२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

म्यान्मारबाट भागेका प्रहरी फर्काउन भारतलाई आग्रह

एजेन्सी

यांगुन — म्यान्मार सरकारले फेब्रुअरी १ को सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ । आफ्नो निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न सैनिक सरकारले आग्रह गरेको  हो ।

म्यान्मारबाट भागेका प्रहरी फर्काउन भारतलाई आग्रह

भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् ।

म्यान्मारका अधिकारीहरूले भारतलाई एक पत्र पठाउँदै ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका बीबीसीले जनाएको छ । म्यान्मारमा फेब्रुअरी १ मा भएको सैनिक ‘कु’ पछि देशव्यापी विरोध प्रदर्शन र आमहडताल भइरहेका छन् ।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि व्यापक दमन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघका अुनसार प्रदर्शनका क्रममा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् । सांसद, पत्रकार, अधिकारकर्मीसहित १ हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिसकिएको राष्ट्रसंघले जनाएको छ ।

आइतबार पनि प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै देशका प्रमुख सहरहरूमा विरोध जनाएका छन् । सबैभन्दा ठूलो सहर यांगुन, दोस्रो ठूलो सहर म्यान्डले, राजधानी नेइपिडअलगायतमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, गोली र ग्रिनेड प्रहार गरेका जनाइएको छ ।

भारतीय प्रान्त मिजोरमको चम्फाई जिल्लाकी उपआयुक्त सीटी जुआलीले म्यान्मारको फालम जिल्लाबाट प्रहरी अधिकारीलाई फिर्ता गर्ने अनुरोध गर्दै पत्र पठाइएको पुष्टि गरेकी समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनका अनुसार पत्रमा ८ जना प्रहरी अधिकारी भारतका परेको जनाइएको छ । ‘दुई छिमेकी मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न भारत पुगेका म्यान्मारका ती प्रहरी अधिकारीलाई नियन्त्रणमा लिई फिर्ता गर्न आग्रह गरिन्छ,’ पत्रमा लेखिएको छ । जुआलीले यसबारे निर्णय लिन आफूले राजधानी नयाँदिल्लीस्थित गृह मन्त्रालयको निर्देशन पर्खिरहेको बताएकी बीबीसीले जनाएको छ ।

रोयटर्सका अनुसार केही दिनयता त्यसरी भारत पस्नेको संख्या ८ प्रहरीसहित कम्तीमा ३० छ । म्यान्मारका अन्य नागरिकहरू पनि भारत छिर्न सीमा क्षेत्रमा आइपुगेका भारतीय अधिकारीहरूले जनाएका छन् ।

सुचीको दलका अधिकारीको प्रहरी थुनामा मृत्यु

म्यान्मारकी लोकतन्त्रवादी नेत्री आङ सान सुचीको दलका एक अधिकारीको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि सैनिक ‘कु’ विरोधी प्रदर्शन थप चर्केको छ । आइतबार देशका आधा दर्जनभन्दा बढी सहरमा आइतबार हजारौं प्रदर्शनकारी सडकमा उत्रेका छन् ।

सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकारी खिन माउङ लातको मृत्युको कारणबारे भने केही उल्लेख गरिएको छैन । समाचार संस्था रोयटर्सले भने उनको टाउकोमा रगत लागेका कपडाहरू देखिएको उल्लेख गरेको छ ।

विघटित संसद्का सदस्य सिथु माउङले गत चुनावमा खिन आफ्नो चुनावी अभियान व्यवस्थापक रहेको बताए । घटनाबारे प्रहरीले प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?