कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दक्षिण कोरियामा आजदेखि खोप अभियान

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाले शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत १० लाख मात्रा खोप दिइन लागिएको कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । 

दक्षिण कोरियामा आजदेखि खोप अभियान

चार दिनसम्म चल्ने यो अभियानमा देशैभरका ६५ वर्षभन्दा कम उमेर समूहका २ लाख ८९ हजार स्वास्थ्यकर्मी र कोभिड–१९ संक्रमित सामेल हुनेछन् । यसका लागि १९ सयभन्दा बढी खोप केन्द्र तोकिएको छ ।

स्थानीय कम्पनी एसके बायोसाइन्सले अस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप नै प्रयोगमा ल्याउन लागिएको हो । सरकारले फाइजर कम्पनीसँग किनेको खोप पनि बिहीबार नै कोरिया आइपुगेको छ ।

सरकारले हालसम्म विभिन्न कम्पनीसँग गरी १० करोडभन्दा बढी मात्रा खोप किन्ने सहमति गरेको जनाएको छ । कोभिड–१९ विरुद्धको खोप ओसारपसारका लागि विशेष खालको फ्रिज बनाइएको केसीडीसीले जनाएको छ । फ्रिजमा ३–८ डिग्री सेल्सियस तापक्रम कायम रहनेछ । तर जेजु टापुमा लैजाने खोप भण्डारण गर्दा यसभन्दा बढी तापक्रम रहेको पाइएपछि त्यसलाई प्रयोग नगर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप अभियानमा सरकारी र निजी दुवै स्वास्थ्यकर्मी प्रयोग हुनेछन् । यो अभियान यसअघिका खोप कार्यक्रमजस्तै रहेकोले खासै अप्ठ्यारो नहुने स्वास्थ्यकर्मीहरूले जनाएको छन् । सन् २०२१ भरि नै यो अभियान सञ्चालन हुने केसीडीसीको भनाइ छ । हाल प्राथमिकतामा रहेकालाई खोप लगाइने भए पनि आगामी सेप्टेम्बरदेखि सबै जनतालाई खोप लगाउने कोरियाको योजना छ । दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका वृद्धवद्धालाई खोप लगाइने भएको छ । स्वास्थ्य केन्द्रसम्म आउन नसक्नेहरूलाई घरमै खोप लगाउने टोली पठाउने गरी तयारी गरिएको छ ।

तीन नेपालीलाई कोरोना

ह्वासाङ क्षेत्रको एक प्लास्टिक कम्पनीमा कार्यरत ३ नेपालीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । कम्पनीका ३४ कामदार एकैपटक संक्रमित भएकामा नेपालीहरू पनि परेका हुन् ।

उक्त कम्पनी हाललाई बन्द गरिएको नजिकै कार्यरत एडिन छन्त्यालले बताए । ‘तीनै जना नेपाली अहिले अस्पतालमा हुनुहुन्छ,’ उनले भने । ४० भन्दा बढी कामदार रहेको कम्पनीमा ‘पार्ट टाइम’ काम गर्न आउने कामदारबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?