कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीमा विवाद कम गर्न भारत र चीनबीच 'हटलाइन' स्थापना हुने

इकान्तिपुर डेस्क

काठमाडौँ — भारत र चीन सीमा विवाद कम गर्नका लागि हटलाइन स्थापना गर्न तयार भएका छन् । बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीचको कुराकानीमा दुई देशबीच कूटनैतिक हटलाइन स्थापना गर्न सहमत भएका हुन् ।

सीमा विवाद कम गर्न भारत र चीनबीच 'हटलाइन' स्थापना हुने

बिहीबार आणविक हतियारसम्पन्न दुई छिमेकी मुलुकका विदेशमन्त्रीबीच करिब ७५ मिनेट संवाद भएको थियो । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत छिटोभन्दा छिटो सीमा विवाद हल गर्न तयार रहेको बताएको छ । सीमा तनावलाई मध्यनजर गर्दै ‘समयमै सञ्चार’ को सुनिश्चित गर्नका लागि हटलाइन स्थापना गरिने बताइएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले चिनियाँ समकक्षीसँगको कुराकानीमा भने, ‘गत वर्ष द्विपक्षीय सम्बन्ध नराम्रोसँग प्रभावित भयो । त्यसैले सीमा विवाद समाधानका लागि समय लाग्नेछ ।’ जयशंकरले सम्बन्ध सुधारका लागि सीमा क्षेत्रमा भएका गतिविधि पूर्ण रुपमा रोक्नुपर्ने पनि बताएका थिए । जवाफमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने भारतको चीन नीतिमा अस्थिरताका कारण बारम्बार समस्या दोहोरिएको बताएका थिए । उनले भने, ‘चीन नीतिमा भारतको अस्थिरता र आफ्नो कुरामा अडिग नरहने देखियो । जसका कारण दुई देशबीचको व्यवहारिक सहयोगमा असर पऱ्यो ।’

दशकौंदेखिको अनुभवले पनि असहमतिलाई बढाउँदै लगेर समस्या समाधान हुने नदेखिएको वाङको भनाइ थियो । ‘दशकौंको अनुभवले लगातार यही देखिएको छ कि असहमति बढाएर समस्या समाधान हुँदैन । यसले त केबल आपसी विश्वासको आधारलाई झन कमजोर बनाउँछ । दुवै पक्ष भ्रम र सन्देहको गलत बाटोबाट बच्नुपर्छ । द्विपक्षीय सम्बन्ध बिग्रनुबाट जोगाउनका लागि सीमा विवादलाई उपयुक्त तरिकाबाट समाधान गरिनुपर्छ,’ चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरसँगको कुराकानीमा भने ।

चिनियाँ विदेशमन्त्री यीले दुई देशबीच सीमा विवाद भएको कुरा तथ्य भएको उल्लेख गर्दै भने, ‘दुई देशबीच सीमा विवाद भएको कुरा तथ्य हो । जसलाई गम्भीरताका साथ लिनपुर्छ । तर चीन–भारत सम्बन्धमा केवल यही कुरा मात्र छैन । समग्र द्विपक्षीय सम्बन्धमा यसलाई उचित स्थानमा राखिनुपर्छ ।’

भारत सरकारले भने दुई देशबीचको सम्बन्धमा सीमा विवादलाई अलग राखेर हेर्न नमिल्ने बताउँदै आएको छ । सीमामा शान्ति स्थापनापछि मात्रै दुई देशबीचको मित्रता बलियो हुने उसको भनाइ छ । गत वर्ष सीमामा तनाव चलिरहेकै बेला भारतले चिनियाँ एपमाथि प्रतिबिन्ध लगाएको थियो । साथै चिनियाँ लगानीमा पनि कडाइ गरेको थियो । यसमा भने भारतसँग चीनले असन्तुष्टि जनाउँदै आएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले प्याङगोङ त्सो(ताल) क्षेत्रमा भइरहेको गतिविधि पूर्ण रुपमा रोकेर लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसी) बाँकी विवाद पनि सुल्झाउनुपर्ने बताए । ‘टकराव देखिएका सबै सीमाका गतिविधि पूर्ण रुपमा बन्द भएपछि दुवै पक्ष सेनाबीच देखिएको तनाव गर्न अग्रसर हुनुपर्छ,’ जयशंकरले भने ।

चिनियाँ विदेशमन्त्री यीले भने दुवै पक्षले आपसी भरोसामा सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि सीमा वार्तालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । फाइल तस्बिर : रोयटर्स

गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । उक्त झडपमा भारतका २० र चीनका ४ सैनिक मारिएका थिए । सुरुमा चीनले आफ्नो पक्षमा कुनै मानवीय क्षति नभएको बताउँदै आए पनि केही दिनअघि मात्रै चार सैनिक मारिएको स्वीकार गरेको हो । गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको छ ।

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

-विभिन्न न्युज एजेन्सीको सहयोगमा

प्रकाशित : फाल्गुन १५, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?