नाइजेरियामा अपहरणमा परेका २७९ छात्रा मुक्त

एजेन्सी

अबुजा —  नाइजेरियाको पश्चिमी क्षेत्रबाट गतसाता बन्धुकधारीको अपहरणमा परेका करिब २७९ छात्रा मंगलबार मुक्त भएका छन् ।

नाइजेरियामा अपहरणमा परेका २७९ छात्रा मुक्त

अपरिचित बन्दुधारीहरूले गत शुक्रबार जाम्फरा राज्यको जाङ्बेस्थित विद्यालयबाट करिब ३ सय छात्राहरूलाई अपहरण गरेका थिए ।

अपहरणलगत्तै उनीहरूलाई जंगलमा पुर्‍याइएको जनाइएको थियो । राज्यका गभर्नरले मंगलबार छात्राहरू मुक्त भएका र उनीहरू सुरक्षित रहेको जनाए । बीबीसीका अनुसार उक्त क्षेत्रमा फिरौती रकमका लागि विद्यालयका छात्राहरू अपहरण गरिनु सामान्यजस्तै हुँदै आएको छ । अपहरणमुक्त भएका दर्जनौं छात्राहरू जाम्फरास्थित एक सरकारी भवनमा जम्मा भएका थिए ।

अधिकारीहरूले मुक्त भएलगत्तै उनीहरूलाई मिनी बसमा राखेर त्यहाँ पुर्‍याइएको जनाएका छन् । ‘अपहरणपछि बन्धक बनाइएका विद्यार्थीहरू मुक्त भएका घोषणा गर्न पाउँदा मेरो हृदय निकै प्रसन्न भएको छ,’ जाम्फराका गभर्नर बेलो मतावालेले ट्वीटरमा लेखेका छन् । अधिकारीहरूले मुक्त भएका छात्राहरूको संख्या २ सय ७९ रहेको बताएका छन् ।

गतसाता प्रहरीले भने ३ सय १७ जना अपहरणमा परेका जनाएको थियो । उक्त संख्या गलत भएको बताइएको छ । समाचार संस्था रोयटर्सले एक अधिकारीलाई उद्धृत गर्दै केही छात्राहरू अपहरणकै क्रममा भाग्न सफल भएका कारण तथ्यांक केही फरक परेको हो ।

‘हामीमध्ये अधिकांश घाइते भयौं, र हामी हिँड्न सकेनौं,’ मुक्त भएकी एक छात्रालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका अनुसार अपहरणकारीले हिँड्न नसक्नेलाई गोली हान्ने चेतावनीसमेत दिएका थिए ।

जाम्फरास्थित एक अधिकारीले सरकारी अधिकारी र अपहरणकारीबीचको वार्तापछि ती छात्राहरू रिहा भएका हुन् । तर गभर्नर मतावालेले फिरौती रकम नदिइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

गत साता नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले अपहरणमा परेका छात्राहरूलाई मुक्त गर्न ‘पैसा र गाडीहरू’ दिने गरिएको स्वीकार गर्दै त्यस्तो नीति पुनरावलोकन गर्नुपर्ने बताएका थिए । बुहारीले बन्धक बनाइएका छात्राहरू रिहा भएकोमा आफू निकै खुसी भएको बताए ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?