१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलायतमा डिग्रीपछि २ वर्ष वर्क परमिट

कान्तिपुर संवाददाता

लन्डन — बेलायत सरकारले बेलायती विश्वविद्यालयबाट स्नातक वा माथिल्लो तह पूरा गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पढाइपछि कम्तीमा २ वर्षसम्म काम गर्न दिइने नयाँ नियम ल्याएको छ ।

बेलायतमा डिग्रीपछि २ वर्ष वर्क परमिट

पीएचडी पूरा गरेका विद्यार्थीहरूले भने तीन वर्ष काम गर्न पाउनेछन् । आउँदो जुलाई १ तारिखदेखि ‘ग्य्राजुएट रुट’ मा भिसा आवेदन खुला गरिने सरकारले बिहीबार जनाएको हो । अध्ययन पूरा गरिसकेपछि पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायती समाज तथा अर्थतन्त्रमा योगदान गरून् भन्ने उद्देश्यले सरकारले यो स्किम ल्याइएको जनाएको छ । नयाँ रुटले बेलायतमा सन् २०३० सम्म उच्च शिक्षामा ६ लाख विदेशी विद्यार्थी पुर्‍याउने सरकारको ‘अन्तर्राष्ट्रिय शिक्षा रणनीति’ लक्ष्य हासिल गर्न सघाउने अपेक्षा गरिएको छ । ‘ग्य्राजुएट रुट’ नाम दिइएको योजनाअन्तर्गत भिसा आवेदन गर्न जब अफर वा न्यूनतम तलब देखाउनुपर्ने छैन । यसमा कतिलाई भिसा दिने भन्ने निश्चित कोटा पनि छैन । ग्य्राजुएट विद्यार्थीले आफूअनुकूल काम, जागिर परिवर्तन वा आफ्नो इच्छाअनुसार करिअर विकास गर्न सक्नेछन् ।

भावी सीमा तथा अध्यागमनसम्बन्धी बेलायतीमन्त्री केभिन फोस्टरले भने, ‘विश्वव्यापी महामारीबाट बाहिर निस्कँदै गर्दा हामी संसारकै सर्वोत्तम क्षमता भएको जनशक्ति बेलायतको व्यापार, विज्ञान, कला तथा प्रविधिको क्षेत्रमा काम गरून् भन्ने चाहन्छौं । ब्रिटेन उनीहरूको महत्त्वाकांक्षा पूरा गर्ने एक स्वाभाविक स्थल हुनेछ ।’

बेलायत र नेपालमा कार्यालय रहेको एक शैक्षिक परामर्शदाता कम्पनी यूनी ल्याडरका निर्देशक गणेश खड्का सरकारको नयाँ नियमले नेपालसहित अन्य मुलुकका विद्यार्थीलाई बेलायत उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्छन् । ‘वर्क परमिट पाइने भएपछि विद्यार्थीले आफ्नो लाखौं लगानी यहीं काम गरेर उठाउन सक्छन् । जेहेन्दार विद्यार्थी भविष्यमा यतै सेटल्ड हुने सम्भावना पनि हुन्छ,’ खड्काले भने, ‘तर, विद्यार्थीले राम्ररी पढेनन् र परीक्षामा फेल भए भने उनीहरूले यो सुविधा पाउने छैनन् ।’

प्रकाशित : फाल्गुन २३, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?