१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

म्यान्मार सेनाको समाचार पेज फेसबुकद्वारा बन्द

एजेन्सी

या‌गुन — सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ ट्रु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो ।

म्यान्मार सेनाको समाचार पेज फेसबुकद्वारा बन्द

‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्‍याएका कारण हाम्रो विश्वव्यापी नीतिअनुसार तत्मादअ ट्रु समाचार सूचना पेज फेसबुकबाट हटाइएको छ,’ फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । म्यान्मारको सेनालाई तत्मादअ भन्ने गरिन्छ । फेसबुकको निर्णयबारे सैनिक अधिकारीसँग प्रतिक्रिया लिने प्रयास असफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्यान्मारमा शनिबार भएका प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । दोस्रो ठूलो सहर म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा उनीहरूको ज्यान गएको हो । त्यस्तै शुक्रबार ज्यान गुमाएकी युवतीको राजधानी नेइपिडअमा आइतबार अन्त्येष्टि गरिएको बीबीसीले उल्लेख गरेको छ ।

फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेको विरोधमा म्यान्मारका लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् । आइतबार पनि राजधानी नेइपिडअ, यांगुन, म्यान्डलेलगायत सहरमा हजारौं प्रदर्शनकारी सैनिक कदमको विरोध गर्दै सडकमा उत्रेका जनाइएको छ ।

सैनिक ‘कु’ यता भएका प्रदर्शनका क्रममा कम्तीमा ५ सय ४६ जना पक्राउ परिसकेका छन् । तीमध्ये ४६ जना रिहा भएका जनाइएको छ । प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । त्यसका साथै नोभेम्बरमा भएको चुनावको परिणाम स्वीकार गर्नुपर्ने माग आन्दोलनकारीको छ ।

नोभेम्बरको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर सेनाले चुनावमा धाँधली दाबी गर्दै सत्ता हातमा लिएको हो । सेना प्रमुख मिन आङ ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

यसअघि सन् २०१८ मा सेना प्रमुख ह्लाइङ र अन्य १९ जना सैनिक अधिकारी तथा संस्थालाई फेसबुक चलाउन प्रतिबन्ध लगाइएको थियो । त्यसैगरी, गत नोभेम्बरको चुनावअघि फेसबुकले सेनाको गुणगान गाउने तथा नेतृ आङ सान सुचीको अस्वस्थ आलोचना गर्ने कम्तीमा ७० वटा फर्जी खाता बन्द गरिदिएको थियो । म्यान्मारको करिब ५ करोड ४० लाख जनसंख्यामध्ये २ करोड २० लाखले फेसबुक चलाउने गरेको बताइन्छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले ‘सैनिक ‘कु’ को विरोधमा भएका प्रदर्शनका क्रममा गरिएको दमन’ को निन्दा गरेका छन् । गुटेरेसले हरेक नागरिकलाई सभासम्मेलन गर्ने तथा विरोधमा उत्रने अधिकार रहेको जनाउँदै प्रदर्शनका क्रममा ‘घातक बल, चरम दमन र दुर्व्यवहार’ सह्य नहुने चेतावनी दिएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?