मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख डलर दिने
वासिङ्टन — अमेरिकाको मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख अमेरिकी डलर(करिब ३ अर्ब १३ करोड नेपाली रुपैयाँ) दिने भएको छ ।
मिनियापोलिस प्रशासन र पीडित परिवारबीच यो सहमति भएको हो । मिनियापोलिस सिटी काउन्सिलले उक्त घटनाको मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा पहिले नै सर्वसम्मतिले २ करोड ७० लाख डलरको सम्झौतलाई स्वीकृति दिएको हो ।
प्रहरी अधिृकत डेरेक चौभिनले घुँडाले थिचेपछि गत मे महिनामा फ्लोयडको मृत्यु भएको थियो । प्रहरीले फ्लोइडमाथि गरेको अत्याचारको भिडियो विश्वभर चर्चित भएको थियो । उक्त घटनापछि अमेरिकामा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा पनि ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो । प्रहरी अधिकृत चौभिनविरुद्धको मुद्दाको सुनुवाइका लागि ज्युरी छनोट प्रक्रिया जारी छ । १२ सदस्यीय ज्युरीमध्ये ६ जना छनोट भइसकेका छन् ।
फ्लोयडको मृत्यु प्रकरण के हो ?
प्रहरीको ज्यादतीका कारण मृत्यु भएको घटनाबारे सार्वजनिक भिडियोमा हतकडी लगाइएका फ्लोयडको घाँटीमा प्रहरीले घुँडा टेकेको देखिन्छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । उक्त भिडियो नजिकै रहेका एक बटुवाले खिचेर सार्वजनिक गरिदिएका थिए ।
विवाद कसरी सुरु भयो भन्नेबारे भिडियोमा देखिएको छैन । तर प्रहरी अधिकारी डेरेक चौविनले घाँटीमा घुँडाले टेकेपछि फ्लोयडले ‘मैले सास फेर्न सकिरहेको छैन, मलाई नमार’ भनेको सुन्न सकिन्छ । फ्लोयडको पोस्टमार्टम रिपोर्टमा उनमा मुटुको समस्या रहेको र प्रहरी अधिकारीको थिचाइले ‘उनको मृत्यु हुन सहयोग पुगेको’ उल्लेख छ ।
चौभिनले फ्लोयडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार फ्लोयडले प्रतिक्रिया नजनाएको ३ मिनेटपछिसम्म पनि चौभिनले घाँटी थिचिरहेका थिए । हेनेपिन मेडिकल सेन्टर लगिएका फ्लोयडलाई मृत घोषित गरिएको थियो । फ्लोयड ठगी आरोपमा पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
प्रकाशित : फाल्गुन २९, २०७७ १२:३७