कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारत बायोटेकको कोरोना खोप '८१ प्रतिशत प्रभावकारी'

कोभ्याक्सिन बेलायतमा देखिएको नयाँ कोरोनाविरूद्ध पनि काम गर्ने उत्पादक कम्पनीको दाबी 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत बायोटेकले कोभ्याक्सिन खोपको प्रभावकारिता ८१ प्रतिशत रहेको दाबी गरेको छ । बुधबार तेस्रो चरणको क्लिनिकल ट्रायल (मानव परीक्षण) को नतिजा सार्वजनिक गर्दै कम्पनीले त्यस्तो दाबी गरिएको हो ।

भारत बायोटेकको कोरोना खोप '८१ प्रतिशत प्रभावकारी'

कम्पनीले कोभ्याक्सिन बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुनेसमेत दाबी गरेको छ ।

‘दोस्रो डोजपछि यसअघि संक्रमित नभएकाहरूमा पनि भाइरसको रोकथाममा कोभ्याक्सिनले ८१ प्रभावकारिता देखाएको छ,’ कम्पनीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत नोभेम्बर अन्त्यदेखि सुरु गरिएको परीक्षणमा २५ हजार ८ सयभन्दा बढी सहभागी भएका थिए । जसमा १८ देखि ९८ वर्ष उमेरका मानिस थिए । परीक्षण विभिन्न समूह बनाएर २५ वटा स्थानमा गरिएको जनाइएको छ । त्यसैगरी, ६० वर्षभन्दा माथिका २ हजार ४ सय ३३ जना र विभिन्न जटिल रोगका पीडित ४ हजार ५ सय ३३ जना परीक्षणमा सहभागी भएको समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी कम्पनीले बेलायतमा देखिएको नयाँ किसिमको भाइरसका लागि पनि खोप प्रभावकारी देखिएको दाबी गरेको छ । ‘राष्ट्रिय संक्रमण रोग केन्द्रको विश्लेषणमा खोप लगाएपछि बनेका एन्टिबडीले बेलायतमा देखिएको र अन्य किसिमको भाइरसको असर कम गरेको संकेत गरेको छ,’ कम्पनीले भनेको छ ।

भारत बायोटेक भारतमा कोरोनाविरुद्धको खोपको प्रयोग गर्ने अनमुति पाउने दुई कम्पनीमध्ये एक हो । भारत सरकारले हालसम्म कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई मात्र आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले तथा कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो ।

कोभिसिल्डको उत्पादक पुनाको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन भने हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सेरमसँग मासिक १० करोड खोप उत्पादन गर्ने क्षमता छ भने बायोटेकले भने मासिक करिब ३ करोड खोप उत्पादन गर्न सक्ने बताइएको छ ।

भारत बायोटेकले तेस्रो चरणको मानव परीक्षण नटुंग्याएका कारण त्यसलाई सीमित प्रयोजनका लागि मात्र आपत्–कालीन प्रयोगको अनुमति दिइएको थियो । जसले आपत्कालीन अनुमति पाए पनि तेस्रो चरणको क्लिनिकल ट्रायलको डाटा पेस नगरेको भन्दै कोभ्याक्सिनको प्रभावकारितामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो । कम्पनी र भारत सरकार भने त्यस किसिमको आशंकालाई अस्वीकार गर्दै आएका थिए । त्यही आशंका कारण नै ३ माघदेखि सुरु भएको खोप अभियानमा कोभ्याक्सिनको प्रयोग निकै न्यून रहेको छ । त्यसैगरी अन्य मुलुकले पनि कोभिसिल्डमै जोड दिँदै आएका थिए । जसले गर्दा भारतले अन्य मुलुकहरूलाई अनुदान दिँदासमेत सिरमद्वारा उत्पादित कोभिसिल्ड नै प्राथमिकतामा राख्दै आएको छ ।

भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप पनि सिरमद्वारा उत्पादित कोभिसिल्डकै हो । त्यसैगरी नेपाल सरकारले थप २० लाख डोज खोप पनि सिरमबाटै किन्ने निर्णय गरिसकेको छ ।

जब कि भारत सरकारले भने आमनागरिकमा स्वदेशमा विकास गरिएको कोभ्याक्सिनप्रति विश्वास जगाउन विभिन्न प्रयाससमेत गर्दै आएको छ । गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले कोभ्याक्सिन खोप लगाएका थिए । सोमबारदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत मोदी र अन्य मन्त्रीहरूले खोप लगाएका हुन् । भारतमा बुधबारसम्ममा १ करोड ११ लाख ३९ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यसमध्ये १ लाख ५७ हजार ३ सय ४६ को मृत्यु भएको छ । १ करोड ८ लाख १२ हजारभन्दा बढी निको भइसकेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र १४ हजार ९ सय ८९ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । ९९ जनाको ज्यान गएको छ । त्यसैगरी बुधबारसम्ममा १ करोड ४८ लाख ५४ हजारभन्दा बढी भारतीयले खोप लगाएका छन् । भारत सरकारले आगामी जुलाई महिनासम्म २७ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?