३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

इक्वेटोरियल गिनीमा शृंखलाबद्ध विस्फोटमा ९८ जनाको मृत्यु, ६१५ घाइते

एजेन्सी

काठमाडौँ — अफ्रिकी देश इक्वेटोरियल गिनीको सैन्य शिविरमा भएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । सोमबार भएको विस्फोटमा कम्तीमा ६ सय १५ जना घाइते भएका बीबीसीले जनाएको छ ।

इक्वेटोरियल गिनीमा शृंखलाबद्ध विस्फोटमा ९८ जनाको मृत्यु, ६१५ घाइते

अधिकारीहरूले देशको मुख्य सहर बाटामा कृषकहरूले बाली भित्र्याएपछिका ठुटा जलाएका र सैन्य शिविरमा विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण घटना भएको जनाएका छन् ।

इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरो ओबिआङ निङ्ग्यामाले विस्फोटका कारण सबैजसो भवन र घरहरू ध्वस्त भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरूमा विस्फोटक पदार्थ विस्फोट भएसँगै धूवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।

विस्फोटपछि त्रसित मानिसहरू धूवाँको मुस्लोमाझ सुरक्षित स्थलतर्फ कुदेका टेलिभिजनका दृश्यहरूमा देखिन्छ । भग्नावशेषमा कैयौं मानिसहरू फसेका कारण मृतकहरूको संख्या बढ्न सक्ने जनाइएको छ । अधिकारीहरूका अनुसार उद्धार प्रयास भइरहेको जनाएका छन् ।

राष्ट्रपति निङ्ग्यामाले घटनापछि अन्तर्राष्ट्रिय सहयोगको आग्रह गरेका बीबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालयले ट्वीट गर्दै विस्फोटमा घाइते भएकामध्ये ३ सय १६ जना उपचारपछि घर फर्केका जनाएको छ । २ सय ९९ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्वयंसेवकहरूलाई बाटा क्षेत्रीय अस्पतालमा सहयोगका निम्ति पुग्न आग्रह गरेको छ । मन्त्रालयले रक्तदानका लागि पनि आम मानिसहरूलाई आह्वान गरेको छ ।

फ्रान्सका राजदूतले ‘विस्फोट भयानक’ भएको जनाउँदै ट्वीटमार्फत पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन् । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै अस्पताललाई चिकित्सा सामग्री उपलब्ध गराएको जनाइएको छ ।

स्पेनी दूतावासले सोमबार नै आफ्ना नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो । इक्वेटोरियल गिनी स्पेनी भाषा बोलिने एक मात्र अफ्रिकी देश हो । यो देश सन् १९६८ सम्म स्पेनको उपनिवेश रहेको थियो । तेल र ग्यासमा निकै धनी भए पनि इक्वेटोरियल गिनीका करिब ७६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?