कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ह्यारी र मेगनले खोले दरबार त्याग्नुको रहस्य

रंगभेदी प्रतिक्रियाका कारण मानसिक स्वास्थ्यमा समस्या पर्नुका साथै राजपरिवारभित्रको कठिन जीवनका कारण बाँच्ने इच्छा नै मरेको मेगनको भनाइ 
नवीन पोखरेल

लन्डन — राजपरिवारको वरिष्ठ सदस्यका रूपमा जिम्मेवारीबाट अलग्गिने घोषणा गरेर अमेरिका बस्दै आएको वर्ष दिनपछि बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्कल फेरि चर्चामा आएका छन् ।

ह्यारी र मेगनले खोले दरबार त्याग्नुको रहस्य

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व फेरि तरंगित भएको हो । अन्तर्वार्तामा उनीहरूले शाही परिवारसँगको सम्बन्ध तथा रंगभेदी प्रतिक्रियाका कारण आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभावजस्ता विषयमा मुख खोलेका छन् । बेलायती टेलिभिजन च्यानल आईटीभीले उक्त अन्तर्वार्ता सोमबार राति प्रसारण गरेको छ ।

अन्तर्वार्तामा डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने बातचित शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेगनकी आमा अश्वेत हुन् । उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।

व्यक्तिगत कुरा धेरै गरिएको अन्तर्वार्तामा मेगनले सन् २०१८ मेमा ह्यारीसँग विवाह भएपछि अवस्था बिग्रन सुरु भएको र सहयोग माग्दा पनि आफूले नपाएको बताएकी छन् । मेगनले डुक अफ एडिनबरा राजकुमार फिलिप (महारानीका श्रीमान्) अस्पताल भर्ना हुँदा गत महिना महारानीलाई फोन गरेको पनि बताएकी छन् । मेगनले अन्तर्वार्ताका क्रममा आफ्नो गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेकी छन् । उनीहरूको दोस्रो सन्तान छोरी यही गर्मीयाममा जन्मने जनाइएको छ । झन्डै दुई घण्टा लामो बहुप्रतीक्षित अन्तर्वार्तामा मेगनपछि ह्यारी जोडिएका थिए । राजकुमार ह्यारीले आफू जिम्मेवारीबाट अलग्गिन चाहेको बताएपछि बाबु राजकुमार चार्ल्सले आफ्नो फोनसमेत उठाउन छाडेका बताए । ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजावेथ द्वितीयासँग भने सम्बन्ध साँच्चिकै राम्रो भएको र उनीहरूले नियमित कुराकानी गर्ने बताए ।

ह्यारीले आफ्ना दाइ राजकुमार विलियम र बुबा राजकुमार चार्ल्स शाही परिवारको जञ्जालभित्र बाँधिएको पनि आरोप लगाए । तर, दाइ र पितासँग सम्बन्ध सुधार गर्न चाहेको पनि उनको भनाइ छ । ३६ वर्षीय राजकुमार ह्यारीले आफ्नी श्रीमती मेगनले मिडियाबाट जातिवादको सामना गरिरहँदा पनि परिवारले तीन वर्षसम्म केही नबोलेकामा चित्त दुखाएका छन् । दरबारले आफूहरूको संरक्षण नगरेको पनि उनीहरूको गुनासो छ । उनले गत वर्षको सुरुदेखि परिवारबाट आर्थिक सहयोग कटौती भएको पनि जनाए ।

सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिएपछि ह्यारी र मेगन आफ्नो पहिलो बच्चासहित अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । उनीहरूले गत महिना शाही परिवारका सदस्यका रूपमा नफर्कने पनि घोषणा गरिसकेका छन् । ह्यारी र मेगनले गत वर्ष दरबारको सुख सयल र विलासिता त्यागेर एकाएक सामान्य जीवन जिउने घोषणा गरेपछि शाही भूमिका परित्याग सम्बन्धमा महारानी एलिजावेथ द्वितीयाले लामो छलफल गरेर स्वीकृति जनाएकी थिइन् ।

गएको वसन्त ऋतुदेखि उनीहरूले ‘हिज, हर रोयल हाइनेस,’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङ्घम राजदरबारले घोषणा गरेको थियो । हालै प्रकाशित ‘फाइन्डिङ फ्रिडम’ नामक एउटा पुस्तकले ब्रिटिस राजकुमार ह्यारीको आफ्नी प्रेमिका मेगन मर्केलसँगको सम्बन्धलाई लिएर दाजु राजकुमार विलियमसँग तनाव बढेको दाबी गरेको थियो । राजकुमार ह्यारीले उनकी प्रेमिका मेगनलाई बिहे गर्नुअघि राजपरिवारका सदस्यहरूले उनीविरुद्ध अप्रिय टीकाटिप्पणी गरेको दाबी पुस्तकमा गरिएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यमहरूले आफूहरूविरुद्ध भ्रामक समाचार छापेको भन्दै ह्यारी–मेगन दम्पतीले कानुनी उपचारसमेत खोजेका थिए । उनीहरूले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरूको पिछा गरेका कारण चिन्तित भएको समाचार प्रकाशित भएका थिए । ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए ।

राजकुमार ह्यारीको साइनो नेपाल र गोर्खा सैनिकहरूसँग निकट छ । ह्यारीले ब्रिटिस गोर्खासँग र नेपालमा धेरै समय बिताएका छन् । महाभूकम्पलगत्तै नेपाल भ्रमण गरेका राजकुमार ह्यारीले उत्तरी गोर्खास्थित प्रभातकिरण विद्यालयको पुनर्निर्माणमा समेत सघाएका थिए । अन्नपूर्ण हिमशृंखला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य आफूले कहिल्यै नभुल्ने ह्यारीले बताउने गरेका छन् । कुनै बेला अफगानिस्तान युद्धमा सँगै रहेका ह्यारीले गोर्खा सैनिकहरूको व्यवहारबाट निकै खुसी र गर्व महसुस गर्ने गरेको बताउँछन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?