कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा तीन महिला सञ्‍चारकर्मीको हत्या

एजेन्सी

काबुल — पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले मंगलबार तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएको छ ।

सञ्चारकर्मीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासलाई प्रभावित पारेको छ ।

मारिने सञ्‍चारकर्मीहरुमा २५ वर्षीया मुर्साल हाकिमी, २० वर्षीया सादिया र २० वर्षीया सहनाज रहेका छन् । उनीहरु एनिकास रेडियो तथा टेलिभिजनमा कार्यररत थिए । उनीहरुले विदेशी कार्यक्रमका लागि भ्वाइस ओभर गर्थे । आक्रमणमा परी एक जना महिला घाइते भएकी छिन् ।

सञ्चारकर्मीहरू कार्यालयको कामपछि पैदलै घर जाने क्रममा मारिएका एनिकास टीभीका निर्देशक जलमाई लतिफीले एएफपीसँग बताए । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।

सरकार र अमेरिकालगायतका विश्व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटकपटक वार्ता भइसकेका भए पनि ठोस निष्कर्ष निस्केको छैन ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?