कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किसकेको छ’

एजेन्सी

वासिङ्टन — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले ‘अमेरिका विश्वको नेतृत्व लिन पहिलेको अवस्थामा फर्किइसकेको’ र महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकांक्षाजस्ता मुद्दा सुल्झाउने कार्यमा पूर्ण रूपमा संलग्न रहेको बताएका छन् ।

‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किसकेको छ’

ब्लिंकनको पछिल्लो अभिव्यक्तिलाई डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिलाई जो बाइडेन प्रशासनले व्यापक हेरफेर गर्ने संकेतका रूपमा हेरिएको छ । विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेताहरू भर्चुअल सत्रका लागि जुटिरहेका बेला उनको यो धारणा आएको छ ।

ब्लिंकनले विश्वव्यापी खोप कार्यक्रममा पनि जोड दिएका छन् । विश्वका १९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य लिएको कोभ्याक्स कार्यक्रमका लागि अमेरिकाले एक वर्षभित्र ४ अर्ब डलर सहयोग गर्ने जनाइएको छ । ‘जबसम्म विश्वभरका मानिसले खोप लगाउँदैनन्, वास्तवमा कोही पनि सुरक्षित हुँदैनन् । किनकि भाइरसको अस्तित्व रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन भइरहन्छ,×’ बीबीसीसँगको कुराकानीमा ब्लिंकनले भने, ‘जसका कारण यसले सधैंभर हमला गरिरहन्छ ।’

अमेरिकाले शनिबार साँझसम्म ५ करोड ९५ लाख मानिसमा कोरोना भाइरसविरुद्धको खोप दिइसकेको जनाइएको छ । तर कतिपय गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन । ब्लिंकनले कोरोना भाइरसको उत्पत्तिको विषयमा खोजी गर्न पारदर्शिता नदेखाएको भन्दै चीनको आलोचना गरेका छन् । चीन त्यसबारेका सूचना उपलब्ध गराउन असफल भएको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसन्धानकर्ताहरूको एक टोली भाइरसको उत्पत्तिबारे अध्ययन गत महिना चीनको वुहान पुगेको थियो ।

विदेशमन्त्री ब्लिंकनले महामारीहरू फैलिनुअघि नै पहिचान गर्नका लागि स्वास्थ्य सुरक्षा प्रणाली अझ बलियो बनाउनुपर्ने देखिएको बताएका छन् । ‘त्यसका लागि देशहरू पारदर्शी हुनुपर्छ । उनीहरूले सूचना उपलब्ध गराउनुपर्छ । उनीहरूले प्रकोपको सुरुमै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्छ । तर दुर्भाग्य, यस्ता कुरा हामी चीनबाट भएको देखेनौं,’ ब्लिंकनले भने ।

कुराकानीका क्रममा ब्लिंकनले इरान, अफगानिस्तान, यूएईलगायत देशका प्रसंगहरू पनि उक्काएका छन् । इरानका विषयमा बोल्दै उनले ‘अमेरिका र उसका युरोपेली साझेदारहरू पहिलेको अवस्थामा फर्केको’ जनाए । ट्रम्प प्रशासनले अलग हुने निर्णय गरेको पेरिस सम्झौतामा फर्किनेबारे अमेरिकाले विचार गरिरहेको उनको भनाइ छ । ‘बन्धक’ बनाइएकी यूएईकी राजकुमारी लतिफा अल मक्तुमको अवस्थाबारे सोधिएको प्रश्नमा उनले ‘त्यसलाई अमेरिकाले नजिकबाट नियालिरहेको’ बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?