३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारत र अमेरिकाले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा जोड दिएका छन् । भारत भ्रमणमा रहेका अमेरिकाका रक्षामन्त्री लायड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीचको भेटमा दुवै पक्षले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड दिएका हुन् । अस्टिन र सिंहबीच सैन्य र रक्षा साझेदारीलाई थप फराकिलो गर्दै जाने समझदारी पनि बनेको छ । 

अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

तीन दिने भारत भ्रमणका क्रममा दोस्रो दिन शनिबार अस्टिन र भारतीय समकक्षी सिंहबीच एक घन्टा लामो भेटवार्ता भएको थियो । दुई देशका उच्च अधिकारीसहितको उक्त भेट विशेषगरी सैन्य साझेदारी विस्तार र हिन्द–प्रशान्त रणनीति, सैन्य साझेदारी र चीनका विषयमा केन्द्रित रहेको बताइएको छ । ‘बैठक निकै बृहत् र उपलब्धिमूलक भयो । बैठक विशेषगरी सैन्य साझेदारीमा केन्द्रित रह्यो । बहुपक्षीय अभ्यासहरुको समीक्षा भयो । साथै भारतीय सेना र अमेरिकी सेनाको इन्डो–प्याासिफिक कमाण्ड, सेन्ट्रल कमाण्ड र अफ्रिका कमाण्डबीच साझेदारी बढाउने सहमति पनि भयो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय रक्षामन्त्री सिंहले भने ।

त्यसैगरी भारत–अमेरिका बृहत् विश्वव्यापी रणनीतिक साझेदारीलाई पूर्ण कार्यान्वयनमा लैजान पनि दुवै पक्षले प्रतिबद्धता गरेको सिंहले बताएका छन् । भारत र अमेरिकाले गत वर्ष बृहत् विश्वव्यापी रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । बैठक दुई देशबीचका लेमोआ, कोमकासा, बेकालगायत सैन्य सम्झौताको कार्यान्वयनमा समेत केन्द्रित भएको सिंहले जानकारी दिएका छन् । साथै उनले अघिल्लो साता सम्पन्न भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीच भएको क्वाड शिखर वार्तामा पनि स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमै जोड दिएको जनाएका छन् । गत १२ मार्चमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरुबीच भर्चुअल सम्वाद भएको थियो । चीनले क्वाडलाई ‘मिनि नेटो’ भन्दै विरोध गर्दै आएको छ । यद्यपि क्वाड सदस्य मुलुकहरुले भने यो साझेदारी कुनै मुलुकको विरुद्ध नभएको दाबी गर्दै आएका छन् ।

त्यसैगरी अमेरिकी रक्षामन्त्री अस्टिनले विश्वको तीव्ररुपमा बद्लिँदो परिस्थितिका अमेरिकाका लागि भारत महत्वपूर्ण साझेदार भएको उल्लेख गरेका छन् । ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका लागि भारत र अमेरिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण छ’ अस्टिनले पत्रकार सम्मेलनमा भने । साथै उनले अमेरिका भारतसँग बृहत् र दीर्घकालिन रक्षा साझेदारीका लागि अमेरिकाको प्रतिबद्धता समेत दोहोर्‍याएका छन् ।

क्वाड साझेदारी, अमेरिका र भारतको चीनसँगको सम्बन्धका कारण अस्टिनको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । हिन्द–प्रशान्त रणनीतिलाई चीनको विश्वशक्ति बन्ने आकांक्षालाई ‘अंकुश’ लगाउने अमेरिकी रणनीतिका रुपमा अर्थ्याउने गरिएको छ । यद्यपि अमेरिकी उच्च अधिकारीहरुले यो कुनै मुलुक लक्षित नभएर हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता कायम गर्नु रहेको बताउँदै आएका छन् । विशेषगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) एसियाली मुलुकहरुको बढ्दो आबद्धता अमेरिकाका लागि पछिल्लो समय टाउको दुखाई बन्दै गएको छ । त्यसका लागि पनि हिन्द–प्रशान्त रणनीति (आईपीएस) मा भारतको सक्रिय सहभागिता अपरिहार्य हुने अमेरिकाको बुझाई छ । त्यही भएर नै विगत केही वर्षयता अमेरिकाले भारतसँगको साझेदारीलाई विशेष जोड दिँदै आएको विश्लेषकहरुको बुझाई छ । अस्टिनको भारत भ्रमणलाई पनि अमेरिकाको त्यही रणनीतिको निरन्तरता ठानिएको छ ।

अस्टिन तीन दिने भ्रमणका लागि शुक्रबार दिल्ली आइपुगेका हुन् । उनले शुक्रबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटेका थिए । जोय बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित भएयता भारत भ्रमणमा आउने अस्टिन पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।


प्रकाशित : चैत्र ७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?