कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विश्व स्वास्थ्य संगठनले भन्यो–अस्ट्राजेनेका खोप सुरक्षित

खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा सत्यता नरहेको अस्ट्राजेनेका कम्पनी र युरोपेली औषधि नियामक निकायको भनाइ
एएफपी

जेनेभा/बर्लिन — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप सुरक्षित रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले भन्यो–अस्ट्राजेनेका खोप सुरक्षित

खोपका कारण रक्तनलीमा रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको कतिपय देशको दाबीविपरीत डब्लूएचओका विज्ञहरूले खोप सुरक्षित रहेको दाबी गरेका हुन् । त्यसैगरी, अस्ट्राजेनेका कम्पनी र युरोपेली औषधि नियामक निकाय (ईएमए) ले पनि उक्त खोप सुरक्षित रहेको बताउँदै ‘खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा सत्यता नरहेको’ जनाएका छन् ।

डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सर्वसाधारणलाई ‘नआत्तिन र अस्ट्राजेनेका खोप लगाउने कार्यलाई निरन्तरता दिन’ आग्रह गरेकी छन् । ‘अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन,’ उनले भनिन् ।

डब्लूएचओ र ईएमएका विज्ञहरूले अस्ट्राजेनेका खोप अभियानसँग सम्बन्धित विवरणको अलग–अलग अध्ययन गर्ने बताएका छन् । ईएमएले अस्ट्राजेनेका खोपबारे विभिन्न देशहरूले गरेको दाबीबारे निर्णय लिन दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपेली क्षेत्रका कतिपय देशले खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै अस्ट्राजेनेका खोप लगाउन रोकेका छन् । मंगलबार जर्मनी, इटाली, फ्रान्स र स्पेनले पनि अस्ट्राजेनेका खोप लगाउन तत्कालका लागि रोकेको जनाएका छन् । यसअघि डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, बुल्गेरियाले पनि अस्ट्राजेनेका खोप प्रयोग रोकिसकेका छन् ।

विश्व बजारमा सबैभन्दा सस्तो अस्ट्राजेनेका खोप अर्थतन्त्र कमजोर भएका देशले प्रयोगमा ल्याउने सम्भावना छ । तर इन्डोनेसियाले सोमबार यो खोप लगाउन रोकेको छ भने भेनेजुएलाले प्रयोग नगर्ने घोषणा गरिसकेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप हालसम्म युरोपका १ करोड ७० लाख जनाले लगाइसकेका छन् । तर रगत जम्ने समस्या ३७ जनामा मात्र देखिएको र त्यो खोपका कारण नभएको अस्ट्राजेनेकाले जनाएको छ । खोप लगाएका अन्य मानिसमा भने गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खोपमा कुनै समस्या नरहेको भन्दै नागरिकलाई खोप लगाउन आग्रह गरेका छन् । तर भाइरस नियन्त्रणमा कठिनाइ भइरहेकै अवस्थामा अस्ट्राजेनेका खोपप्रति मानिसमा त्रास बढेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण मंगलबार साँझसम्म २६ लाख ६२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ३ लाख ३८ हजारभन्दा बढी संक्रमित छन् । भाइरसका कारण युरोपेली देश सबैभन्दा बढी प्रभावित छन् । नर्वेको राजधानी ओस्लोमा कोरोना भाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरू लगाइएको छ । माध्यमिक विद्यालय बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा संक्रमित भेटिएका थिए । ओस्लोका मेयर रेमन्ड जोहान्सेनका अनुसार पछिल्लो प्रतिबन्ध महामारी फैलिएयताकै कडा भएको जनाए । ‘यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ,’ उनले भने ।

बोस्नियामा संक्रमितको संख्या बढेसँगै अस्पतालहरू भरिएका छन् । जसका कारण सरकारले आपत्कालीन स्थितिको घोषणा गरेको छ । ‘हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरू बिरामी पर्न थालेका छन्,’ कोरोना अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेखेका छन् ।

इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । स्कुल, रेस्टुराँ, पसल र संग्रहालय बन्द गरिएको छ । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरूले देशमा भाइरसको तेस्रो लहर सुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरू घोषणा गर्न अपिल गरेका छन् । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सोमबार नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरेका छन् । ब्राजिलमा पछिल्लो समय संक्रमित तथा मृतकको संख्या बढेको छ । भाइरसको महामारी नियन्त्रणका लागि खोप प्रभावकारी हुने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो । तर निर्यातमा गरिएको नियन्त्रण, कूटनीतिक असमझदारी, राजनीतिक तथा आर्थिक स्वार्थका कारण अस्ट्राजेनेका खोप प्रयोगमा स्थगन गरिएको कतिपयको विश्लेषण छ ।

प्रकाशित : चैत्र ४, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?