म्यान्मारमा मारिए १० जना प्रदर्शनकारी

एजेन्सी

यांगुन — म्यान्मारमा सैनिक सरकारको विरोधमा बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा १० जना मारिएका छन् । प्रत्यक्षदर्शी तथा मानवअधिकारकर्मीहरूले १० जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकहरूको संख्या बढ्न सक्ने जनाएका छन् ।

म्यान्मारमा मारिए १० जना प्रदर्शनकारी

म्यान्मारमा फेबु्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले लोतन्त्रवादी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् ।

प्रदर्शनका क्रममा भएका प्रहरीको दमनका कारण हालसम्म ज्यान गुमाउनेको संख्या कम्तीमा ३२ पुगेको छ । गत आइतबार गरिएका प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १८ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार कम्तीमा ३० जना घाइते भएका थिए ।

अस्पताल स्रोतका अनुसार सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएको हो । दोस्रो ठूलो सहर म्यान्डलेमा दुई जनाको मृत्यु भएको अस्पताल स्रोतलाई उल्लेख गर्दै एएफपीले जनाएको छ । एक चिकित्सकले नाम नबताउने सर्तमा म्यान्डलेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् ।

मियांगयान सहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको जनाइएको छ । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् । सबैभन्दा ठूलो सहर यांगुनमा पनि बुधबार प्रदर्शनहरु भएका छन् । विभिन्न सहरमा सुरक्षाफौजले पत्रकारहरु र नागरिक समाजका अगुवालाई धरपकड गरेको जनाइएको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक पनि डाकेको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूल सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

सैनिक ‘कु’ सँगै सैनिक नियन्त्रणमा राखिएकी नेतृ सुचीलाई हालसम्म विभिन्न चारवटा अभियोग लगाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध सोमबार सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने सूचना प्रकाशन रोक्नेसम्बन्धी कानुन र दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

त्यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

सत्ताकब्जा गरेका सेना प्रमुख ह्लाइङले फरक मत राख्नेहरूप्रति सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको दाबी गर्दै आएका छन् । त्यस्तै सरकारले न्यून संख्यामा सुरक्षाफौज परिचालन गरेको उनको भनाइ छ । ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरिएको र सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

यसैबीच, म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसिएन) का विदेशमन्त्रीहरूको एक भर्चुअल बैठकमा सहभागी भएका छन् । उनी मंगलबार उक्त बैठकमा सहभागी भएका जनाइएको छ । उनी सैनिक सरकारद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन् । म्यान्मारको सरकारी सञ्चारमाध्यमका अनुसार भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरूले म्यान्मारलाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने वाचा गरेका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?