अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लगाइएको बलात्कार आरोप अस्वीकार गरेका छन् । ५० वर्षीय पोर्टरले ३३ वर्षअघि आफूलाई बलात्कार गरेका एक महिलाले आरोप लगाएकी थिइन् । 

अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार



अस्ट्रेलियाको महान्यायाधिवक्ता केन्द्र सरकारको वरिष्ठ मन्त्री रहने व्यवस्था छ । पोर्टरले सन् १९८८ मा १६ वर्षकी युवतीलाई बलात्कार गरेका भन्दै एक पत्र गतसाता प्रधानमन्त्री स्कट मरिसनलाई पठाइएको थियो । पोर्टरले आरोपित व्यक्ति आफू भएको सार्वजनिक गर्दै प्रधानमन्त्रीसहित केही सांसदलाई पठाइएको पत्रको खण्डन गरेका हुन् ।

उक्त पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि पोर्टरले बुधबार पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेका हुन् । ती महिलाले भने करिब एक वर्षअघि नै आत्महत्या गरिसकेकी छन् । उनले केही समय पहिले न्यु साउथ वेल्स प्रहरीमा यसबारे उजुरी दिएकी सञ्चारमाध्यमले जनाएका छन् । तर उनको मृत्युपछि उक्त मुद्दाको छानबिन बन्द गरिएको थियो । बुधबार पश्चिम अस्ट्रेलियाको पर्थमा पत्रकार सम्मेलन गर्दै महान्याधिवक्ता पोर्टरले प्रहरीले घटनाको अनुसन्धान गरिरहेका कारण मिडियामा आउन उचित नठानेको बताए । बीबीसीका अनुसार न्यु साउथ वेल्स प्रहरीले आवश्यक प्रमाण नभएका कारण उक्त घटनाको छानबिन बन्द गरेको मंगलबार जनाएको थियो ।

पत्रकार सम्मेलनमा पोर्टरले ३३ वर्षअघि सिड्नीमा आयोजित वादविवाद प्रतियोगितामा आरोप लगाउने युवतीसँगै आफू गएको भए पनि त्यस्तो अनैतिक कार्य नगरेको बताएका हुन् । उनले आरोप लगाइएको घटना हुँदै नभएको र आफुले सार्वजनिक रूपमा भन्नै पर्ने आवश्यक्ता भएको जनाए । पत्रकार सम्मेलनमा उनले पटकपटक आफूले उक्त कार्य नगरेको बताएका थिए । त्यस क्रममा पोर्टरले त्यतिबेला ती युवतीलाई खुसी र बौद्धिक पाएको स्मरण गरे ।

पोर्टरले राजीनामा दिनुपर्ने माग कडा रूपमा उठेको भए पनि उनले त्यसबारे नसोचेको बताए । उनले आफूले गर्दै नगरेको घटनालाई लिएर पद छाडेको खण्डमा अस्ट्रेलियामा आफूले नगरेको कार्यमा समेत आफ्नो करियर गुमाउने डर हुने दाबी गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि उनले आफ्नो मानसिक स्वास्थ्यका कारण दुई साताका लागि बिदा लिने जनाएका छन् । रक्षामन्त्री लिन्डा रेनल्डसको कार्यालयमा काम गर्ने ब्रिटनी हिगिन्सले करिब एक वर्षअघि आफूमाथि आफ्नै सहकर्मीद्वारा बलात्कार भएको आरोप लगाएको केही समयपछि सार्वजनिक भएको यस घटनाले अस्ट्रेलियाली राजनीतिलाई भने तताएको छ ।

प्रधानमन्त्री स्कट मरिसनले सोमबार आरोपित मन्त्रीले आरोप अस्वीकार गरेका र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहको बताएका थिए । आरोपित महिलाका साथीहरूले भने यस घटनाको छानबिन हुनुपर्ने माग गरिरहेका छन् । सन् २०१७ मा महान्यायाधिवक्ता भएका पोर्टर अस्ट्रेलियाली राजनीतिमा निकै प्रभावशाली मानिन्छन् । कतिपयले उनलाई भावी प्रधानमन्त्रीका रूपमा समेत हेर्दै आएका छन् । तर यो घटनापछि भने उनको राजनीतिक भविष्यलाई केही क्षति पुग्ने आँकलन गरिएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?