापानी समुद्रमा दुईवटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तरले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले धम्कीपूर्ण कार्यमा प्रयोग गरिएको जनाउँदै उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ ।

जापान र दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र हेर्ने कमान्डले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण ‘अवैध’ भएको दाबी गरेको छ । उत्तर कोरियाली कदम छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायका लागि खतराजनक रहेको कमान्डको प्रतिक्रिया छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने यसबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । उत्तर कोरियाले मंगलबार परीक्षण गरेका छोटो दूरीका क्षेप्यास्त्रका कारण अमेरिका नचिढिने बताएका थिए । त्यस्ता छोटो दूरीका क्षेप्यास्त्र परीक्षणका लागि भने राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छैन ।

उत्तर कोरियाली व्यापारी मुन चोल म्युङलाई मलेसियाबाट अमेरिका सुपुर्दगी गरेपछि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । म्युङले बिलासिताका वस्तुहरू उत्तर कोरियालाई उपलब्ध पठाउन अमेरिकी वित्तीय प्रणालीबाट रकम हिनामिना गरेको आरोप लगाइएको छ । उक्त कदमपछि उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।

उत्तर कोरियाको पछिल्लो कदम अमेरिका र उसका साझेदारहरूका लागि टाउको दुखाइको विषय बनेको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरिया रुष्ट बनेको हो । उक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले अमेरिकालाई ‘बारुदको दुर्गन्ध रोक्न’ यसअघि नै चेतावनी दिएकी थिइन् । त्यसको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्त्री लोएड अस्टिनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

सैन्य अभ्यासबारे किमले ‘दक्षिण कोरिया सरकारले फेरि अर्कोपटक युद्धको र संकटको खेल’ सुरु गरेको प्रतिक्रिया दिएकी थिइन् । उत्तर कोरियाली सर्वोच्च नेताकी बहिनी किम यो–जोङ निकै शक्तिशाली मानिन्छिन् ।

प्योङयाङसँगको तनाव कम गर्ने प्रयासस्वरूप बाइडेन प्रशासनले सम्पर्क कायम गर्न खोजे पनि असफल भएको जनाइएको छ । उत्तर कोरियाले हालसम्म जो बाइडेनलाई औपचारिक रूपमा अमेरिकी राष्ट्रपति स्वीकार गरिसकेको छैन । बाइडेनले गत जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । उत्तर कोरियाली परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण अमेरिकासँगको सम्बन्ध तनावपूर्ण छ ।

प्रकाशित : चैत्र १३, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

सजिनको गोलमा नुवाकोट युनाइटेड विजयी

रमेशकुमार पौडेल

चितवन — नुवाकोट युनाइटेड फुटबल क्लबले बिहीबार नारायणगढ क्याम्पाचौरमा सुरु विजय खड्गी स्मृति गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ । नुवाकोटले भरतपुर फुटबल क्लबलाई ३–० ले पराजित गर्‍यो । सुरुदेखि नै नुवाकोटले घरेलु टोली भरतपुरलाई दबाबमा राखेको थियो । खेलको १३ औं मिनेटमा नुवाकोटका सजिन थापामगरले पहिलो गोल गरे । गोलकिपर तथा कप्तान मनोज गुरुङ पोस्टभन्दा निकै अगाडि बढ्दा सजिनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

मध्यान्तरपछि १८ औं मिनेटमा नुवाकोटले फेरि सजिलो मौकामा गोल थप्यो । सिसोस थापाको गोलमा नुवाकोटले २–० को अग्रता बनायो । भरतपुरले सुधारिएको खेल प्रदर्शन गरे पनि गोल अवसर गुमाएको थियो । दोस्रो गोल खाएलगत्तै भरतपुरका रञ्जित आलेको फ्रिकिक प्रहार पोस्ट माथिबाट बाहिरियो ।

भरतपुरले केही राम्रा प्रहार नुवाकोटका गोलकिपर सुदीप गिरीले विफल पारेका थिए । दोस्रो हाफको ३३ औं मिनेटमा नुवाकोटका सजिन थापाले गोल गरे । दुई गोल गरेका उनी प्लेयर अफ दी म्याच घोषित भए । उनले ५ हजार पाए । शुक्रबार रूपन्देहीका दुई टिम फर्साटिकर फुटबल क्लब र सुनौलो संगम बुटबलबीच प्रतिस्पर्धा हुनेछ । फाइनल चैत २१ मा हुनेछ । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

चितवनका विजय खड्गी एन्फा एकेडेमीको २०५७ सालको ब्याचका खेलाडी थिए । बी डिभिजनबाट खेल्ने विजय चितवनका उत्कृष्ट खेलाडीमा पर्दथे । रोजगारीलाई कतार गएका उनको त्यही निधन भएको थियो । प्रतिभावान खेलाडीको सम्मानमा नयाँ खेलाडीलाई प्रेरित गर्न चितवन जिल्ला फुटबल संघले उनको स्मृतिमा प्रतियोगिता गरेको संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।

प्रकाशित : चैत्र १३, २०७७ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×