कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्ट्रेलियामा समाचारका लागि गुगल र फेसबुकले पैसा तिर्नुपर्ने कानुन पारित

एजेन्सी

सिड्नी — अस्ट्रेलियाले गुगल र फेसबुकले आफ्नो प्लेटफर्मका समाचार प्रकाशित गरेबापत प्रकाशकलाई शुल्क तिनुपर्ने कानुन पारित गरेको छ ।

अस्ट्रेलियामा समाचारका लागि गुगल र फेसबुकले पैसा तिर्नुपर्ने कानुन पारित

यस्तो कानुन विश्वकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया सरकारले ल्याएको कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले व्यापक विरोध गर्दै आएका थिए ।

गत हप्ता मात्रै त्यही कानुनको विरोधमा फेसबुकले अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो । अस्ट्रेलिया सरकारसँगको सम्झौतापछि फेसबुकले समाचार सामग्रीमाथिको रोक हटाएको छ । फेसबुक र गुगलसँगको कुराकानीपछि अस्ट्रेलियाले तल्लो सदनमा प्रस्तावित अवस्थामा रहेको कानुन संशोधन गरेको थियो । नयाँ कानुनले दुवै कम्पनीलाई राहतको व्यवस्था गरेको बताइएको छ । तर दुवै कम्पनीलाई अस्ट्रेलियाका प्रकाशकलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ ।

नयाँ कानुनअनुसार फेसबुक र गुगलजस्ता कम्पनीले सोझै समाचार प्रकाशकसँग सम्झौता गर्न सक्नेछन् । अस्ट्रेलियाको नयाँ कानुन विश्वभरका नियामक निकायका लागि डिजिटल प्लेटफर्ममा समाचार सामग्रीको भुक्तानीका लागि एउटा प्रभावकारी मोडेल हुन सक्ने बताइएको छ । बिहीबार अस्ट्रेलियाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले नयाँ कानुन पारित गरेको हो ।

नयाँ कानुनमा के छ ?

  • अस्ट्रेलियाको नयाँ कानुनमा फेसबुक, गुगलजस्ता प्रविधि कम्पनीले समाचार सामग्रीका लागि शुल्क तिर्नुपर्नेछ । अहिलेसम्म उनीहरुले कति पैसा तिर्नुपर्छ भन्नेबारे भने केही खुलाइएको छैन ।
  • यो कानुनले सञ्चार प्रतिष्ठानहरुलाई प्रविधि कम्पनीसँग आफ्नो सामग्री प्रसारण/प्रकाशन गरेबापत शुल्कका लागि सम्झौता गर्न सक्नेछन् । फेसबुक, गुगलजस्त कम्पनीका न्युजफिडमा आउने सामग्रीको शुल्कका बारेमा पनि प्रकाशकसँग सम्झौता गर्नुपर्नछ ।
  • यदि समाचार प्रकाशक र प्रविधि कम्पनीबीचको सम्झौता असफल भएमा अस्ट्रेलियाको सञ्चार त आमसञ्चार प्राधिकरणसमक्ष जानुपर्नेछ ।
  • त्यस्तै गुगल तथा फेसबुकले आफ्नो एल्गोरिदम परिवर्तन गर्नुपूर्व नै यसको सूचना प्रकाशकलाई दिनुपर्नेछ ।

अस्ट्रेलियाले किन ल्यायो यस्तो कानुन ?

  • अस्ट्रेलिया सरकारले प्रविधि कम्पनीले पत्रकारिताको उचित शुल्क तिनुपर्ने अस्ट्रेलिया सरकारको तर्क छ । यसका साथै अस्ट्रेलियाको सञ्चार क्षेत्रका लागि आर्थिक सहयोग आवश्यक भएको र बलियो सञ्चारमाध्यम लोकतन्त्रका लागि आवश्यक रहेको पनि सरकारको तर्क छ ।
  • न्युज कोर्प अस्ट्रेलिया(रुपर्ट मर्डोक मिडिया घरानाको एक कम्पनी) जस्ता सञ्चार प्रतिष्ठानले विज्ञापनमा कमी आएपछि सरकारलाई प्रविधि कम्पनीसँग वार्ताका लागि दबाब बनाइरहेका थिए ।
  • पछिल्लो समय मिडिया कम्पनीको आम्दानी घटिरहेको र गुगलको कमाइ बढेको बढ्यै छ । सन् २०१९ मा मात्रै विश्वभरबाट गुगले १६० बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?