‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् ।

‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’

अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘निकै सचेत’ रहनसमेत आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ । तर बाइडेनको भनाइविपरीत अमेरिकाका कतिपय राज्यले भने लकडाउनलाई खुकुलो पार्दै लगेका छन् । अर्थतन्त्र ओरालो लागेको भन्दै केही राज्यले लकडाउन हटाउँदै लगिएको जनाएका हुन् ।

टेक्सास राज्यका गभर्नरले मंगलबार एक कार्यकारी आदेश जारी गर्दै मार्च १० देखि अधिकांश प्रतिबन्धहरू हटाइएको जनाएका छन् । ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ,’ रिपब्लिकनहरूले भनेका छन्, ‘धेरै साना व्यवसायीले उनीहरूको खर्च धान्न निकै संघर्ष गर्नुपर्ने अवस्था आइसकेको छ ।’

त्यसैगरी, मिसिसिपी, मिसिगन, साउथ क्यारोलिना, मासाचुसेट्स, सिकागो, सान फ्रान्सिस्कोलगायत राज्यले अधिकांश व्यवसायहरू खुला गरेका छन् । तर स्वास्थ्य अधिकारीहरूले महामारीको अन्त्य अझै निकै टाढा रहेको भन्दै लकडाउन खुकुलो पार्न नहतारिन आग्रह गरेका छन् । सोमबार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशकले ‘अमेरिकामा चौथो चरणको संक्रमण’ चेतावनी दिएका थिए ।

अमेरिकामा बुधबार साँझसम्म ७ करोड ६० लाख मानिसलाई खोप दिइसकिएको छ । यो अमेरिकाको जनसंख्याको १५.३ प्रतिशत हो । बाइडेनले आफूले राष्ट्रपतिको पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड अमेरिकीलाई खोप दिइसक्ने वाचा गरेका थिए । जुन पूरा हुने देखिएको छ । अमेरिकामा हाल दैनिक १७ लाख ४० हजार जनालाई खोप दिँदै आइएको छ ।

अमेरिकामा हालसम्म २ करोड ८७ लाख जनाभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ लाख १४ हजार जनाभन्दा बढीको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अमेरिकाको हेल्थ मेट्रिक्स एन्ड इभालुएसन इन्स्टिच्युटले जुन १ सम्ममा थप ९० हजार जना भाइरसको संक्रमितको मृत्यु हुने अनुमान गरेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?