३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्ट्रेलियामा खोप अभियान

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले कोरोना भाइरसविरद्धको खोप अभियान सुरु गरेको छ । दोस्रो विश्वयुद्धकी जीवित ८४ वर्षीया जेन मलेसियाकलाई भाइरसविरुद्धको फाइजर खोप दिएर आइतबार अभियानको सुरुवात गरिएको हो । 

अस्ट्रेलियामा खोप अभियान

त्यसलगत्तै प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्धको खोप लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सरकारले खोप अभियान सोमबारदेखि सुरु गर्ने जनाएको थियो । तर फाइजर–बायोन्टेकद्वारा निर्मित खोपको पहिलो खोप करिब एक साताअघि अस्ट्रेलिया आइपुगेपछि सरकारले खोप कार्यक्रम एक दिनअघि नै सुरु गरेको हो ।

प्रधानमन्त्री मरिसनसँगै मुख्य स्वास्थ्य अधिकारी पल केली तथा केही स्वास्थ्यकर्मी तथा वृद्धवृद्धालाई रेखदेख गर्ने कर्मचारीले खोप लिएका छन् । प्रधानमन्त्री मरिसनले खोपप्रति विश्वास दिलाउन र जनतालाई कोरोना भाइरसविरुद्धको खोप महत्त्वपूर्ण र सुरक्षित भएको देखाउन आफूले खोप लगाएको बताएका छन् । आफ्नो निर्णयले खोपप्रति जनतामा विश्वास बढाउने र खोप अभियान सफल हुने मरिसनको भनाइ छ । उनले खोप अभियान सुरु भएको दिन ‘अस्ट्रेलियालीका लागि ऐतिहासिक’ भएको बताए ।

अधिकारीहरूले सोमबारदेखि खोप नीतिअनुसार प्राथमिकताका आधारमा खोप दिइने जनाएका छन् । एक साताभित्र ६० हजार जनालाई खोप दिने सरकारको लक्ष्य छ । त्यसका लागि देशभर विभिन्न १६ वटा केन्द्रहरू तोकिएका छन् ।

गत सोमबार १ लाख ४२ हजार डोज फाइजर खोप अस्ट्रेलिया भित्र्याइएको थियो । सरकारले थप १ करोडसहित खोपको २ करोड मात्रा भित्र्याउन फाइजर कम्पनीसँग सहमति गरिसकेको प्रधानमन्त्री मरिसनले बताएका छन् । उक्त मात्रा १ करोड जनतालाई दुई डोजको दरले लगाउन पर्याप्त हुनेछ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले फेब्रुअरी अन्त्यसम्ममा कम्तीमा ६० हजार डोज लगाइसकिने बताए । यसअघि अपेक्षा गरिएको भन्दा केही समयअघि नै आफूहरूले खोप कार्यक्रम सुरु गर्न सफल भएको उनको भनाइ छ ।

भाइरसविरुद्धको खोप लगाउनका लागि सरकारले करिब १ महिना पहिले नै विभिन्न ५ तहको कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसमा सुरुवाती चरणमा क्वारेन्टाइनको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी, अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलगायत कर्मचारी, वृद्धवृद्धाको हेरचाह गर्ने नर्सिङहोममा काम गर्ने कर्मचारी र वृद्धवृद्धा, असहाय तथा अपांग व्यक्तिको सहयोगमा काम गर्ने कर्मचारीलाई प्राथमिकताका आधारमा खोप लगाइनेछ । अस्ट्रेलियाले आगामी अक्टोबरसम्म आफ्ना सबै नागरिकलाई निःशुल्क रूपमा भाइरसविरुद्धको खोप लगाइसक्ने योजना बनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको खोपलाई पनि अस्ट्रेलियाले सार्वजनिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?