कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ खोप लगाउने विदेशीलाई चीन प्रवेश खुला

लक्ष्मी लम्साल

बेइजिङ — विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।

चिनियाँ खोप लगाउने विदेशीलाई चीन प्रवेश खुला

निश्चित सर्त तोकेर अंग्रेजी महिना मार्चको १५ तारिखयता चिनियाँ खोप लगाएका व्यक्तिलाई चीन प्रवेश गर्न भिसा प्रक्रिया सहज बनाउने ती दूतावासहरूले बताएका हुन्।

चिनियाँ सञ्‍चारमाध्यमहरूले मंगलबारसम्ममा ७० वटा मुलुकमा रहेका चिनियाँ दूतावासहरूले तत्‌तत् देशका नागरिकका लागि ‘चीनमा उत्पादित कोभिड-१९ खोप’ लगाएको हुनुपर्ने सर्त राखेर सूचना जारी गरेको बताएका छन्। कोरोना महामारीविरुद्धको कडा नीति अपनाउँदै चीनले केही सर्तमा मात्रै विदेशीलाई चीन प्रवेश गर्न दिने बताएको हो। तोकिएका सर्तहरूमा चीनमा काम गर्ने भिसा पाएको व्यक्ति, चीनमा कार्यरत व्यक्तिको परिवारजन, चिनियाँको परिवारजन वा चीनमा स्थायी बसोबास भएको आफन्तको सदस्य लगायतका सर्त राखिएको छ। पछिल्ला सर्तसँगै विश्वमा कोभिड फैलिनुअघिका दस्तावेजहरू पनि संलग्न गर्नुपर्ने नियम भने यथावत नै छ।

चिनियाँ परराष्ट्र मन्त्रालयले निर्धारित प्रक्रियाका अलावा कोभिड-१९ परीक्षणको नेगेटिभ नतिजा, न्युक्लिक एसिड र आईजीजी एन्टीबडी परीक्षणलगायत पनि अनिवार्य रहेको जनाएको छ। ‘चीनको यो कदमको अर्थ यात्रुको सुरक्षा तथा प्रभावकारिता ख्याल गरी यात्रालाई सुविधाजनक बनाउन हो,’ मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भने। उनले भ्याक्सिनको मान्यताका लागि पछिल्ला दिनहरूमा चीनले अन्य देशहरूसँग संवाद गर्नका लागि तयार रहेको पनि बताए।

चीनले उत्पादन गरेको कोभिडको खोप अहिलेसम्म ५६ वटा मुलुकमा पुगेको छ। त्यसैले चिनियाँ खोप नपुगेका मुलुकका नागरिकलाई पनि चिनियाँ खोप लगाएर चीन प्रवेश गर्न सहज छैन। चीनले अनुदानमा दिने घोषणा गरेर खोप नपुगेको मुलुकमध्ये नेपाल पनि हो। नेपालले भर्खरै मात्र बेइजिङबाट खोप लैजान प्रक्रिया थालेको छ। श्रोतका अनुसार नेपाल एयरलाइन्सको विमान छिट्टै बेइजिङमा उत्रिने तय भएको छ। चीनले पटक पटक गरेर नेपाललाई ८ लाख खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ।

एक वर्षअघिदेखि विश्वमा फैलिएको कोरोना भाइरसका कारण चीनमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरू अनलाइन कक्षा लिन बाध्य भएका छन् । चिनियाँ खोप लगाएको व्यक्तिलाई चीनमा घुम्नका लागि तोकिएका सर्तहरूमा विद्यार्थीका बारेमा भने केही भनिएको छैन।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले विद्यार्थीहरूलाई बोलाउने बारेमा अहिलेसम्म कुनै निर्णय सुनाएको छैन। दूतावासका मिनिस्टिर सुशील लम्साल भन्छन्, ‘चीनले जुन दिन विदेशी विद्यार्थीलाई बोलाउने घोषणा गर्छ, नेपाली विद्यार्थीलाई पनि एक दिन ढिलो नगरी बोलाउनेमा दूतावास विश्वस्त छ।’

प्रकाशित : चैत्र ५, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?