१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर टाढा सारियो 

एजेन्सी

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक एलेक्सी नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमिर क्षेत्रको कारागारमा सारिएको रुसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।

नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर टाढा सारियो 

नाभाल्नीले राज्यसँगको प्रतिबद्धता उल्लंघन गरेको भन्दै रुसी अदालतले साढे दुई वर्षको जेल सजाय तोकेको थियो । नाभाल्नी जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किएलगत्तै विमानस्थलबाटै गतमहिना पक्राउ परेका थिए ।

नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई यसअघिसम्म उनलाई कहाँ राखिएको भन्ने जानकारी गराइएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भनेका छन्, ‘शुक्रबार नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’ मा सारिएको छ ।’ यद्यपि उनले नाभाल्नीबारे विस्तृत जानकारी भने नदिएका जनाइएको छ ।

यसअघि मस्कोको सार्वजनिक आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै नाभाल्नीलाई भ्लादिमिर क्षेत्रको एक संघीय जेलमा राखिएको जनाएको थियो । ‘हामीलाई प्राप्त सूचनाअनुसार नाभाल्नीलाई जेल सजाय भुक्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,’ आयोगका सदस्य एलेक्सी मेल्निकोभले भनेका छन् ।

‘नाभाल्नीलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ,’ उनले भने । नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय गम्भीर बिरामी परेपछि उपचारका लागि जर्मनी लगिएको थियो ।

जर्मनीमा गरिएको परीक्षणमा उहाँलाई सोभियतकालीन विषाक्त पदार्थ दिइएको दाबी गरिएको थियो । आफूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा विष आक्रमण गरिएको नाभाल्नीको आरोप छ । तर उक्त आरोपको क्रेमलिनले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?