कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमा दोस्रो चरणको खोप अभियान सुरु

महाराष्ट्रलगायतका राज्यमा संक्रमण फेरि बढ्दै
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहानै दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स्) पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएका हुन्  ।

भारतमा दोस्रो चरणको खोप अभियान सुरु

मोदीले खोप लगाएपछि त्यसको जानकारी ट्वीटमार्फत दिएका थिए । ‘एम्स्मा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज लगाएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई बलियो बनाउन तीव्र रूपमा गरेको काम उल्लेखनीय छ’ मोदीले लेखेका छन् । साथै उनले भारतलाई कोभिड–१९ मुक्त बनाउन कोरोना खोप लगाउन योग्य सबैलाई खोप अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

त्यसैगरी, केन्द्रीय गृहमन्त्री अमित शाहले पनि सोमबार नै कोरोनाविरुद्धको खोप लगाएका छन् । मोदी र शाहले भारतमा सोमबारदेखि सुरु दोस्रो चरणको खोप अभियानअन्तर्गत खोप लगाएका हुन् । दोस्रो चरणको सुरुवातमा मोदी र उनका मन्त्रीहरुले समेत खोप लगाउने यसअघि नै घोषणा गरिएको थियो । सोहीअनुसार सोमबारदेखि ६० वर्ष बढी उमेरका र जटिल रोगबाट पीडित ४५ वर्षभन्दा माथि उमेर समूहका लागि खोप दिइने जनाइएको छ ।

जटिल रोगअन्तर्गत क्यान्सर, मिर्गौला, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी बिरामीलाई समेटिने जनाइएको छ । दुवै समूहमा गरेर १० करोडभन्दा बढी नागरिक पर्ने बताइएको छ । यो अभियानअन्तर्गत सरकारी र निजी अस्पताल दुवैमा खोप उपलब्ध गराइएको छ । यसका लागि भारत सरकारले १० हजार खोप केन्द्रहरू स्थापना गरेको छ भने २० हजारभन्दा बढी निजी केन्द्रमा खोप उपलब्ध छ । सरकारी केन्द्रमा खोप नि:शुल्क उपलब्ध हुनेछ भने निजी अस्पतालहरूमा शुल्क लाग्ने व्यवस्था गरिएको छ । निजी अस्पतालमा उपलब्ध खोपको एक डोजका लागि भारु २५० शुल्क तोकिएको छ ।

भारत सरकारले यसको वर्षको बजेटमा खोप अभियानकै लागि भनेर ३ खर्ब ५० अर्ब भारु भन्दा बढी विनियोजन गरेको छ । भारतले गत ३ माघदेखि खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई कोरोना खोप लगाउने लक्ष्य राखिए पनि हालसम्म १ करोड ४३ लाखभन्दा बढीले मात्र लगाएका छन् । त्यसैगरी आगामी जुलाई महिनासम्म २७ करोडलाई खोप लगाउने लक्ष्य राखिएको छ । तर, हालसम्मको प्रगति हेर्दा खोप अभियान लक्ष्यभन्दा निकै पछि छ ।

भारतमा सोमबारसम्ममा १ करोड ११ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । त्यसमध्ये १ लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ करोड ७ लाख ८६ हजारभन्दा बढी निको भइसकेका छन् । एकातिर खोपको लक्ष्य पूरा नहुुनु र अर्कोतर्फ पछिल्लो समय कोरोना भाइरसको संक्रमितको संख्या उकालो लाग्दै गएकाले सरकारमाथि खोप अभियानलाई तीव्रता दिन दबाब परेको थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्र १५ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । र, थप सय जनाभन्दा बढीको ज्यान गएको छ । नयाँ संक्रमितमध्ये ८७ प्रतिशतभन्दा बढी महाराष्ट्र, केरला, गुजरात, तमिलनाडु, कर्नाटक र पन्जाब राज्यका रहेको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमणको सबैभन्दा तीव्र वृद्धि महाराष्ट्रमा देखिएको छ । आइतबार मात्र महाराष्ट्रमा ८ हजार २ सय ९३ संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा संक्रमितको संख्या २१ लख ५५ हजार नाघेको छ । विज्ञहरुले पछिल्लो समय संक्रमितको संख्या बढ्नुलाई संक्रमणको दोस्रो चरणको लहरसमेत हुन सक्ने भन्दै चेतावनीसमेत दिएका छन् । संक्रमितहरुको संख्या बढी भएकाले दिल्ली सरकारले १५ फागुनपछि यी राज्यबाट दिल्ली आउनेहरुलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

त्यही कारण पनि भारतले दोस्रो चरणको खोप अभियान सुरु गरेको हो । खोपलाई लिएर आमसर्वसाधारणमा शंकाउपशंका रहेका कारण पनि अभियानको लक्ष्य पूरा नभएको बताइएको छ । भारत सरकारले हालसम्म कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई मात्र आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले र कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । र, कोभिसिल्डको उत्पादक पुनाको सेरम इन्स्टिटयुट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सेरमसँग मासिक १० करोड खोप उत्पादन गर्ने क्षमता छ भने बायोटेकले भने मासिक करिब ३ करोड खोप उत्पादन गर्न सक्ने बताइएको छ । आपत्कालीन अनुमति पाए पनि तेस्रो चरणको क्लिनिकल ट्रायलको डाटा पेस नगरेको भन्दै कोभ्याक्सिनको प्रभावकारितामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । यद्यपि, कम्पनी र भारत सरकारले भने त्यस्तो आशंकालाई अस्वीकार गर्दै आएको छ । मोदी आफँैले पनि कोभ्याक्सिनको डोज लिएर त्यो आशंकालाई थप चिर्ने प्रयास गरेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?