१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘बलात्कारको आरोप’ ले अस्ट्रेलियाली राजनीतिमा तरंग

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका एक बहालवाला मन्त्रीले आफूलाई बलात्कार गरेको एक महिलाको आरोपपछि अस्ट्रेलियाली राजनीतिमा तरंग सिर्जना भएको छ ।

‘बलात्कारको आरोप’ ले अस्ट्रेलियाली राजनीतिमा तरंग

क्षामन्त्री लिन्डा रेनल्डसको कार्यालयकी पूर्वकर्मचारी ब्रिटनी हिगिन्सले आफूलाई सन् २०१९ मा संसद् भवनको कार्यालयकै कर्मचारीले बलात्कार गरेको आरोप सेलाउन नपाउँदै बलात्कारको अर्को घटना सार्वजनिक भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिण अस्ट्रेलियाको एडिलेडमा बस्ने ती महिलालाई ३३ वर्षअघि बलात्कार गर्ने व्यक्ति हाल केन्द्रीय मन्त्री छन् ।

बलात्कृत भएकी भनिएकी महिलाले करिब ८ महिनाअघि नै आत्महत्या गरिसकेकी छन् । आफूमाथि १६ वर्षको उमेरमा हालका मन्त्रीले बलात्कार गरेको उनले आरोप लगाएकी थिइन्  । उक्त घटनामा न्यायको माग गर्दै मृतक महिलाका एक साथीले पठाएको पत्र प्रधानमन्त्रीलाई समेत बुझाइएको जनाइएको छ ।

बलात्कारको आरोप लागेका संघीय मन्त्री भने त्यसबेला राजनीतिमा प्रवेश गरिसकेका थिएनन् । आरोपित मन्त्रीबारे भने हालसम्म केही उल्लेख गरिएको छैन ।

घटना सार्वजनिक भएपछि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले अनुसन्धानका लागि कदम चाल्नुपर्ने भन्दै पीडित महिलाका तर्फबाट आवाज उठाइएको छ । प्रधानमन्त्री मरिसनका अनुसार मन्त्रीले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । मरिसनले ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको’ सोमबार बताएका थिए । तर न्यु साउथ वेल्स प्रहरीले पर्याप्त प्रमाण नभेटिएको भन्दै मंगलबार अनुसन्धान बन्द गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

पीडित भनिएकी ती महिलाले पूर्वप्रधानमन्त्री माल्कम टर्नबुललाई समेत घटनाबारे करिब एक वर्षअघि नै जानकारी गराएकी थिइन् । यसका साथै अन्य केही सांसदले समेत घटनाबारे जानकारी पाएको बताएका छन् । पूर्वप्रधानमन्त्री टर्नबुलले आरोप लागेका मन्त्रीले आफूलाई सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरेका छन् । आरोप लगाइएका मन्त्रीले बुधबार आफ्नो भनाइ सार्वजनिक गर्न सक्ने स्थानीय समाचार माध्यम एबीसीले जनाएको छ ।

आत्महत्या गरिसकेकी महिलाका आफन्त तथा साथीहरूले घटनाबारे स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । घटना सार्वजनिक भएपछि राजनीतिक विज्ञका साथै विपक्षी दल लेबरका नेता एन्थोनी अल्बानिजीले समेत घटनाको विस्तृत रूपमा छानबिन हुनुपर्ने माग गरेका छन् ।

महिलाले लगाएको आरोपबारे अन्य केही सांसदलाई समेत जानकारी भएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री मरिसनलाई छानबिनका लागि थप दबाब परेको समाचारमा उल्लेख गरिएको छ । सरकारमा रहेका केही मन्त्रीले आरोपबारे सम्बन्धित निकायले छानबिन गर्ने बताउँदै आएका छन् ।

यसका साथै विपक्षी दल लेबरका एक सांसदले बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले गरेको उजुरी प्रहरीसमक्ष पुगेको बीबीसीले जनाएको छ । सन् २०१९ मा संसद् भवनमा आफूलाई बलात्कार गरिएको आरोप लगाएकी हिगिन्सले सार्वजनिक रूपमा कुरा राखेपछि अन्य थप ३ जनाले समेत आफूमाथि शारीरिक शोषण भएको भन्दै उजुरी दिएका समाचारमाध्यमले जनाएका हुन् । हिगिन्सले स्थानीय एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफू रक्सीले मातेको अवस्थामा नाजायज फाइदा उठाएर सहकर्मीले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

सन् २०१९ को मार्चमा भएको घटनाबारे आफूले जागिर जाने डरले त्यतिबेला प्रहरीमा उजुरी नदिएको हिगिन्सको भनाइ छ । यसबारेमा मन्त्री रेनल्डलाई जानकारी गराएको उनले बताएकी छन् । उनले मन्त्री रेनल्डले प्रहरीमा जान सुझाव दिए पनि आफूले जागिर गुम्ने डरले प्रहरीसमक्ष उजुरी नदिएको बताएकी छन् ।

नेपाली समुदायबाट अस्ट्रेलियाको मन्त्रीस्तरीय सुझाव समितिका सदस्यका रूपमा काम गरिसकेका महेन्द्रकुमार लम्साल यो घटनाले अस्ट्रेलियाली संसद्मात्र नभएर यहाँको जुनसुकै स्थानमा काम गर्ने महिलालाई भइरहेको व्यवहारमा परिवर्तन आवश्यक भएको महसुस गराएको दाबी गर्छन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?